
काठमाडौं । प्रतिष्ठित कवि तथा गीतकार एस्पी कोइरालाको शब्दमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘संसारकै नम्बर एक’ सार्वजनिक भएको छ। गीतमा प्रतिष्ठित संगीतकार शक्ति बल्लभले संगीत सिर्जना गरेका छन् भने राष्ट्रगायकका रूपमा परिचित गायक सुमित खड्काले स्वर दिएका छन्।
निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतलाई भोला पौडेलले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन्।
गीतको भिडियोमा भुवनेश्वर राजवंशी र विशाल प्रजापतिले छायांकन गरेका छन् भने शंकर खरेलले निर्देशन गरेका छन्। विश्वराम खड्काले सम्पादन गरेको भिडियोमा गीतकार एस्पी कोइराला र गायक सुमित खड्का स्वयं फिचरिङमा देखिएका छन्। साथमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, देविका बन्दना लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
‘संसारकै नम्बर एक’ मा नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र राष्ट्रिय गौरवलाई मुख्य विषय बनाइएको छ। गीतमा सारा संसार एकातिर र आफ्नो देश अर्कोतिर रहेको भाव प्रस्तुत गर्दै नेपाललाई संसारकै उत्कृष्ट तथा सुन्दर देशका रूपमा चित्रण गरिएको छ।
हिमाल, पहाड र तराईले बनेको नेपालको प्राकृतिक विविधतालाई गीतले विशेष रूपमा प्रस्तुत गरेको छ। छिमेकीले अर्काको घर नबनाइदिने भएकाले आफ्नै सुन्दर देशलाई आफैंले निर्माण र समृद्ध बनाउनुपर्ने सन्देशसमेत गीतमा व्यक्त गरिएको छ।
राष्ट्रिय भावना र देशप्रेमलाई केन्द्रमा राखिएको गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।