कस्तुप र प्रितीले ल्याए सकारात्मक भावको डान्सिङ गीत ‘मनमा पिर भएनी नाँचिन्छ’, रुचाइयो टिकटकमा

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०८३, मंगलवार ०१:०१

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित छन् – कस्तुप पन्त । आधुनिकदेखि लोकदोहोरीसम्म उनले सिर्जना गरेका गीतहरुले चर्चा कमाएका छन् । विशेषतः मर्मश्पर्शी गीत सिर्जनामा जमेका उनले यसपटक डान्सिङ बिटको रमाइलो गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतको बोल हो ‘मनमा पिर भएनी नाँचिन्छ’ ।

उक्त गीतमा नेपाली सङ्गीत आकाशकी चर्चित र ऊर्जावान् गायिका प्रिति आलेले स्वर र अभिनय रहेको छ। रमेश सेन्चुरीले म्यूजिक एरेन्ज गरेको गीतसुन्दा नै नाँचीहालौं भन्ने अडियो बनेको छ । मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन् ।

गीत सुन्दा जति जोशिलो छ, प्रिति आलेले गीतको भावअनुसारकै जीवन्त र लोभलाग्दो नृत्य प्रस्तुत गरेकी छन्।स्मृती तिमिल्सिना ‘गुरुआमा’को निर्देशन र कोरियोग्राफीमा रहेको भिडियोमा विकास आले मगर र भागिरथा गाहा मगरले एसिस्टेन्ट कोरियोग्राफीको भूमिका निर्वाह गरेका छन् । करण चैसिरले छायांकन गरेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।
वनका अनेकौँ सङ्घर्ष, समस्या र मानसिक तनावलाई भुलेर केही पल भए पनि मन खोलेर हाँस्नुपर्छ र नाच्नुपर्छ भन्ने सकारात्मक तथा ऊर्जावान् सन्देश गीतले बोकेको छ।

म्युजिक भिडियो सार्वजनिक भएसँगै यो गीतले छोटो समयमै स्रोताको ध्यान खिचेको छ। गीत सार्वजनिक भएसँगै यसको टिकटक र फेसबुक रिल्समा निकै रुचाइएको छ । सजिलो र ठेट शब्द भएकाले पनि यो गीत हरेक उमेर समूहका दर्शकको रोजाइमा परेको देखिन्छ।

पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष समेत रहेका संगीत उद्यमी कस्तुप पन्त र चर्चित गायिका प्रिति आलेको यो नयाँ साङ्गीतिक सहकार्यले आगामी दिनमा इन्टरनेटका प्लेटफमहरु र महोत्सवहरूमा निकै राम्रो चर्चा बटुल्ने निश्चित देखिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु