‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न, ९० दशकको संगीतमा रमाए दर्शक

म्यूजिक खबर
प्रकाशित: १५ आश्विन २०८३, बिहीबार २१:११

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ। धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा ९० दशकमा लोकप्रिय रहेका गीत तथा संगीत प्रस्तुत गर्दै कलाकारहरूले दर्शकलाई पुराना सांगीतिक सम्झनामा फर्काएका थिए। कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले सम्झनाहरुलाई अंगाल्दै ,‘बिर्सिएका यादहरू’,‘म सधैं लाई’, ‘‘घुम्दै आउनू धरान बजार’, ‘चिपुगुच्चा लगायतका चर्चित गीत प्रस्तुत गरे। उनका प्रस्तुतिमा दर्शकहरूले गीतसँगै गाएर तथा
नाचेर साथ दिएका थिए।

त्यस्तै जेलर्स ब्यान्डका मनोज मोते ले ‘टाढा’, ‘जाने’, ‘हाम्रो जीवन’, ‘भेडेटार’ लगायतका गीत प्रस्तुत गरे। रोहित मास्केले ‘दिउँला त्यो जवानी’, ‘मेरी मायालु’, ‘चिसो चिसो’, ‘मर्छु कि क्या हो’ जस्ता आफ्ना चर्चित गीतमार्फत दर्शकलाई झुमाए। कार्यक्रममा ओझेल ब्यान्डका दिलु राईले ‘माछी पर्यो’ , पुर्णिमाको जुनेली रात र उमेरले नौ डाँडा काटेछ’ लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए। कलाकारहरूले आफ्ना पुराना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरूले समेत गीतसँगै गाएर र नाचेर भरपूर मनोरञ्जन लिएका थिए। कार्यक्रममा ९० दशकको
संगीतसँग जोडिएको पुस्ताका दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमभर दर्शकहरूले कलाकारका प्रस्तुतिमा उत्साहपूर्वक साथ दिएका थिए।

कार्यक्रमकै अवसरमा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामालाई उनको लामो सांगीतिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो। सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, उपाध्यक्ष हेम सुब्बा, सचिव कृष्णराज श्रेष्ठ, वरिष्ठ संगीतकर्मी रोशन शर्मा तथा कार्यक्रमका कलाकारहरू मनोज मोते , रोहित मास्के र दिलु राईले संयुक्त रूपमा खादा तथा सम्मानपत्र प्रदान गर्दै लामालाई सम्मान गरेका थिए।त्यस्तै कार्यक्रमको अन्त्यमा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले आफ्ना पुराना सहकर्मी तथा जेलर्स ब्यान्डका गायक मनोज मोते लाई ट्रफी तथा नगदसहित सम्मान गरे। लामाले मोते को सांगीतिक योगदानको कदर गर्दै व्यक्तिगत रूपमा सम्मान गरेका हुन्।

सम्मानपछि सञ्जीव लामा र मनोज मोते ले संयुक्त रूपमा ‘मुसु मुसु हाँसी देऊ’ गीत प्रस्तुत गर्दै कार्यक्रमको समापन गरे। लामो समयपछि एउटै मञ्चमा देखिएका दुई पुराना सहकर्मी कलाकारले संयुक्त प्रस्तुति दिँदा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए। उनीहरूको प्रस्तुतिसँगै ९० दशकका चर्चित गीत–संगीतलाई केन्द्रमा राखेर आयोजना गरिएको ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको थियो।कार्यक्रमको सञ्चालन गोविन्द राजभण्डारीले गरेका थिए।

९० दशकका लोकप्रिय गीत, कलाकार र ब्यान्डलाई पुनः दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले पुरानो पुस्ताको सांगीतिक सम्झनालाई ताजा बनाउनुका साथै नयाँ पुस्तालाई समेत त्यसबेलाको संगीतसँग जोड्ने प्रयास गरेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु