
काठमाडौं । हालै ‘हरे कृष्ण’ सार्वजनिक गर्नुभएका १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको आध्यात्मिक तथा भक्तिमूलक भावनाले ओतप्रोत नयाँ भजन ‘श्री राम’ सार्वजनिक गरिएको छ । डा. उपाध्यायकै शब्द तथा स्वरमा तयार भएको भजन डिआर म्युजिक क्रियशनमार्फत सार्वजनिक गरिएको हो । भजनमा भक्ति, आध्यात्मिक चेतना र सामाजिक सन्देशलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
श्री राम’ भजनमा सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको छ । खेमनाथ खनालको निर्देशनमा तयार भएको भिडियोमा रामशरण उप्रेतीको छायांकन तथा सञ्जय अधिकारीको दृश्य सम्पादन र कलर रहेको छ । भिडियोमा डा. उपाध्यायसँगै सुनिता खनाल तथा पारिवारिक व्यक्तित्वहरूको अभिनय रहेको छ । डा. उपाध्यायको गत साता मात्र ‘श्रीकृष्ण’ भजन सार्वजनिक भएको थियो ।
गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय डा. उपाध्यायका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन् । गीत-संगीतसँगै पुस्तक लेखनमा समेत प्रयोग गर्दै आउनुभएका उपाध्यायका सिर्जनामा आकार, संरचना र विषयवस्तुका दृष्टिले समेत विविधता पाइन्छ । उपन्यास विधामा पनि उहाँको सक्रियता उल्लेखनीय छ ।
चाडपर्व, छोरीको बिदाइ, पर्यटन प्रवर्द्धन, योग तथा स्वस्थ जीवनशैली, महिला हिंसा तथा प्रताडना, मजदुर, किसान र भरियाका जीवनभोगाइ उहाँका सिर्जनाका विषय बनेका छन् । मनोरञ्जनसँगै सामाजिक चेतना र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफूले विभिन्न विषयमा सिर्जना गर्दै आएको उपाध्याय बतानुहुन्छ । यसै सिर्जनात्मक यात्राको पछिल्लो कडीका रूपमा ‘श्रीराम’ भजन सार्वजनिक गरिएको डा.उपाध्यायको भनाइ छ ।