लगातार तेस्रोपटक हिमालयन ट्याटु समिटको उपाधि जित्दै सुमिना श्रेष्ठ

म्यूजिक खबर
प्रकाशित: १९ आश्विन २०८३, सोमबार १४:५६

काठमाडौं । नेपाली ट्याटु कलाकार सुमिना श्रेष्ठले तेस्रो हिमालयन ट्याटु समिट ०.३ मा विजेता बन्दै लगातार तेस्रोपटक उपाधि जित्नुभएको छ। यसअघि समिटका दुई संस्करणमा समेत उपाधि जित्नुभएकी श्रेष्ठले यसपटक पनि उत्कृष्ट कला प्रस्तुत गर्दै आफ्नो वर्चस्व कायम गर्नुभएको हो।
तीन दिनसम्म सञ्चालन भएको हिमालयन ट्याटु समिट कला, संस्कृति र संगीतको संगमका रूपमा सम्पन्न भएको हो। नेपाल र भारतका एक सयभन्दा बढी ट्याटु कलाकार सहभागी समिटमा कलाकारहरूले परम्परागतदेखि आधुनिक शैलीसम्मका विविध डिजाइन प्रस्तुत गरेका थिए।

मानव शरीरलाई क्यानभासका रूपमा प्रयोग गरी कला प्रस्तुत गर्ने कलाकारका लागि समिट महत्वपूर्ण मञ्च बन्दै गएको आयोजकले जनाएको छ। विभिन्न शैली, प्रविधि र सिर्जनशीलताको प्रस्तुतिले समिटलाई थप आकर्षक बनाएको थियो। आयोजकले समिटलाई ट्याटु पारखीहरूको ‘महाकुम्भ’का रूपमा व्याख्या गरेको छ।

समिटमा ट्याटु बनाउन चाहनेहरूले आफूले रोजेको कलाकारसँग प्रत्यक्ष भेट गरी आफूलाई मनपर्ने डिजाइन बनाउन पाउने अवसरसमेत पाएका थिए। नेपाल र भारतका चर्चित तथा अनुभवी कलाकार एकै ठाउँमा भेला भएकाले नयाँ प्रविधि, शैली र सिर्जनात्मक अभ्यासबारे अनुभव आदानप्रदान गर्ने अवसरसमेत जुटेको थियो।
लगातार तीनपटक उपाधि जित्नुभएकी श्रेष्ठ नेपालमा महिला ट्याटु कलाकारका रूपमा स्थापित नाम हुनुहुन्छ। काठमाडौंको ठमेल र सोह्रखुट्टेमा आफ्नै ट्याटु स्टुडियो सञ्चालन गर्दै आउनुभएकी उहाँले कलाप्रतिको रुचिलाई व्यवसायमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय ग्राहकमाझ समेत आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु