मेयर महर्जनले गरे आर. एन. जोशी आधुनिक कला संग्रहालयको उद्घाटन

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०८३, बुधबार १६:२२

ललितपुर । नेपाली आधुनिक कलाका अग्रणी कलाकार आर. एन. जोशी (रामानन्द जोशी) को कला, जीवन र योगदानलाई संरक्षण तथा सार्वजनिक गर्ने उद्देश्यले स्थापित आर. एन. जोशी आधुनिक कला संग्रहालयको ललितपुरको पुल्चोकमा औपचारिक उद्घाटन गरिएको छ । आइतबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्दै आर. एन. जोशीको कला तथा सांस्कृतिक सम्पदा संरक्षणको प्रयासको प्रशंसा गरे । उनले महानगरपालिकाले जोशीको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्ने सम्भावनाबारे धारणा राख्दै महानगरपालिकाको संग्रहालयमा आर. एन. जोशीसम्बन्धी कक्ष स्थापना गर्ने प्रयास गरिने बताए ।

अग्रज कलाकार तथा कला इतिहासकार मदन चित्रकारले आर. एन. जोशीलाई नेपाली आधुनिक कलाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका कलाकारका रूपमा स्मरण गर्दै उनको कलात्मक सक्रियता, कला शिक्षा र कला क्षेत्रप्रतिको प्रतिबद्धताको चर्चा गरे । उनले जोशीले आधुनिक नेपाली कलालाई स्पष्ट दिशा दिने काममा विशिष्ट भूमिका निर्वाह गरेको जिकिर गरे ।

संग्रहालयको पहिलो प्रदर्शनीका रूपमा ‘इम्ब्रिकेटेड: आर. एन. जोशी एन्ड द मेकिब अफ नेपाली मोडर्न आर्ट’ आयोजना गरिएको छ । क्युरेटर प्रणव मान सिंहका अनुसार प्रदर्शनीले आर. एन. जोशीका कलाकृतिलाई उनको शिक्षा, पारिवारिक पृष्ठभूमि, कलासम्बन्धी संस्थागत संलग्नता, कला बजार तथा नेपालका परम्परागत ज्ञान प्रणालीसँगको सम्बन्धमा राखेर नेपाली आधुनिक कलाको विकासक्रमलाई प्रस्तुत गरिएको छ ।

सिंहले कलाकारलाई एक्लो प्रतिभाका रूपमा मात्र हेर्ने धारणाभन्दा बाहिर गएर कलाकार र कला संसारबीचको अन्तरसम्बन्धलाई प्रदर्शनीले देखाउन खोजेको विचार व्यक्त गरे । उनले भने, ‘आर. एन. जोशी कलाकारका रूपमा मात्र नभई ग्यालरी सञ्चालन, कला संस्थाको विकास तथा नेपालमा दृश्य कलाको प्रवद्र्धनका लागि नीतिगत संरचना निर्माणको पहलमा समेत सक्रिय थिए ।’ आर. एन. जोशी कला ट्रस्टका अध्यक्ष तथा कलाकारका सुपुत्र नवीन जोशीले संग्रहालय स्थापना लामो समयदेखिको कला संरक्षणको प्रयासको परिणाम भएको बताए । उनले आर. एन. जोशीको कला संरक्षणमा परिवारसँगै कलालेखक, समीक्षक, कलाकार, अध्येता, अनुसन्धानकर्ता, क्युरेटर र कलाप्रेमीहरूको योगदान रहेको उल्लेख गरे । सो कार्यक्रममा कलाकार, कला इतिहासकार, क्युरेटर, कला अध्येता, जोशी परिवारका सदस्य, सञ्चारकर्मी तथा कला क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।

सन् १९३८ मा जन्मिएका आर. एन. जोशीको सन् १९८८ मा निधन भएको थियो । उनी कलाकार, शिक्षक तथा कला अभियन्ताका रूपमा नेपाली आधुनिक कला र कला शिक्षाको विकासमा सक्रिय थिए । उनको घर तथा स्टुडियोलाई आर. एन. जोशी कला ट्रस्टको पहलमा आधुनिक कला संग्रहालयमा रूपान्तरण गरिएको हो ।

सब्ग्रहालयले कला शिक्षा, अनुसन्धान र अभिलेखीकरणलाई समेत आफ्नो कार्यक्षेत्रका रूपमा अघि बढाउने जनाएको छ । सब्ग्रहालय र म्युजियम अफ नेपाली आर्ट तथा तारागाउँ म्युजियमबीच सहकार्य तथा काठमाडौं विश्वविद्यालयको कला तथा डिजाइन विभागसँग शिक्षा, अनुसन्धान र अभिलेखसम्बन्धी सहकार्य अघि बढाउने विषय कार्यक्रममा प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहपछि अतिथिहरूले ‘इम्ब्रिकेटेड: आर. एन. जोशी एन्ड द मेकिब अफ नेपाली मोडर्न आर्ट’ प्रदर्शनी तथा संग्रहालय परिसरको अवलोकन गरेका थिए । संग्रहालय सो दिन साँझ ६ः३० बजेसम्म अतिथिका लागि खुला गरिएको थियो । आर. एन. जोशी आधुनिक कला संग्रहालयले नेपाली आधुनिक कलाको इतिहास, कलाकृति र अभिलेख संरक्षणसँगै कला शिक्षा तथा अनुसन्धानका लागि सार्वजनिक थलोका रूपमा काम गर्ने लक्ष्य राखेको छ ।

यस्तै, आर. एन. जोशी आधुनिक कला सब्ग्रहालय दिवब्गत कलाकारका प्रत्यक्ष हकवालाले कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना गरेको गैरनाफामूलक संस्था रामानन्द जोशी आर्ट ट्रस्टअन्तर्गत स्थापना गरिएको हो । जोशीको कलात्मक विरासतलाई दीर्घकालीन रूपमा संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै नेपालको सांस्कृतिक सम्पदाको अध्ययन र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले ट्रस्ट स्थापना गरिएको हो । ट्रस्टका प्रमुख चार कार्यक्षेत्र रहेको अध्यक्ष नवीन जोशीले बताए । उनका अनुसार स्थायी सार्वजनिक सब्ग्रहालय सञ्चालन, अभिलेख तथा अनुसन्धान स्रोतको विकास, शैक्षिक तथा सामुदायिक कार्यक्रम सञ्चालन तथा पुरस्कार, छात्रवृत्ति र अनुदानमार्फत कलासम्बन्धी अनुसन्धान र सम्पदा संरक्षणका पहललाई सहयोग गर्ने । अध्यक्ष नवीनले ट्रस्टलाई जोशीका हकवालाका साथै कला संरक्षक तथा विभिन्न संस्थाको आर्थिक सहयोग प्राप्त हुँदै आएको जानकारी दिए । उनले भने, ‘यसको संस्थागत दृष्टिकोण पारदर्शिता, सार्वजनिक पहुँच तथा कलात्मक र सांस्कृतिक सम्पदाले व्यापक सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पु¥याउन सक्छ भन्ने मान्यतामा आधारित छ ।’ ट्रस्टको सञ्चालक समितिमा निर्मला जोशी, अध्यक्ष नवीन जोशी, पुजेश जोशी, नीरा जोशी र नीति जोशी रहेका छन् ।

ट्रस्टको मानार्थ सल्लाहकारमा अग्रज कलाकार तथा मूर्तिकार ठाकुरप्रसाद मैनाली, कला इतिहासकार मदन चित्रकार, कलालेखक तथा समीक्षक मुकेश मल्ल, चार्टर्ड एकाउन्टेन्ट रवि राजभण्डारी र कला शिक्षाविद् सुजन चित्रकार रहेका छन् । नेतृत्व तथा सल्लाहकारको यस संरचनाले कला, कला इतिहास, शिक्षा, वित्त तथा सांस्कृतिक अभ्यासका विभिन्न क्षेत्रको विशेषज्ञतालाई संग्रहालयको संस्थागत विकाससँग जोडेको छ ।

यसैगरी, आर. एन. जोशी आधुनिक कला सब्ग्रहालय नेपालको आधुनिक कलाको इतिहास संरक्षण, अनुसन्धान तथा प्रस्तुतिमा समर्पित संस्था हो । क्युरेटर प्रणव मान सिंहका अनुसार ललितपुरको पुल्चोकमा कलाकार रामानन्द जोशीको पूर्वनिवास तथा स्टुडियोमा स्थापित संग्रहालयले कलाकृति, अभिलेख तथा ऐतिहासिक सामग्रीलाई एकै ठाउँमा प्रस्तुत गर्दै सन् १९५० को दशकदेखि नेपालको आधुनिक कलात्मक परिदृश्य निर्माणमा योगदान पु¥याउने व्यक्ति, संस्था तथा विचारको अध्ययन गर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु