निर्मला राई ‘परिवेश’ एक सशक्त गीतकार हुनुहुन्छ । २०३५ सालमा सुङ्देल–७ दार्लु खोटाङमा जन्मिएर काठमाडौंलाई शैक्षिक भूमि र प्रवासलाई कर्मभूमि बनाइरहनुभएकी गीतकार हुनुहुन्छ परिवेश । सानैदेखि घर छाडेर काठमाडौंमा अध्ययन गर्न थाल्नुभएकी परिवेशले काठमाडौंको शिवपुरी माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको हो भने प्रविणता प्रमाण पत्र तहसम्मको अध्ययन पूरा गर्नुभएको हो । सानैदेखि पारिवारिक ममताबाट टाढा रहेपछि वियोगान्त परिवेशमा हुर्किनुभएकी परिवेशले २०४७ सालदेखि आफूलाई गीत, कविता, मुक्तक जस्ता साहित्यका विधामा सक्रिय गराउँदै आउनुभएको छ । हाल ब्रिटिस गोर्खा आर्मीको परिवारमा युकेमा भूमिमा रहेर साहित्य सिर्जना गर्दै गर्नुभएकी गीतकार एवं साहित्यकार निर्मला राई परिवेशसँग म्यूजिक खबरका लागि गरिएको कुराकानीः
साहित्यमा कसरी होमिनुभयो ?
मेरो बचपन जुनबेला मैले आमा बाबुको माया ममता पाउने उमेर थियो त्यसबेला म माया ममताबाट टाढा रहन पुगेकी थिएँ । बाबाआमाबाट टाढा रहेर काठमाडौंमा अध्ययन गर्दागर्दै आफूलाई वियोगमा परेको अनुभूमि हुन थाल्यो र अध्ययनकै क्रममा मैले साहित्य विधालाई रोजेँ र मनभित्र गुम्सिएका भावनाहरुलाई गीत, कविता, मुक्तकबाट बाहिर ल्याउन थालेँ । वास्तवमै मायाको दूरीले मान्छेलाई वियोगमा पु¥याउँदो रहेछ भन्ने अनुभव त्योबेलादेखि नै गरेको हुँ ।
तपाईंका प्राय गीतहरु पनि वियोगभित्रै छन् नि ?
म मात्रै होइन धेरै साहित्यका पारखीहरु वियोगभित्रै आफूलाई हराइरहेका हुन्छन् । तर मेरा सिर्जनामा पनि वियोगका गन्धहरु धेरै नै पाइन्छ । सिर्जनशील मान्छे जब वियोगका गहिराइमा पुग्छ उ तिखारिन्छ र अझ सशक्त अनुभूतिहरुलाई सिर्जनामा ढाल्छ भन्ने अनुभव मैले गरेको छु । यदि मान्छे सुखसयलमा भयो भने उसको सिर्जना सबल बन्नेतर्फ लाग्दैन भन्ने हाम्रा धेरै साहित्यकर्मीका उदाहरणबाट पनि प्रष्ट हुन्छ । हो मेरा गीतहरु पनि वियोगभित्रै रमाइरहेका छन् । तर वियोगभन्दा बाहिर पनि मैले प्रेरणादायी, रोमान्टिक, साथीसंगी र समाजभित्रको कथा बोकेका छन् । देशको सुगन्धमा, स्वाभिमानमा पनि मेरा शब्दहरु नदौडेका भने होइनन् । किनभने प्रवासमा सबैभन्दा धेरै देशको मायाले छटपटाउँछ ।
वास्तवमै धेरै नेपालीहरु विदेश गएपछि साहित्यकार बन्ने गर्छन्, यो तपाईंमा पनि लागू हुन्छ ?
जहाँ पीडा हुन्छ त्यहाँ सिर्जना उम्रिन्छ भन्ने मान्यतामा म पनि छु । विदेश गएपछि स्वदेशको माटोको माया बढ्छ, घर परिवारसँगको दूरी टाढा हुँदै जान्छ, जीवनसंगीका यथार्थ चित्रण अनि छोराछोरीका मायाले गर्दा हरेक पल विदेश गएको मान्छे तड्पिरहेको हुन्छ भने विदेशमा गर्ने दुःखपूर्ण कामले उसलाई अझ पीडा थपेको हुन्छ । यस्तो बेलामा उसको मनका भावना पोख्ने ठाउँ हुँदैन र कापीका पानामै भए पनि उसले भावनालाई कोर्ने गर्छ । त्यसको मूर्त रुप नै ऊ साहित्यकार बन्ने अवसर मिलेको हो । विदेशमा रहेका बेला आउने चाडवाड, देशको समाचार, ऋतु फेरिएको समयका अनुभूतिभित्र मातृभूमिको याद बढ्दै जान्छ त्यसबेला सिर्जनाको मूल अझ गहिराइमा पुग्छ ।
अहिलेसम्म कतिवटा कृतिहरु प्रकाशनमा ल्याउनुभयो ?
मेरा गीत, कविता र अडियो एल्बमहरु बजारमा आएका छन् । परिवेश कविता÷गीत संग्रह २०६३, रोशनी अडियो एल्बम २०६९, परिवेशका पाइलाहरु गीत, कविता र मुक्तकसंग्रह २०७१ र रोनाशा अडियो एल्बम बजारमा आइसकेका छन् ।
सिर्जना केका लागि गर्नुहुन्छ ?
मेरो जन्म र मृत्यु निश्चित छ तर सिर्जना सधैं बाँचिरहन्छ, त्यसकारण म गीत, कविता सिर्जना गर्छु ।
सिर्जना गर्ने समय कसरी मिलाउनुहुन्छ ?
म ब्रिटिस गोर्खा आर्मीको परिवार त्यसमा पनि दैनिक काममा जान्छु । समय यति नै बेला भन्ने छैन कुन बेला मिल्छ आफैंलाई थाहा हुँदैन । काम गरिरहेको बेला होस् वा बाटोमा हिंडिरहेको बेला जुनकुनै बेला पनि सिर्जना गर्ने गर्छु । कहिलेकाहिँ त गाडी रोकर लेख्न थाल्छु ।
कस्ता साहित्य मन पर्छ ?
जीवनी, आत्मकथा जस्ता साहित्य मन पर्छ भने गीतसंगीतको विधा पनि उत्तिकै मन पर्छ । खोज, सोचले मेरो मन छोएको छ ।
आफूलाई कस्तो व्यक्ति हुँ जस्तो लाग्छ ?
म एउटा भाग्यमानी केटी हुँ । खोटाङको सुङ्देलजस्तो पहाडमा जन्मिएर विश्वको सेरोफेरो घुम्दै विकसित देशमा बसोबास गर्ने अवसर पाएँ । रिमोट एरियादेखि डेभलप कन्ट्रीसम्मको मेरो यात्रा र साहित्यि क्षेत्रमा भएको मेरो रुचीले मलाई सबैभन्दा खुशी दिएको छ ।