सुप्रसिद्ध गायक योगेश वैद्यको महाप्रस्थान, संगीतकर्मीहरुद्वारा सांगीतिक श्रद्धाञ्जली अर्पण

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०८०, शुक्रबार

काठमाडौं । ‘सपना भुलाई सारा आँसु पिएर जाऊ’, ‘चोट दिलमै रातदिन’, ‘आँखैमा रात’, ‘नेपाल मेरो तिमीलाई’ लगायत थुप्रै लोकप्रिय गीत गाएका सुप्रसिद्ध गायक योगेश वैद्यको निधन भएको छ ।
विसं २००३ मा नरदेवीमा जन्मिएका वैद्यको ७७ वर्षको उमेरमा निधन भएको हो। गायक वैद्यको केही समयअघि मिर्गौला समेत प्रत्यारोपण गरिएको थियो भने उनी केही समयदेखि पक्षाघात सम्बन्धी समस्या समेत झेलिरहेका थिए।

गएराति स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लाने क्रममा राति करीब साढे १२ बजे उनको निधन भएको हो।

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बिहान केही समय नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिनका लागि नेपाली सांगीतिक क्षेत्रका अग्रजदेखि अनुज व्यक्तित्वहरु प्रतिष्ठानमा उपस्थित भएका थिए । उपस्थिती संगीतकर्मीहरुले उनकै स्वरले सजिएको ‘सपना भुलाई सारा आँशु पिएर जाउ’ बोलको गीत मार्फत गायक वैद्यप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
थुप्रै संगीतकर्मीले सामाजिक सञ्जाल मार्फत पनि श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

अन्त्येष्टिका लागि अहिले गायक वैद्यको शवलाई पशुपति आर्यघाटमा लगिएको छ ।

नेपाली सहित नेपालभाषामा पनि उनले गीत गाएका छन्।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार प्राप्त गरेका स्व. गायक वैद्य सेवानिवृत्त सरकारी कर्मचारी पनि हुन्।

स्व. गायक वैद्यका श्रीमती, दुई छोरी र एक छोरा छन्।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु