आफ्नै स्टुडियो बनाएर सुरु भयो आलाप दोहोरी प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७७, आईतवार

काठमाडौं । ‘उच्च शिक्षाका लागी आलाप दोहोरी घर’ भन्ने मुल नाराका साथ आलाप दोहोरी प्रतियोगिता २०७७÷०७८ को सुरुवात भएको छ । बालाजु औद्योगिक क्षेत्रस्थित चलचित्र विकास कम्पनीसँगै आफ्नै स्टुडियो निर्माण गरेर दोहोरी प्रतियोगिताको सुरुवात भएको हो ।
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क.को प्रमुख आतिथ्यतामा दोहोरीघरको उद्घाटन गर्दै आलाप दोहोरी प्रतियोगिता सुरु भएको हो ।


गायक तथा संगीतकार झलक संगीतमको अध्यक्षतामा भएको आलाप दोहोरी प्रतियोगिता उद्घाटन कार्यक्रमलाई निर्णायकका तर्फबाट गायक राजु परियारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य चक्र रसाइली, रमाइलो टीभीका निर्देशक गीतकार दयाराम पाण्डे, गायिका शर्मिला गुरुङ, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव सुवास केसी लगायत चर्चित गायक गायिकाहरुको उपस्थिति रहेको थियो ।


आलाप दोहोरी प्रतियोगिता २०७७÷०७८ मा बिल्कुलै नयाँ भाका अनी फरक शैलीमा प्रस्तुत हुनेछ । विल्कुलै नयाँ भाकामा प्रतियोगीले दोहोरी गाउनुपर्नेछ । बिजेतालाई रु.२ लाख पुरस्कारका साथै चार वटा गीतको अडियो भिडियोको लगानी आयोजकले गरिदिनेछ । त्यस्तै दोस्रो पुरस्कार राशि १ लाख नगद पुरस्कारसहित ३ वटा गीतको अडियो भिडियो निर्माण गरिनेछ । तेस्रो पुरस्कार ५० हजार नगदसहित २ वटा गीतको अडियो भिडियो निर्माण गरिदिने र सान्त्वना पुरस्कारमा नगद राशि २५ हजारसहित १ गीतको अडियो भिडियो निर्माण गरिने प्रतियोगिताका निर्देशक झलक संगीतमले जानकारी दिए ।

सोही कार्यक्रमकी प्रमुख अतिथी माननिय कमला बिकले गीत संगीतको विकासको लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै अन्य सामग्री उत्पादन गर्नेलाई उद्योगको मान्यता दिन हुने गीतसंगीत उत्पादन गर्नेलाई सरकारले किन उद्योगका रुपमा विकास गर्न सकेन ? भन्दै आफू यो विषयमा गम्भीर भएको बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री विकले संगीत विकास बोर्डका लागि आफूले नेपाल सरकारसँग सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।


नेपाली मौलिक गीत संगीतको जर्गेना गर्नुका साथै नयाँ कलाकारहरुको उत्पादन गर्ने उदेश्यका साथ आयोजना भएको सो प्रतियोगिता चैत १४ गतेबाट सुरु भई मंसिरसम्म संचालनमा रहनेछ । गायक, संगीतकार झलक संगीतमको अध्यक्षता एवं निर्देशनमा सुरु भएको दोहोरी प्रतियोगितामा लोकप्रिय गायक राजु परियार, पशुपति शर्मा, विष्णु खत्री, रामजी खाँड, खुमन अधिकारी, नवराज घोरासैनी, रेशम थापा, लोकप्रिय गायिकाहरु मञ्जु पौडेल, इन्दिरा गुरुङ, देवी घर्ती, राधिका हमाल, टीका पुन जस्ता निर्णायकहरु रहेका छन् । कार्यक्रम सगरमाथा, कञ्चनजंघा, अन्नपूर्ण र धौलागिरी पोलमा संचालन हुनेछ । कार्यक्रमलाई रमाइलो टीभीले प्रत्यक्ष प्रसारण गर्नेछ ।

आलाप दोहोरी प्रतियोगिताको समुद्घाटन कार्यक्रमको मिडिया संयोजकको भुमिका प्रकाश बराईली ‘अभिब्यक्ति’ ले निर्वाह गरेका थिए ।
यस प्रतियोगिता अवधीभर रेशम सापकोटा, पुर्णकला बिसी, कुल बहादुर ओली, टिका सानु, सुबास केसी र ममता खड्काले उद्घोषणको जिम्मेवारी सम्हाल्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु