• गीतकार अमर वान्तुको एकल संगीतमा रहेका पाँच गीतको श्रव्यदृश्य सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार
    Amar Bantu Bhawana Rai

    काठमाडौं । कवि तथा गीतकार अमर वान्तुको एक संगीतमा रहेको पाँच गीतको श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको छ । कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभीजमा कार्यक्रमको आयोजना गर्दै गीतकार वान्तुले पाँचवटा गीतहरुलाई सार्वजनिक गरेका हुन् । मिलाप मासिकको आयोजनामा प्रतिष्ठित गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा उक्त पाँचवटा गीतको श्रव्यदृश्य सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र‘तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो ।

    ‘हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हल्का हल्कमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठले स्वर दिनुभएको थियो । त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत अमर बान्तुको छ भने स्वर सारिका घिमिरे र बिसी राईको छ । यस्तै, ‘सम्बन्ध’मा एसी कोइराला शब्द, संगीत अमर बान्तुको छ भने स्वर प्रताप दासको छ । त्यस्तै ‘तिम्रै प्रवाह’मा अमर बान्तुको शब्द र संगीत रहेको छ भने स्वरमा अमर वान्तु र सुनिता थेगिमको स्वर रहेको छ । यस गीतको भिडियोमा अमर बान्तुलाई र उनकी जीवनसंगीनी भावना राईले अभियनमा गरेका छन् । पाँचवटा गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् भने दिनेश पराजुलीले छायाँकन गरेका छन् ।

    मिलाप मासिकका प्रधानसम्पादक कृष्ण भुसालको सभापतित्वमा भएको उक्त विमोचन कार्यक्रममा पूर्वमन्त्री एवं गीतकार एसपी कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

    पूर्वमन्त्री एवं गीतकार कोइरालाले स्वागत मन्तव्य राख्दै गीतकार अमर वान्तु संगीतकारको रुपमा पनि उभिनुभएकोमा उहाँभित्र बिलक्षण प्रतिभा रहेको उल्लेख गरे । हामी भोजपुरे हौ, लामो समयदेखि एकअर्कालाई चिन्छौ, बान्तुमा कवि व्यक्तित्व जति शसक्त छ गीत लेखन र संगीतमा पनि अब्बल भएको गीतकार कोइरालाले बताए ।
    त्यस्तै भीम विराग प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले गीतसंगीत साहित्यले मानिसलाई जोड्ने गर्छ भन्दै अमर बान्तुको बारेमा लेखेको कविता वाचन गरेका थिए । त्यस्तै गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले बान्तुले गीतकारको अक्षय कोष स्थापना गरेर ठूलो कार्य गरेको सम्झना गर्दै उहाँको व्यक्तित्वको चर्चा गरेका थिए । निर्देशक एवं नायिका दीपाश्री निरौलाले बान्तुको एउटा गीतमा आफूले पनि अभिनय गरेको सम्झना गर्दै उहाँ सर्वप्रिय व्यक्तित्व भएको चर्चा गर्दै गीतकार एवं कविका रूपमा चिनिनुभएका बान्तु संगीतकारका रूपमा रहेको र अभिनय पनि उत्तिकै सशक्त रहेको बताइन् ।

    त्यसैगरी साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बान्तुको लेखनमात्र नभएर कविता वाचनकला पनि सशक्त रहेको बताउँदै उहाँ गीत कविता लेखनमा जति सशक्त हुनुहुन्छ, वाचन शैलीसँगै गीतिलेखन, संगीत सिर्जना र अभिनयमा पनि सशक्त रहेको बताए ।

    वरिष्ठ गीतकार गीतकार राजेन्द्र थापाले धेरै पत्रै पत्रमा बान्तुको खुबी रहेको बताउँदै उहाँलाई ‘सयपत्री’ उपनाम दिए । गीतकार संघमा उहाँको सहयोगको चर्चा गर्दै वरिष्ठ गीतकार थापाले बान्तुले समाजका विविध क्षेत्रका पाटालाई साहित्यमार्फत प्रस्तुत गरेको धारणा राखे ।

    गीतकार तथा संगीतकार अमर बान्तुले आफ्ना केही भावी योजना सुनाउँदै सबैको साथ, सहयोग र आर्शिवादका लागि धन्यवाद दिएका थिए । ‘एकल अकेस्टिक कविता वाचन, एकल अकेस्टिक सांगीतिक साँझ र अटो वायोग्राफी प्रकाशन गर्ने भावी कार्यक्रम रहेको बताए ।
    मिलापका सम्पादक कृष्ण भुसालले बान्तुका विविध पक्षको चर्चा गर्दै उहाँका कार्य सामाजका लागि उदाहरणीय भएको बताए । गीतकार बान्तुका गीतमा जीवनको वास्तविकता, समवेदना र दर्शन पाइने सम्पादक भुसालको भनाइ थियो ।
    कार्यक्रममा गीतसंगीत, चलचित्र, साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरु एवं गीतकार अमर वान्तुका परिवार एवं आफन्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचारकर्मी एवं गीतकार नरेश भट्टराईले संचालन गरेका थिए ।
    – सुरेन्द्र थापा ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु