अनिलालाई ‘टलटल टल्किने’ बाट मिल्यो करोडको खुसी

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७८, शनिबार
Alina

काठमाडौं । ‘कस्तो खुसी लागिरहेको छ’ आफूले गाएको गीत करोड क्लवमा प्रवेशपछि गायिका अनिला राईको यो पहिलो प्रतिक्रिया हो । नेपाली फिल्म ‘बिरविक्रम’को ‘टलटल टल्किने’ गीतलाई यु–ट्युबमा एक करोडभन्दा बढी भ्युअर्स पाएको छ । जसमा अनिला राईसँगै गायक राजेशपायल राईको स्वर रहेको छ । पछिल्लो समय शोसल मिडिया ‘टिकटक’ र विभिन्न कार्यक्रम तथा सेमिनारहरुमा समेत चर्चित भइरहेको उक्त गीतले करोडभन्दा बढी भ्युअर्स पाएपछि राजेशपायलले सेलिब्रेसन नै गरेका छन् ।
यस्तै, गायिका अनिलाले पनि के काटेर सेलिब्रेसन गर्दैछिन् । आफ्नो नयाँ एल्बमको तयारी गरिरहेकै बेला आफूले गाएको गीतलाई करोडभन्दा बढीले हेरेपछि दंग हुँदै अनिलाले भनिन्, ‘एल्बमको तयारी गरिरहेकै बेला ‘टलटल टल्किने’ गीतले करोडभन्दा बढी भ्युअर्स पाएको छ । दर्शक तथा श्रोताको यो मायाले खुसी लागेको छ ।’
प्रचारको कुनै प्रक्रियाविनै एउटा नेपाली गीतले एक करोडभन्दा बढी भ्युअर्स पाउनु आफैँमा खुसी कुरा पनि हो । यस गीतलाई खाशै प्रमोसन गरिएको थिए । गीतको मौलिकता र स्वरकै कारण दर्शक तथा श्रोताले रुचाएका छन् । यस गीतको भिडियोलाई यो समाचार तयार पारिरहँदा एक करोड १२ लाख चार हजार भन्दा बढीले हेरिसकेका छन् ।

करिब डेढ दशकदेखि बेलायतमा बस्दै आएकी गायिका अनिलाले त्यहाँ ससेर पनि नेपाली गीतसंगीतलाई निरन्तर अँगाल्दै आएकी छन् । उनले अहिलेसम्म सयौँ गीतमा स्वर दिइसकेकी छन् ।
लोकदेखि आधुनिक र चलचित्र गीतसम्म गाउँदै आएकी अनिलाका गीतहरु दर्शक तथा श्रोताले पनि रुचाएका छन् । यसैक्रममा ‘टलटल टल्किने’ गीत करोड क्लवमा प्रवेश गरेको हो । यस खुसीयालीमा गायिका अनिलाले भनिन्, ‘ढिलै भएपनि दर्शक तथा श्रोताको माया पाएकी छु । यसले मलाई अझै धेरै हौसला र प्रोत्साहन मिलेको छ ।’
पछिल्लो समय ‘स्वरांकन’ नामक एल्बम निकालेर चर्चा आएकी अनिलाले केही महिनापछि नयाँ एल्बम ल्याउन लागेको बताइन् । बेलायतको व्यस्त जीवनका बावजुद पनि अनिला एल्बम गर्ने बेलामा नेपाल आउने गरेकी छन् । ‘स्वरांकन’ उनले नेपालमै आएर गरेकी हुन् ।
यसपटक एल्बम ल्याउने मनशाय नभएपनि आफ्नै शब्दरचना भएकाले गर्न लागेको बताइन् । उनले भनिन्, ‘मलाई एल्बम नै गर्ने मन त थिएन, तर आफ्नै शब्द भएकाले एल्बम नै गर्न लागेकी हुँ ।’ अनिलाका ‘बादलसँगै’, ‘ए साँइला’, ‘मेरो नजर’, ‘तिमी बाहेक’, ‘आँखाभरी’जस्ता दर्जनौँ गीत चर्चित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु