
लोकप्रिय गायिका अन्जुले किन भनिन् ‘धन्यवाद शत्रु’ ?
काठमाडौं । मित्रुलाई वा शुभचिन्तकलाई धन्यवाद जो कोहिले दिइन्छ यो प्रचलचन नै हो । तर यतिबेला लोकप्रिय गायिका अन्जु पन्तले भने शत्रुलाई धन्यवाद नै धन्यवाद दिएकी छिन् । उनले वास्तविकतामा शत्रु प्रति कस्तो व्यवहार वा भाव राख्छिन् त्यो उनै जानुन् । तर गीतमा भने शत्रुको प्रशंसा सहित धन्यवाद दिएकी छिन् । प्रसंग हो भर्खरै सार्वजनिक भएको गीत ‘धन्यवाद शत्रु’ को ।
गीतलाई अन्जुले आफ्नै युट्युब च्यानल ‘अन्जु पन्त अफिसियल’ बाट सार्वजनिक गरेकी हुन् । अन्जुकै शब्द रहेको उक्त गीतमा बीबी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ ।
गीतमार्फत उनले आफ्ना शत्रुहरूलाई धन्यवाद दिएकी छन् । ‘यो गीतका शब्दहरूले आफूलाई कमजोर बनाउन खोज्ने व्यक्ति वा परिस्थितिले नै अन्ततः आफूलाई अझ बलियो र सफल बनाएको अनुभूति व्यक्त गर्छन्। गीतमा शत्रु र आलोचकप्रति गुनासो भन्दा पनि धन्यवादको भाव व्यक्त गरिएको छ।
आफ्ना विरोधीका कारण आफूले संघर्ष गर्न, अघि बढ्न र राम्रो बन्न प्रेरणा पाएको भाव गीतमा सुन्न सकिन्छ।
गीतको भिडियो स्टुडियोकै सेटिङमा खिचिएको छ । अर्जुन लोहार र सुनिता रसाइलीले खिचेको भिडियोलाई ताराकान्त विक र अर्जुन लोहारले सम्पादन गरेका छन् । गीत प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।