
काठमाडौं । विभिन्न संस्करणमा भाइरल भइसकेको ‘पहिलो हाँसो’ गीतमा चर्चित गायिका अञ्जु पन्तका आमा–छोरीदेखि चर्चित कलाकार जीबी चिरन (चिरञ्जीवी सापकोटा)सम्मले सहकार्य गर्दै नयाँ संस्करण बजारमा ल्याएका छन्।
अञ्जु पन्तले स्वर भरेको गीतमा उनकी छोरी परितोषिका पन्त र जीबी चिरन फिचरिङ भएका छन्।
करिब ४ महिना अघि यो गीत एआईबाट सिर्जना गरिएको थियो भने त्यसलगत्तै यसका विभिन्न कभर संस्करण सार्वजनिक भएका थिए। गीतमा भवन लिम्बु शब्द रहेको छ भने विश्वास नेपाल र भवन लिम्बुले नै संगीत भरेका हुन्। यस गीतको मेल भर्सनमा सुरेश लामाले स्वर दिएका थिए।
अहिले चर्चित गायिका अञ्जु पन्तको स्वरमा अफिसियल भर्सन सार्वजनिक गरिएको हो।
त्रिकोणात्मक प्रेमकथामा आधारित म्युजिक भिडियोमा चर्चित गायक तथा संगीतकार चेतन सापकोटाले समेत अभिनय गरेका छन्। यो गीतको मेल भर्सन समेत अफिसियल रूपमा सार्वजनिक गरिने भएको छ।
म्युजिक भिडियोका निर्देशक सृजन बरालले मेल भर्सनको भिडियो समेत तयार भइसकेको र केही दिनमै सार्वजनिक गरिने जानकारी दिएका छन्।