• कसरी बिशेष बनाउँदैछन् कलाकारले यसपटकको दशैं ?

    म्यूजिक खबर
    प्रकाशित: १५ आश्विन २०७९, शनिबार

    म्यूजिक खबर÷काठमाडौं
    दशैं नेपाली हिन्दुहरुको सबैभन्दा ठूलो र विशेष चाड हो । २०७९ सालको दशैंले छोएकाले गाउँदेखी शहरसम्म रौनकता र उमंग छाइसकेको छ । आम मानिसले दशैंलाई विशेष रुपले मनाउने प्रयास गर्छन् । यहि क्रममा कलाकारले भने कसरी दशैंलाई विशेष बनाउँलान् ? कहाँ र कसरी मनाउंँदै छन् ? भन्ने बिषयमा केही कलाकारको यसपटकको दशैैं योजनाको बारेमा जानकारी लिएका छौं । पढौं उनीहरुको यसपटकको दशैं योजना जस्ताको तस्तै

    रिता केसी, गायिका
    यसपटकको मेरो दशैं सदा झैं रमाइलो नै हुन्छ भन्ने अपेक्षा गरेको छु । मेरो दशैं यसपाली काठमाडौं मै हुनेछ । आमाबुबा, दिदीबहिनी परिवारको साथमा मनाउनेछु । टिकाको भोलिपल्ट दाङ जानेछु । आमाको हातबाट टीका र आर्शीवाद थाप्नेछु । ३–४ दिन बसेर आउँछु । यसरीनै यो वर्षको मेरो दशैं बित्ने छ ।

    शिब परियार, गायक
    विशेष केहि छैन । दशैंको सांस्कृतीक पक्षलाई अवलम्बन गर्दै सामान्य तरिकाले मनाउने सोचमा छु । दशैं लगतै वैदेशिका कार्यक्रमहरु छन् । दशैलाई परिवारको साथ मै रहेर रमाइलो गर्ने, खानपानमा रमाउने । हरेका दशैं यस्तै हुन्छ मेरो । आफ्नो गच्छे अनुसार दशैं मनाउन, स्वास्थ्यमा सतर्कता रहन आग्रह गर्दछु ।

    लोमस शर्मा, मोडल
    यो पटकको दशैं मनाउन नमिल्ने भएको छ । त्यसले गर्दा सँधैको जस्तो रमाइलो हुँदैन । भर्खर मेरो घरको हजुरआमा र मामाघरको हजुरआमा दुबैजना स्वर्गीय हुनुभयो । हजुरआमाको कमी महशुस हुन्छ नै । तर पनि दुख भुलाउने कोशिस रहन्छ । टीका थाप्न जाने, आउने नहुने भएकोले सधैँ जस्तो दशैंको रमाइलो खट्किन्छ भन्ने लागिरहेको छ । सकेसम्म दशैंलाई रमाईलो बनाउने योजनामा छु । यो पटक दशैंमा काठमाडौंमै परिवारसँगै बस्ने, खाने, फिल्म हेरेर रमाइलो गर्ने यसरी नै बित्नेछ यो वर्षको दशैं । यहि अवसर पारेर ममी र बहिनीसँगै कतै घुम्न जाने पनि सोचिरहेको छु । हेरौं के हुन्छ ।

    चुडामणी देबकोटा, गीतकार
    दशै नेपालीहरुको महान चाड हो । जसले घर परिवार, ईष्ट मित्र आफन्तहरु भेट्ने अवसर पनि जुराइदिन्छ । सपालीको दशैं हाम्रो परिवारलाई विशेष हुनेवाला छ । किनभने मेरा दुवै छोराहरू विदेशबाट नेपाल आउँदै छन् । बुहारी र नातिनी सहित ठूलो छोरा अस्ट्रेलियाबाट र कान्छो छोरा अमेरिकाबाट आउँने भएका हुन् । नवमीको दिन हामी स–परिवार लुम्बिनी जाने योजना बनाएका छौं । १ हप्ता जति घुमघाम गरेर फर्कन्छौं ।

    सोफिया थापा, गायिका शिक्षिका
    म गायिकाको साथसाथमा एक शिक्षक पनि हुँ । सधंै आफ्नो कुरा अरुलाई सुनाउनु पर्ने (पढाउनु) मेरो पेशा हो । दशैंको आफ्नै विशेषता त छँदैछ तर मेरो लागि मेरो लागि अरुका कुरा सुन्ने अवसरको रुपमा दशैंलाई लिन्छु । आमा बाबाको कुरा सुन्छु । मेरो बाबा ध्यान सिकाउने भएकाले उहाँसँग अध्यात्म, ध्यान तथा तथा ओशोका दर्शन सुन्छु, सिक्छु । त्यस बाहेक किताबहरु पढ्न मलाई मन पर्छ । बाँकी समयमा गीतहरु कम्पोज गर्छु ,केही ठाँउहरु घुम्छु । मीठा मीठा शाकाहारी खानेकुरा खान्छु । कार्यक्रममा सहभागी हुन्छु । टिका लगाउन धुलिखेल, बुटवल जान्छु । किचनमा खासै काम गर्नु पर्दैन मैंले त्यसैले समय प्रशस्त हुन्छ । म आफूलाई मन लाग्ने काम गर्न पाउँछु । फेरि दशैंकै सेरोफेरोमा जन्मदिन पर्ने भएकाले परिवारबाट उपहार पनि पाउँछु । दशैंले खुशी लिएर आउँछ मेरो लागि । म खुशी भैरहँदा यो दशंै कसैको पनि ऋण र दशाको भारी नबनोस भन्ने कामना पनि गर्छु ।

    ममता गुरुङ, गायिका
    दशैंमा यस्तो गरौला भन्ने विशेष योजना बनाएको त छैन । घटस्थापनाको दिन कार्यक्राम छ, त्यो सकाएर पोखरा घर जानेछु । परिवारसँगै बसेर सक्दो रमाइलो गरेर दशैं मनाउनेछु ।

    सीताराम पोखरेल, गायक
    यो पटक दशैं पनि अरु वर्षजस्तै रमाइलो तरिकाले मनाउने योजना छ । बिराटनगर घरमा आमा–बुबा र परिवारको साथमा बसेर यसपटकको दशैंलाई सक्दो रमाइलो बनाउने छु । दशैंको नवरात्रभर बिराटनगर काली मन्दिर जान्छु । साथीभाईसँग भेट भएपछि यसै रमाइलो भइहाल्छ । दशमीमा आमाबुवाको तथा ठूलाबडाकोे हातबाट टीका लगाउने, आर्शीवाद थाप्ने । सानालाई टिका लाइदिने । मीठो मीठो परिकार खाने, तर खाँदा अलि बिचार पू¥याएर खान्छु । यसरी नै हो । अरु नयाँ केहि छैन । यो पटक दशैंकै अवसर पारेर ‘पहाडको थुम्को’ रिलिज गरेको छु । बाँकी रहेको समयमा यहि गीतको प्रमोसनमा लाग्नेछु । सबैलाई दशैंको शुभकामना ।

    बसन्त थापा, गायक तथा संगीतकार
    दशैमा पारिवारिक जमघट गर्र्नेे, आफुभन्दा ठुला बडाको हातबाट टिका ग्रहण गर्नुको साथै आशिर्वाद पनि लिईन्छ र आफु भन्दा सानोलाई टिका लगाई दिने आर्शीवाद दिने दशैंको विशेषता नै हो । दशैंमा लगाइने रातो टिका र पहेंलो जमराले सकारात्मक उर्जा थपिएको महशुष हुन्छ । सुन्दरनगरी पोखरामा परिवारको साथमा रमाइलो गर्दै दशैं मनाउने योजना छ ।

    आलिफ खान, गायक
    धर्मकानुसार दशैं हिन्दु धर्मको भएपनि चाड नेपालीको भएकाले म पनि नेपाली हो । मुस्लिम भए पनि मज्जाले दशैं मनाउने गरेका छौं । टिका मात्रै लाउँदैनौं, आम नेपालीले दशैंमा जे गर्छन् त्यो सबैथोक गर्ने चलन छ हाम्रो घरमा पनि । जस्तै घर–बाटो सफाई गर्ने, नयाँ कपडा किन्ने, खाने र रमाइलो गर्ने । फेरि दशैं भन्ने बितिकै मलाई छुट्टै उत्साह जाग्छ । घर कहिले पुग्नु जस्तो हुन्छ । तर पछिल्लो समय व्यस्तताका कारणले धेरै भयो दशैंमा घर जान नपाएको । त्यसैले यो पटक दशैंमा घर जाँदैछु । परिवार, साथीभाई, अग्रजसबैसँग भेटघाट गर्दै भरपुर रमाइलो गरेर यो वर्षको दशैंमा मनाउने योजना छ । नेपालीहरुको महान चाड दशैंको सबैलाई शुभकामना ।

    टिका जैशी, मोडल
    यो पटक दशैं पनि अरु वर्षजस्तै हुनेछ मेरो लागि । दशैंमा गाउँ गइएन भने के दशैं जस्तो लाग्छ मलाई । यसैले जन्मथलो बर्दीयामा नै मनाउँछु यसपटकको दशैं पनि । यसै पनि दशैंमा सबैसँग भेटघाट हुने भएकोले एकदमै रमाईलो लाग्छ । आमाबुवाको तथा मान्यजनको हातबाट टीका–आर्शीवाद थाप्ने, गाउँमा पिङ खेल्ने, नाँच्ने, पारिवारिक जमघट गर्ने । यसरी परिवारको साथमा रमाइलो नै रमाइलो गरेर बिताउनेछु दशैंलाई ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु