बाल्यकालमा दक्षिणाका लागि रुने कलाकार को–को हुन् ?

म्यूजिक खबर
प्रकाशित: १८ आश्विन २०७६, शनिबार

सविता पोखरेल
यसपालीको दशैं पनि आइ नै सक्यो । रेडियो टेलिभिजन र वेबसाईटहरुमा दशैंको धून बज्न थालिसके । फेसबुक, ईमो, भाईबर इमेल लगायतका सञ्जालमा दशैको शुभकामनाहरुको ओइरो लागेको छ ।
जब हरेक वर्ष घुमिफिरी दशैं आउन थाल्छ, तब हरेक हिन्दु नेपालीहरुलाई गाउँघरमा पीङ खेलेको, तास खेलेको, मेला घुमेको, दक्षिणा गन्दै मख्ख परेको, नयाँ लुगा लाएर रमाएको जस्ता पुराना यादले उत्साहित बनाउँछ । दशैं शुरु भएसँगै हामीले केही नेपाली संगीतकर्मीलाई आफ्नो विगतको दशैं अनुभव सम्झन आग्रह गरेका थियौं, उनीहरुले दशैंको आफ्नो विगतका अनुभव रोमान्चित हुँदै यसरी पोखे :

प्राश्ना शाक्य, गायिका
शरद ऋतुले लिएर आउने महान चाड दशैं मलाई अति नै प्रिय लाग्छ । न जाडो न गर्मी मौसम नै दशैंको एउटा विशेषता हो । म हजुरआमाको लाड, प्यार र सुसारमा हुर्किएकी हुँ । त्यसैले हजुरआमा मेरो जीवनभरकै सर्वाधिक महत्वपूर्ण व्यक्ति मान्छु । यतिबेला हजुरआमा हामीमाझ हुनुहुन्न । त्यसैले दशैंमा सबैभन्दा सम्झना हजुरआमाकै आउँछ । हजुरआमा बिते यताको दशैं अलि खल्लो फिल पनि गर्छु । मलाई दशैंमा तास खेल्न निकै रमाइलो लाग्छ । तर दशैंको बेला तास खेलेन भने दशैं नै आएको छैन कि जस्तो लाग्छ । बाल्यकालमा बहिनीसँग दक्षिणामा कम्पिटिसन हुन्थ्यो । हामी दक्षिणाकै लागि आफन्तकोमा जान्थ्यौं । सानोछँदा १ साल दशैंको टिकाकै दिन काकाको छोरी बहिनी जन्मिन् । हामीबीच भने दक्षिणामा कम्पिटिसन भइरहेको थियो । बहिनी जन्मिएको खबरले हामी निरास भयौं, रिसायौं । यसलाई आजै जन्मिन पर्ने, २ र ४ दिनपछि जन्मिएको भए पनि त हुने नि भनेर रिसाएको सम्झिँदा अहिले हाँसो लाग्छ ।

चेतन सापकोटा, गायक/संगीतकार
नेपालीहरूको महान चाड दशैं मेरो पनि मन पर्ने चाड हो । नयाँ लुगा लाउन पाउने, दक्षिणा पाउने, रमाइलो नै रमाइलो गर्न पाइने दशैं कहिले आउलाझैं हुन्थ्यो । दक्षिणाकै लागि मावली मात्रै होईन बुढा मावलीसम्म पुगिन्थ्यो । धेरै ठाउँमा १ मोहर पाईंथ्यो । अहिले १ मोहर पाउने ठाउँमा १ हजार पाईन्छ (लामो हाँसो…) पिङ राख्नको चटारो हुन्थ्यो । पिङ राखिसकेपछि बल्ल दशैं आए झैं हुन्थ्यो । त्यति मात्रै नभएर घरआँगन बाटोघाटो चौतारो सरसफाइ गथ्र्याैं । हरेक दशैं मलाई विशेष नै लाग्छ । त्यसमा पनि ०४८–०४९ मा कुनै १ वर्ष, ठ्याक्कै साल बिर्से । २५० तिरेर जिन्स पाइन्ट किनेको थिएँ । त्यो दशैं मेरो स्मरणीय दशैं हो । पहिलो पटक जिन्स पाइन्ट लगाएको थिएँ । अहिले घर जग्गा जोड्दा पाईने खुशी भन्दा खुशी त्यतिबेला भएको थिएँ । पछिल्लो वर्षहरुको दशैंमा भने घर, मावल, ससुराली सबैतिर जान्छु । आम मानिसलाई दशैंले जुन उमङ्ग, उत्साह दिन्छ मलाई पनि त्यहि अनुभव हुन्छ ।

मञ्जु पौडेल, गायिका
आहा ! दशैं शब्द भन्ने बितिकै मनै रोमान्चित हुन्छ । त्यसमा पनि बाल्यकालमा मनाएको दशैं त जीवनकै स्वर्णिम सम्झना हो । नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने, कति आनन्दको चाड ! दशैंका कुरा आउँदा मलाई जन्मथलो गुल्मीको सम्झनाले सताउँछ । दक्षिणामा कटकट परेका नयाँ नोट पाउँदाको त्यो खुशीको बारेमा अहिले कहाँ भन्न सकिन्छ र ? एक साल बुबाले मलाई रू.१० दक्षिणा दिनुभयो, दिदीलाई भने २० । दक्षिणा थोरै भएपछि मेरो रडाको शुरु भयो अनि बुबाले मलाई ५० दिनुभएको थियो । त्यतिमै म फुरुङ्ग भएँ । त्यो सम्झनाले अहिले पनि रोमान्चित हुन्छु । अहिले करोडको चिट्ठा परेपनि सायद त्यतिको खुशी नमिल्ला । सांगीतिक जीवनको स्मरणीय दशैं भने धेरै वर्ष मैले विदेशमा मनाएको छु । त्यसमा पनि १ साल कतारमा महानायक राजेश हमालको हातबाट टीका लगाएको छु । त्यो दशैं पनि निकै सम्झिन्छु तर विदेशमा जति नै रमाउन खोजे पनि मातृभूमिको दशैं धेरै नै मिस गरिन्छ । ६ वर्ष अगाडि मेरो बुबाको निधन भयो तबदेखि भने कुनै पनि दशैंमा मेरो मन त्यति उल्लास हुँदैन ।

सरोज कोइराला, सञ्चारकर्मी/गायक/संगीतकार
दशैं भन्ने बित्तिकै उल्लास र उमङ्गले भरिन्छ मेरो मन । त्यसमाथि बाल्यकालको दशैंको स्मरण गर्दा, फेरि पनि त्यही समय, त्यही काल फर्किदिए हुने थियो जस्तो लाग्छ । म जन्मे हुर्केको झापाको सुरुङ्गामा टिकाकै दिन मेला लाग्थ्यो । मेलामा साह्रै रमाइलो गरिन्थ्यो । घरमा स–परिवार भेला हुने, मान्यजनको आशीर्वाद लिने परम्परा दशैंको मन पर्ने पक्ष हो । दशैं विशेष वर्ष भने मेरो ०४९ सालको र ०५५÷०५६ सालको दशैं मेरो लागि स्मरणीय दशैं हुन् । ०४९ सालमा हामीले नयाँ घरमा दशैं मनायौं । हाम्रो परिवारमा खसीबोका काट्ने चलन थिएन र अहिले पनि छैन । छिमेकीकोमा काटेको खसीको भाग ल्याउने गथ्र्यौं । तर ०५५÷०५६ सालमा कुनै १ साल हुनुपर्छ, हाम्रो घरमा पहिलो पटक खसी काटियो । त्यसयता पनि अहिलेसम्म खसी काटिएको छैन । मासु नै किनेर ल्याउने चलन छ । आफ्नै घरमा खसी काटेर मनाएको त्यो दशैं पनि मलाई विशेष लाग्छ । दशैंको सबैभन्दा मज्जा लाग्ने भनेकै आफन्त तथा साथीहरुसँग हुने भेटघाट हो ।

टीका प्रसाईं, गायिका
तीज लगतै दशैं आउन अब यति दिन भनेर औंला भाँच्न शुरू गरिन्थ्यो । त्यो डेढ दुई महिना वित्न वर्ष विते जस्तो हुन्थ्यो । दशैंकै लागि भनेर घर सरसफाइ गर्ने, चिउरा कुट्ने, अचार राख्ने आदि गरिन्थ्यो । कमेरो माटो, रातो माटो बोकेको खुब याद आउँछ । छोराहरुले दक्षिणा कम पाउँथे भने हामी छोरीहरूलाई बढी हुन्थ्यो । तास अलिअलि खेलिन्थ्यो, त्यो नि जुटपती । डाइस खेल्न निकै रमाइलो लाग्थ्यो । शुरुमा जितेर हौसिदै खेल्दा निकै हारिन्थ्यो । त्यतिबेला रुन मन लाग्थ्यो । अहिले सम्झिदा हाँसो लाग्छ । थारु जातिहरुले कागजको घोडा बनाएर त्यसभित्र मान्छे हुन्थे । अनि दशै बोलाएको भन्दै गाउँ घुम्थे । त्यो क्षण निकै रमाइलो लाग्थ्यो । लिंगे पिङको पनि निकै सम्झना आउँछ । पारिलो घामसँगै धानको बालामा भएको शीतले साँच्चै दशैं बोलाएको आभास हुन्थ्यो । खासमा मलाई दशैंको वातावरण नै रमाइलो लाग्छ । साथीहरूका अगाडि उनीहरुको भन्दा आफ्नो घर राम्रो देखियोस् भन्ने लाग्थ्यो । दक्षिणामा पाउको चारआना आठआना पनि निकै महत्वपूर्ण लाग्थ्यो, तर प्राय मेरो दक्षिणा हराउने गथ्र्यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु