प्रसिद्ध गायिका आशा भोस्लेको १३ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०८३, शुक्रबार २२:३५

काठमाडौं । प्रसिद्ध गायिका आशा भोस्लेको १३ औं पुण्यतिथिमा काठमाडौंमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल सांगीतिक संघको आयोजनामा काठमाडौंको होटल डेलमोरमा एक कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । साधना कला केन्द्रको सहकार्यमा भएको उक्त कार्यक्रममा लामा गुरुद्वारा पाठ पढेर १०८ शान्तिदीप प्रज्ज्वलन गरिएको थियो । त्यस्तै प्रसिद्ध गायिका आशा भोस्लेको तस्विरमा माल्यार्पण गरी उहाँको गीत गाएर श्रद्धान्जली अर्पण गरिएको थियो ।

नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले प्रसिद्ध गायिका आशा भोस्लेले नेपाली चलचित्रको पाश्र्व गायनमा विशिष्ट योगदान दिएको बताउँदै अमर स्रष्टाका रुपमा सम्झिहरनुपर्ने बताए । कार्यक्रमको सहजीकरण गर्दै संघका महासचिव सुमन बैरागीले गायिका आशा भोस्लेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठित संगीतकार दीपक जंगमले गायिका आशा भोस्लेको बारेमा बोल्दै उहाँ विश्वविख्यात ख्याती कमाउन सफल स्वरकी धनी भएको बताएका थिए । त्यस्तै कार्यक्रममा नागेन्द्र विक्रम राई, मदनसिंह नेपाल, सुनिल सिंह नेपाली, लाक्पा शेर्पा, प्राश्ना शाक्य लगायतले सांगीतिक प्रस्तुति मार्फत् उनको गीत गाएर श्रद्धान्जली अर्पण गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठित संगीतकार दीपक जंगम, प्रतिष्ठित संगीतकार मदन सिंह नेपाली, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, दार्जिलिङबाट आएका वरिष्ठ गायक पवन गोले, गायक प्रदीपराज पाण्डे, डेलमोर होटलका संचालक नवराज मोक्तान, गायिका सीता केसी, गीतकार तथा संगीतार निर्माण सिंह गुरुङ, गायक भरत गुरुङ, गीतकार टेक बहादुर तामाङ, गिटारिस्ट विक्रम कार्की, मोडल दिनेश शाही, गायिका मीना मोक्तान, फुटी शेर्पा, कपिल लोहनी, दिपा मोक्तान, मनिता कँडेल, मेनुका चुँडाल, युवराज पोर्तेल, एलिशा शंकर लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उपस्थित व्यक्तित्वहरुले प्रसिद्ध गायिका आशा भोसलेको तस्विरमा फूल अर्पण र दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गैरी खेतको शीरै हान्यो, बसन्त नै बस्न खोज्छ, पहाडको माथि माथि, तिम्रो आँखाको सगरमा, मोहनी लाग्ला है, एउटा मान्छे मन पर्छ, माया त माया हो जस्ता सयौ नेपाली चलचित्रका गीतमा स्वर दिएकी आशाले १२ हजार भन्दा धेरै गीतमा स्वर दिएकी छन् । उनले नेपाली, हिन्दी, मराठी, उर्दू, मलालयम, अंग्रेजी, बंगाली, असामेली लगायतका दर्जनभन्दा बढी भाषमा गीत गाएकी छन् ।
विगतमा नेपाल सांगीतिक संघ र साधना कला केन्द्रले आशा भोस्ले सांगीतिक साँझको कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको थियो । नेपालमा सबैभन्दा ठूलो कार्यक्रम आयोजना गरी आशा भोस्लेलाई सांगीतिक साँझमा प्रस्तुत गरेको यस संघले उनीप्रति ऋणी महसुस गरी श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
तस्बिरः अनिल श्रेष्ठ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु