• अवार्डको इतिहास र वर्तमान

    म्यूजिक खबर
    प्रकाशित: ३० चैत्र २०७९, बिहीबार

    सुमन बैरागी
    नेपालमा विभिन्न क्षेत्रलाई समेटेर अवार्डहरु हुने गरेका छन् । पछिल्लो समयको आँकडालाई हेर्ने हो भने त नेपाल धेरै अवार्ड गर्ने देशहरुमध्ये पहिलो नम्बरमा नै आउँछ कि जस्तो लाग्छ । अवार्ड बाहेक स्रष्टा र सिर्जना, व्यवसाय र विभिन्न क्षेत्रसँग जोडेर सम्मान र पुरस्कार दिइने गरिन्छ त्यसको संख्याको पनि लेखाजोखा त छैन तर सबैभन्दा बढी अवार्ड र सम्मान हुने देश कुन हो भन्यो भने नेपाल नै हो भन्लान् भन्ने भइसकेको छ । तर अवार्डको नाम सुन्ने वित्तिकै कतिलाई खुशी लागेको हुन सक्छ तर कतिले भने नाक खुम्च्याउन थालिसकेको अवस्था पनि छ । समय अनुसार परिवर्तन हुनुपर्छ भन्ने नाउँमा र व्यवसायका नाममा अवार्डले सम्मान र प्रोत्साहनको हद नाघिसकेको छ ।
    अवार्डको इतिहासलाई हेर्ने हो भने २०४३ सालमा लायन्स क्लब अफ विशालबजारको आयोजनामा पहिलो फिल्म अवार्ड भएको भन्ने केही प्रमाणहरुले पुष्टि गर्छन् । बलिउडका कलाकारहरु उपस्थित गराएर लायन्स क्लब अफ विशालबजारका अध्यक्ष भरतलाल श्रेष्ठले अवार्डको सुरुवात गरेका थिए । लायन्स क्लब नेपाली फिल्म अवार्डपछि मात्रै नेपालमा अवार्ड आयोजना गर्न सकिने रहेछ भनेर अन्य अवार्डहरु पनि संचालन हुन थालेका हुन् ।
    त्यस्तै ५० को दशकपछि नेपाल चलचित्र संघको आयोजनामा मोशन पिक्चर्स अवार्ड भएको थियो । यस अवार्डले केही वर्ष पार गरे पनि निरन्तरता भने दिन सकेन । चलचित्र संघको आयोजनामा तीन संस्करण पार गरेको मोशन पिक्चर्स अवार्डले फिल्मीकर्मीको मन जित्ने अवसर नपाउँदै बन्द भयो । त्यहीको आयोजनामा यतिखेर भने नेम्फा फिल्म अवार्डको नाममा अमेरिकामा हुँदै आएको छ । नेम्फा फिल्म अवार्ड दुईपटकसम्म अमेरिकामा सम्पन्न भइसकेको अवस्था छ ।
    तर म्यूजिक अवार्डको अवस्था हेर्ने हो भने ‘हिट्स एफएम म्यूजिक अवार्ड’ नै सबैभन्दा लामोसमयसम्म संचालन हुँदै आएको अवार्ड हो । गीतसंगीतको क्षेत्रलाई मात्र लक्षित गरेर आयोजना गरिएको यो पहिलो म्यूजिक अवार्डका रुपमा ठहरिन्छ । यो अवार्डले २२ वर्षको अवधि पार गरिसकेको छ । २०५२ सालमा हिट्स एफएमको स्थापना भएपछि २०५४ सालमा ‘हिट्स एफएम म्यूजिक अवार्ड’को सुरुवात भएको थियो । फिल्म अवार्डबाट सुरु भएको यात्रालाई हिट्स एफएमले म्यूजिक अवार्डको यात्रातर्फ उन्मुख गराएको थियो । यस अवार्ड विभिन्न गीतसंगीतका १७ विधामा सम्पन्न हुँदै आएको छ ।
    त्यस्तै इमेज एफएमको स्थापनासँगै २०५५ सालबाट ‘पहिलो एन्यूअल इमेज अवार्ड’ विभिन्न १८ विधामा सुरु भएको थियो । स्वर किन्नरी तारादेवीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिएर सुरु भएको यो अवार्डले पनि २२ औं वर्ष पार गरिसकेको छ । इमेज ग्रुफ अफ कम्पनीबाट आयोजना हुने यो अवार्ड दोस्रो ठूलो म्यूजिक अवार्डका रुपमा प्रस्तुत हुँदै आइरहेको छ । कलासाधकहरुलाई सम्मान गर्दै नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ निरन्तर हालसम्म यस अवार्डले गरिमा बोकेको छ भने गीतसंगीतलाई धेरै माया गर्दै प्रमुखताका साथ अगाडि बढाउने काम इमेज ग्रुफले गर्दै आएको छ ।
    त्यस्तै २०५९ साल असोज महिनामा मोफलसबाट कालिका एफएमले आफ्नो आवाज बोकेर आयो । यस एफएमले पनि गीतसंगीत क्षेत्रका स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना ग¥यो । २०६१ सालबाट कालिका म्यूजिक अवार्डले आफ्नो यात्राको आरम्भ ग¥यो र गीतसंगीतका विभिन्न २६ विधामा अवार्ड प्रदान गर्दै आएको छ । त्यस्तै मोफसलकै एफएम पोखराको अन्नपूर्ण रेडियोले पनि आफ्नो स्थापनासँगै गीतसंगीतमा पहुँच बढाएको थियो । स्थापनाको ११ वार्षिकोत्सव २०६७ मा पाँचौं अवार्ड गर्दै अवार्डको यात्रालाई स्थगन गरेको थियो । स्रष्टा र सिर्जनालाई सम्मान एवं प्रोत्साहन गर्दै आएको यस अवार्डले यात्रा टुंग्याएसँगै एफएमहरुले गर्दै आएको अवार्डमा तीनवटा मात्र कायम रहेका छन् ।
    त्यसो त रेडियो कान्तिपुरले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसर पारेर संगीत साधनामा आफ्नो जीवन अर्पेका मुर्धन्य सर्जकहरुलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र केही वर्षयता रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो पत्रकारितालाई कर्म बनाएकाहरुलाई पनि प्रोत्साहन र सम्मान गर्दै आएको थियो भने २०६४ पछि गीत संगीत बजाए बापत स्रष्ट्रालाई रोयल्टी प्रदान गर्ने महान कार्य पनि गर्दै आएको छ । यसै रेडियोले गत वर्षबाट म्यूजिक अवार्डको सुरुवात पनि गरेको छ ।
    एफएफहरुले मात्र व्यवसायिक प्रतिष्ठानहरुसँग समन्वय गर्दै म्यूजिक अवार्ड आयोजना गरिरहेको भए पनि संचार भन्दा बाहिरका संघसंस्थाहरुले भने म्यूजिक अवार्ड आयोजना गर्नेमा विन्ध्यवासिनी म्यूजिक प्रा.लि. पहिलो हो । विन्ध्यवासिनीले विगत ९ वर्षदेखि निरन्तर म्यूजिक अवार्डलाई विभिन्न ३१ विधामा सम्पन्न गर्दै आएको छ । यस अवार्डले गीतसंगीत क्षेत्रका कम्पनीहरुले पनि योगदान गर्न सक्नुपर्छ भन्ने मान्यता बोकेर कर्मशील हातहरुलाई सम्मान गर्दै आएको छ । गीतसंगीत उत्पादन तथा बजार व्यवस्थापन गर्ने कम्पनीका रुपमा स्थापना भएको यो कम्पनीले पछिल्लो समयको खस्कँदो बजारमा पनि लगानी गरेर स्रष्टाहरुलाई स्थान दिनुका साथै अवार्डका माध्यमले सक्रिय गराउन सफल हुँदै आएको पनि छ ।
    त्यसैगरी गीतसंगीत क्षेत्रको पहिलो अनलाईन पत्रिका म्यूजिक खबर डटकमले पनि २०६९ सालदेखि निरन्तर नवौं वर्षसम्म ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को आयोजना गर्दै आएको छ । यस अवार्डले मुलुकको महत्वपूर्ण स्थान ओगट्दै आएको छ । संचारगृहको माध्यमबाट अवार्डलाई अग्रस्थानमा राख्दै स्रष्टा र सिर्जनाको सम्मान र प्रोत्साहनमा जुटेको यस अवार्डले ‘संस्कृतिसँगै पर्यटन’ भन्ने नारालाई लिएर गत वर्षबाट प्रदेश नं. १ को राजधानी विराटनगरबाट सात प्रदेशसम्मको यात्रा गर्ने उद्देश्यका साथ अघि बढे पनि कोभिडका कारण अन्य प्रदेशमा गर्न कठिनाइ भएको छ । त्यस्तै म्यूजिक खबर पाक्षिक प्रकाशनलाई पनि अवार्डसँगै यात्रामा जोडेर ६ वर्ष पार गरिसकेको छ ।
    म्यूजिक अवार्डको संख्या यतिखेरसम्म आइपुग्दा ५५ भन्दा माथि पुगिसकेका छन् । यी सबै नेपालमा आयोजना भएका अवार्डहरु हुन् । यीमध्ये २० वटा म्यूजिक अवार्डले १ वर्षदेखि २२ वर्षसम्मका विभिन्न चरण पार गरिसकेका छन् भने केही अवार्ड यसै वर्षबाट संचालनमा आएका हुन् । यो क्रममा अवार्डको लहरमा लहरिँदै आयोजना भएका एक दर्जनभन्दा बढी अवार्ड भने बन्द भइसकेका छन् । केही अवार्डले त घोषणा गरेर गर्भमै तुहिएका छन् । कुनैले केही फर्म जम्मा गरेर फर्म भर्नेहरुको रुपैयाँसमेत लिएर चुपचाप बसिसकेका छन् ।

    हालसम्म भएका अवार्डको सूची

    – हिट्स एफएम म्यूजिक अवार्ड
    – इमेज म्यूजिक अवार्ड
    – कालिका म्यूजिक अवार्ड
    – विन्ध्यवासिनी म्यूजिक अवार्ड
    – म्यूजिक खबर म्यूजिक अवार्ड
    – राष्ट्रिय रापती म्यूजिक अवार्ड
    – राष्ट्रिय लोकदोहोरी अवार्ड
    – तीज म्यूजिक अवार्ड
    – सुन्दरादेवी सन्देश म्यूजिक अवार्ड
    – नेशनल क्यापिटल अवार्ड
    – म्यूजिक भिडियो अवार्ड
    – मनास्लु नेशनल अवार्ड
    – ओएस म्यूजिक अवार्ड
    – रेडियो कान्तिपुर नेशनल म्यूजिक अवार्ड
    – नेशनल पावर न्यूज म्यूजिक अवार्ड
    – सगरमाथा म्यूजिक अवार्ड
    – नाट्यश्वर म्यूजिक अवार्ड
    – एपिक नेपाल म्यूजिक अवार्ड
    – औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड
    – अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड
    – राष्ट्रिय साधना म्यूजिक अवार्ड
    – जिनियस म्यूजिक अवार्ड
    – योङ माइन्ड अवार्ड
    – नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड
    – ज्योति फिल्म्स म्यूजिक अवार्ड
    – बक्स अफिस म्यूजिक अवार्ड
    – नेपाल म्यूजिक एण्ड फेसन अवार्ड
    – वेष्ट म्यूजिक अवार्ड
    – विराट म्यूजिक तथा फिल्म अवार्ड
    – बोस्टर इन्टरटेनमेन्ट अवार्ड
    – नेशनल इन्टरटेनमेन्ट अवार्ड
    – हिमालयन इन्टरनेशनल अवार्ड
    – राष्ट्रिय संगीतकर्मी संघ म्यूजिक अवार्ड
    – वल्र्ड नेपाली म्यूजिक अवार्ड
    – अन्तर्राष्ट्रिय हिमालयन म्यूजिक अवार्ड
    – स्टार इन्टरनेशनल म्यूजिक अवार्ड
    – राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड
    – नेपाल ब्यूटिसियन अवार्ड
    – क्वालिटी इन्टरटेनमेन्ट अवार्ड
    – राष्ट्रिय काठे लोकदोहोरी अवार्ड
    – स्टार म्यूजिक एण्ड फिल्म अवार्ड
    – लुम्बिनी म्यूजिक अवार्ड (मोफसलमा)
    – पूर्वेली म्यूजिक अवार्ड (मोफसलमा)
    – अन्नपूर्ण म्यूजिक अवार्ड पोखरा
    – जनदृष्टिकोण म्यूजिक अवार्ड
    – नेशनल म्यूजिक अवार्ड
    – सुरप्रभा गीतसंगीत अवार्ड
    – गोर्खाली म्यूजिक अवार्ड
    – नेपाल म्यूजिक अवार्ड
    – एरिना म्यूजिक अवार्ड
    – लिम्बू म्यूजिक भिडियो अवार्ड
    – स्टार एफएम म्यूजिक अवार्ड
    – एम टीभी म्यूजिक अवार्ड
    – एएनपी नेशनल अवार्ड
    – लोक संगीत अवार्ड

    अहिलेसम्मको यो आँकडालाई हेर्दा म्यूजिक अवार्डहरु ५५ भन्दा माथि आयोजना भइसकेका छन् । यीमध्ये केही गर्भमै तुहिए पनि केही अवार्ड यसै वर्षबाट आयोजना गरिएको छ । संख्यात्मक रुपमा फिल्म अवार्ड भन्दा म्यूजिक अवार्डको संख्या बढी देखिएको छ । संगीत उद्योगलाई उद्योगको मान्यता दिइएको छैन तर चलचित्र उद्योगलाई ठूलो उद्योगको मान्यता दिँदै सरकारले चलचित्र विकास बोर्डसमेत खडा गरेर धेरैलाई तलबभत्ता खुवाउँदै आएको छ । ठूलो मानिएको चलचित्र उद्योगमा आयोजना गरिने अवार्डहरुको संख्या न्यून रहेको छ । किनकी एउटा फिल्म निर्माण गर्नकै लागि पनि ठूलो खर्च हुने भएकाले निर्माणको हिसाबले पनि न्यून रहने गरेको छ ।

    – नेशनल फिल्म अवार्ड
    – डी सिने अवार्ड
    – नेफ्टा फिल्म अवार्ड
    – नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड
    – एनएफडीसी चलचित्र अवार्ड
    – कामना फिल्म अवार्ड
    – एलजी सिनेमा अवार्ड
    – फान चलचित्र अवार्ड
    – मोशन पिक्चर अवार्ड
    – अनलाईन फिल्मीखबर अवार्ड
    – सोसल मिडिया फिल्म अवार्ड
    – पिम नेपाल फिल्म अवार्ड तथा फेस्टिबल
    – नेपाल फिल्म अवार्ड

    राष्ट्रिय चलचित्र अवार्ड विकास बोर्डको आयोजनामा हुने गरेको भए पनि यसको निरन्तरता भने हुन सकेको छैन भने नेपाल चलचित्र कलाकार संघको आयोजनामा हुने गरेको फान अवार्डले पनि निरन्तर रुपमा आफूलाई अगाडि बढाउन सकेको देखिँदैन । दुई वर्षसम्म आयोजना गरिएको अवार्डले संघका पदाधिकारीभित्रको तँछाड मछाडमै अवार्डको यात्राले थकाइ मारेको अवस्था छ । नेपाल चलचित्र संघको आयोजनामा हुने गरेको मोशन पिक्चर्स अवार्डले तीन वर्षसम्म आयोजना गरेर यात्रालाई टुंग्याएको हो भने अनलाईन पत्रिका फिल्मीखरब डटकमको आयोजनामा भएको ‘अनलाइन फिल्मीखबर अवार्ड’ पनि एक वर्ष आयोजना गरेपछि अवार्ड कार्यक्रम बन्द भएको हो ।

    – इनास फिल्म अवार्ड (युरोप)
    – ग्लोबल नेपाली फिल्म अवार्ड (अमेरिका)
    – सूर्य इन्टरनेशनल अवार्ड (जापान)
    – नेम्फा पपुलर फिल्म अवार्ड (अमेरिका)
    – ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया एण्ड सोसल अवार्ड (अमेरिका)
    – अन्तर्राष्ट्रिय रापती म्यूजिक अवार्ड (अष्ट्रेलिया)
    – मोडल सङ्स अवार्ड (यूएई)
    – एभरेस्ट इन्टरनेशनल फिल्म अवार्ड (हङकङ)

    नेपालमा भइरहेका फिल्म तथा म्यूजिक अवार्डहरुबाहेक विदेशका विभिन्न स्थानमा पनि अवार्डहरु आयोजना गरिँदै आइएको छ । हुन त म्यूजिक भिडियो अवार्ड, बक्स अफिस म्यूजिक अवार्ड, हिमालयन म्यूजिक अवार्डले पनि नेपालभन्दा बाहिरका देशमा नै अवार्ड आयोजना गर्दै आएका छन् । यस अवार्डले सुरुका फर्म कलेक्सन, उत्कृष्ट पाँचको मनोनयन कार्यक्रम मुलुकभित्रै गर्ने गरेको भए पनि ग्राण्ड फिनालेको नाम दिँदै मलेसिया, यूएई, कतार, थाइल्याण्डमा अवार्ड आयोजना गर्दै आएका छन् । त्यस्तै अन्य देशहरुमा पनि नेपाली फिल्म र म्यूजिक अवार्डको आयोजना गरिँदै आइएको छ । केही अवार्डहरु घोषणाको क्रममा छन् भने केही अवार्ड इन्टरटेनमेन्ट भन्दा बाहिर खेलकूद, कृषि, प्रोफेशनल, एजुकेशन, आइटी अवार्ड जस्ता विषयमा आयोजना भइरहेका छन् ।

    अवार्डको आयोजना किन गरिन्छ ?
    अवार्ड भनेको गीतसंगीत, चलचित्र उद्योगमा लागेका कलाकारहरुलाई सम्मान र प्रोत्साहन गर्न आयोजना गरिने हो । अवार्डमा सहभागी भएका कलाकारहरुलाई निष्पक्ष र विवादरहित तरिकाले वर्षभरिको समिक्षा गर्दै उसको कला र सिर्जनालाई मूल्यांकन गर्दै अवार्ड प्रदान गरिने हो भने अवार्डका अवसर पारेर गीतसंगीत, चलचित्र क्षेत्रमा निरन्तर क्रियाशील रहेका स्रष्टालाई विभिन्न सम्मानबाट सम्मान गर्नका लागि अवार्ड आयोजना गरिएको हो । उनीहरुको कर्मशीलतालाई वर्षभरिको मूल्यांकनमा सम्मान गर्ने आगामी दिनमा सिर्जना अब्बल बनाउनका लागि प्रोत्साहन गर्ने अवार्डको मुख्य उद्देश्य हो । यसको सही मूल्यांकनमा रहेर सुरु सुरुका अवार्डहरुले धर्म निर्वाह गर्दै आएका छन् । करिब ६–७ वर्षको यात्रा पार गरिसकेका अवार्डहरुले स्रष्टाको सम्मानमा नै समय खर्चिएका छन् र आफूभन्दा आफ्नो उद्योगलाई लगानी गरेका छन् । ती कार्यहरु प्रशंसा गर्न लायक पनि भएका छन् ।
    तर पछिल्लो समयका अवार्ड आयोजना जो जति गरिएका छन् सबै व्यवसायका दृष्टिले आयोजना गरिएको छ । जहाँ अवार्डको फर्म खुलाइन्छ सामान्य फि लिएर फर्म भर्ने गरिन्छ । तर कुनै कुनै अवार्ड आयोजकले त अवार्डको उत्कृष्ट पाँचमा पार्नकै लागि फर्म भरिसकेपछि रु १० हजारदेखि ५० हजारसम्म लिएको कलाकार स्वयम् नै बताउँदै आएका छन् भने कति अवार्डमा कलाकारहरु नै मोलमोलाई गर्दै लाइन लाग्न थालेका हुन्छन् । त्यस्तै अवार्डहरुले गर्दा निष्पक्ष रुपमा अवार्ड आयोजना गरिरहेका आयोजकहरुलाई पनि एउटै तुलोमा जोखिन थालिएको छ ।

    के का लागि अवार्ड ?
    अवार्डलाई पछिल्लो समय विदेश जाने अस्त्रको रुपमा प्रयोग गरिन थालियो । अमेरिकाको ग्रीन कार्ड होस् या यूके, अष्ट्रेलियाको कार्यक्रम त्यहाँ पनि अवार्ड सम्मान पाएको डकुमेन्ट देखाउन पर्ने भएपछि दैनिक रुपमा बढ्दै गरेको कलाकारको जमात र विदेशमोहले अवार्डलाई किनबेच र व्यापारको रुपमा परिणत गरायो । सिर्जना हुनेभन्दा पनि पैसा हुनेले अवार्ड पाउने प्रचलनलाई अगाडि बढाउन थालियो । पछिल्लो समय खुलेका ‘टोले अवार्ड’हरुले उत्कृष्ट कलाकार भन्दा पनि उत्कृष्ट धनाढ्य खोज्न थालिएको देखिन्छ । अझ पछिल्लो समयमा ग्रीन कार्डको लागि पेश गरिरहेका कलाकारहरुले आफूले भोगेका समस्याहरुलाई देखाउँदै अवार्डको ठेक्कापट्टा गर्न थालेको पनि पाइन्छ । एकथरी कलाकार घरमा सधैं कलाकारिता भन्दै हिंड्ने, तर उत्कृष्ट नभएको भन्दै गाली खान थालेपछि पैसाको जोहो गरेरै भए पनि अवार्ड देखाएर घरमा उत्कृष्ट बन्नेहरुको पनि होडबाजी देखिने गरेको छ । केही कलाकारहरु कालो धनलाई सेतो बनाउन पनि दौडिएका छन् । पछिल्लो समय जसले धेरै पैसा दिन्छ त्यसैलाई अवार्ड प्रदान गर्ने नारा नै बनाइसकेका छन् । त्यति मात्र होइन १६० विधासम्म अवार्ड प्रदान गरिएको देखियो । नोमिनेशनमा परेका पाँचै जनालाई अवार्ड प्रदान गर्ने प्रचलनमा कलाकारहरु पनि मख्ख पर्दै लाइन लागेको अवस्था छ । व्यापारिक रुपमा मोलमोलाई गर्दै अवार्ड लिने र दिनेको संख्या दिनानुदिन बढ्दै गएपछि अमेरिकन दूताबासले पनि यसको छानबिन गर्दै आएको छ ।
    मुलुकमा उत्कृष्ट सिर्जना गर्नेहरु पछाडि पर्ने र कमजोर सिर्जना भएकाहरु दिनदिनै अवार्ड पाएको उपलक्ष्यमा सामाजिक सञ्जाल रङ्ग्याउने प्रचालन बढेपछि पैसा हुनेले गर्दा उत्कृष्ट सिर्जना पछाडि परेको अवस्था छ ।
    विदेशमा किन गरिन्छ अवार्ड ?
    विदेशमा अवार्ड आयोजना गरिनुको उद्देश्य अलि फरक छ । विदेशमा अवार्ड आयोजना गर्दा आयोजकलाई ठूलै फाइदा हुन्छ । अवार्डको उत्कृष्ट पाँचमा परेका कलाकारहरु आफैं पैसा तिरेर विदेशसम्म पुग्ने गरेपछि अवार्ड कार्यक्रम त्यसै पनि उत्कृष्ट बन्ने भो । अवार्ड लिन गएका कलाकारहरुबाट एउटा प्रस्तुति फ्रीमा नै पाउने भएपछि विदेशका आयोजकहरुलाई कुनै पनि सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि परेन । त्यहाँ अवार्डको नाममा टिकट बेचेर कमाइ पनि हुने भयो स्पोन्सर पनि बच्ने भए । कलाकारलाई लैजान पैसा पनि तिर्न परेन, पारिश्रमिक पनि दिन परेन । लौरो पनि भाँचिएन, सर्प पनि मरिहाल्यो भनेजस्तै हुन्छ त्यहाँका आयोजकलाई । फ्रीमा सांस्कृतिक कार्यक्रम पनि हुने पैसा तिरेर अवार्ड पनि लिने भएपछि कलाकारको डकुमेन्ट पनि बन्यो, आयोजकको व्यवसाय पनि नाफामा गयो । घुमाउने र घुम्ने रहरमा लाखौं लगानी गर्नेहरु अवार्ड लिने आफ्नो गीत, फिल्म वा सिर्जना कस्तो छ भनेर हेर्न छाडेर फेसबुकमा अवार्ड पाएको भन्दै पोस्ट्याउन थालेपछि उद्योग कतातिर ढल्किएको छ भन्ने प्रष्ट भइरहेको छ ।

    निष्कर्ष
    अवार्ड सम्मानको वातावरण बनाउने एउटा महोत्सव हो । गीतसंगीतलाई क्रियाशील बनाउने, नयाँ सिर्जनालाई प्रोत्साहन गर्ने र पुराना सर्जकहरुलाई सम्मान गर्ने थलो हो अवार्ड । गीतसंगीतको महाउत्सव बनाउनुपर्ने, चाडको रुपमा संस्कृतिलाई विकास गराउनुपर्ने, संस्कृतिसँगै पर्यटनलाई जोड्नुपर्ने तरिका अवार्ड गर्नु एउटा नमूना हुने थियो । तर पछिल्लो समय एकपछि अर्को अवार्ड जन्मिँदै गएपछि प्रजातान्त्रिक मुलुक सबैलाई समान अधिकार छ भन्दै गएपछि अवार्डको भीड भयो । यो भीड कसले बनायो भन्दा कलाकारले नै बनाए । कलाकारले कुन अवार्ड उपयुक्त हो भनेर चिन्न नसक्नु र आफ्नो सिर्जना आफैंले मूल्यांकन गर्न नजान्नु र लाज पचाउनु नै अवार्डको संख्यामा बृद्धि हुनु हो । संख्यात्मक अवार्ड भन्दा गुणात्मक अवार्ड हुनु जरुरी देखिन्छ । पछिल्लो समयका केही घटनाक्रमले गर्दा त अमेरिकन दूताबासले कुन अवार्ड विश्वसनीय छ भनेर खोज्न थालेको छ । सम्मानको भोको हुनेहरुले सिर्जनालाई ध्यान दिनै सक्दैनन् । सिर्जनाले अवार्ड पाउने हो कि पैसाले अवार्ड पाउने हो भन्ने कलाकारको भीडमा बुझ्न सकिएको छैन । वर्षौदेखि कलाक्षेत्रमा क्रियाशील खोज्नुपर्ने र आज रेकर्ड गर्नेले भोली अवार्ड पाउने वातावरण कलाकारबाटै बन्द हुनुपर्छ । अवार्ड लिनेका लागि लाइन लागेर मात्र डकुमेन्ट बन्ने होइन, डकुमेन्टका लागि कस्तो अवार्ड लिँदा ठीक हुन्छ भनेर छान्न सक्नु र सदाबहार बन्न सक्ने सिर्जना गर्न सक्नु उत्तम देखिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु