टुटेको प्रेमलाई शक्तिमा रुपान्तरण गरेकी बबिताको बह र ‘थियो एउटा मान्छे’

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७९, सोमबार

काठमाडौं । मानिसको जीवनमा घटनाहरु घटिरहेका हुन्छन् । कति घटना सुखमय हुन्छन् त कतिपय कहालीलाग्दा दुख बोकेका । भन्नैपर्दैन सुखले मानिसको जीवनलाई रोमाञ्चि बनाउँछ । अनि दुःखले दिक्दारी दिन्छ । तर कतिपयको लागि यात्रामा भोगेका दुःखका अनुभूति पनि जीवनका उर्जा र आधार बनिदिन्छन् । अनि उनीहरु दिक्दार भएर पनि दिक्दारीबाट थाक्न मान्दैनन् । अझ शक्तिशाली भएर यात्रा गर्छन् ।

यति बोल्न, लेख्न एउटा ताजा प्रसङ्गले अभिप्रेरित गरेको हो यो पंक्तिकारलाई । प्रसंग हो नेपाली सांगीतिक क्षेत्रमा भर्खरै सार्वजनिक भएको म्यूजिक भिडियो ‘थियो एउटा मान्छे’ र त्यसका सर्जक बबिता बानियाँ ‘जेरी’को ।

सबैलाई थाहा भएको कुरा हो केहि महिना अघि बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्री बीच सम्बन्ध बिच्छेद भयो । यो खबर सार्वजनिक भएसँगसँगै बबिता नराम्ररी टुटिन् । सम्बन्ध र आफ्नो प्रेमलाई सम्झेर भाव विव्हल भइन् । तर टुटेकी बबिता थाकिनन् । उनले त्यहि प्रेमलाई शक्ति र उर्जा बनाएकी छिन् सिर्जनात्मक रुपमा । आफनो पीडालाई आधार बनाएर गीत लेखेकी छिन् । ‘थियो एउटा मान्छे’ बोलको यस गीतमा उनले आफ्नो भोगाईबाट सिर्जित मनको बह पोखेकी छिन् ।

प्रत्यक्ष लोकदोहोरीमा लोकप्रिय बनेकी बबिताको यो गीत भने आधुनिक गीत हो । गीत सार्वजनिक भएसँगै उनको लेखन क्षमताको पनि चर्चा भइरहेको छ । दोहोरीमा शब्दकी खानी भनेर चर्चा कमाउँदै आएकी उनलाई आधुनिक गीतमा पनि बलियो सम्भावना रहेको भन्दै निरन्तरता दिन आग्रह गरेका छन् । गीतको कमेन्टमा कतिपयले उत्कृष्ट शब्द रचना भनेर तारिफ गरेका छन् भने कतिपयले शब्द, स्वर र संगीतको उत्कृष्ट तालमेल भन्दै कमेन्ट गरेका छन् । गीत मन परेर शेयर गर्नेहरु पनि बढीरहेका छन् ।

कमल विष्टको स्वर रहेको गीतमा बबिताको शब्द छ । सुर्य पुर्वछाने मगरको संगीत रहेको गीतमा बिबि अुनरागीको संगीत संयोजन रहेको छ । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट गोबिन्द बिक हुन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
मदन खड्का निर्देशित भिडियोमा गायक कमल विष्ट र बबिता स्वयं फिचर्ड छन् । गायकले चाहना रोधी घरमा गीत गाइरहँदा, बबिता भने ग्राहकको भूमिका गीत सुनेर भावुक बनेको देखाइएको छ । भिडियोमा दुर्गा पौडेलको छायांकन, र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

पाँच वर्षको प्रेम सम्बन्ध, तीन वर्षको वैवाहिक सम्बन्ध र जुनीजुनीको प्रेम टुटेपनि सम्झना टुट्न नसक्ने भन्दै उनले गीत लेखेको बताएकी छिन् । उनका अनुसार मिलेर चौथो वैवाहिक वर्षगाँठ मनाउन नमिले पनि कहिले भुल्न नसक्ने दिन भन्दै वर्षगाँठकै अवसरमा गीत ल्याएको हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु