जेरीको कथा वाचनको निर्णय र सांगीतिक यात्राको संयोग: भोलि युके उड्दै

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०८३, शुक्रबार २३:१९

काठमाडौं । चर्चित लोकदोहोरी गायिका बबिता बानियाँ क्षेत्री‘जेरी’ व्यावसायिक भागवत वाचन नगर्ने घोषणा गरेको भोलिपल्टै सांगीतिक कार्यक्रमका लागि युके प्रस्थान गर्ने भएकी छिन्। अध्यात्म र संगीतलाई सँगसँगै लैजाने उनको यो कदमले अहिले सामाजिक सञ्जाल र सांगीतिक क्षेत्रमा निकै चर्चा पाएको छ।

केही दिनअघि मात्र जेरीले सामाजिक सञ्जालमार्फत आफ्ना गुरुहरूको उपदेश शिरोपर गर्दै द्रव्य संकलन (पैसा कमाउने) उद्देश्यले व्यावसायिक रूपमा भागवत कथा वाचन नगर्ने स्पष्टीकरण दिएकी थिइन्। उनले कथा वाचनलाई व्यवसाय नबनाए पनि धार्मिक अध्ययन र सत्सङ्गलाई निरन्तरता दिने बताएकी थिइन्।

आध्यात्मिक क्षेत्रमा व्यावसायिक विश्राम लिएकी जेरीले आफ्नो मूल पहिचान ‘लोकदोहोरी’ लाई भने थप सशक्त रूपमा अगाडि बढाउने संकेत दिएकी छिन्। सोही क्रममा उनी भोलि (शनिबार) युकेमा आयोजना हुन लागेको ‘तीज धमाका २०२६’ का लागि त्यसतर्फ उड्न लागेकी हुन्।

युकेका लन्डन, एल्डरशट, रिडिङ र फोक्सटन जस्ता नेपाली बाहुल्यता रहेका सहरहरूमा आयोजना हुने तीज विशेष कार्यक्रममा जेरीले प्रस्तुति दिनेछिन्। यस सांगीतिक भ्रमणमा उनीसँगै चर्चित गायकहरू खुमन अधिकारी, चिज गुरुङ र रेशम फिरिरी पनि जाँदैछन्।

व्यावसायिक कथा वाचनको विसर्जन र सांगीतिक आकाशमा नयाँ उडानको यो संयोगलाई उनका प्रशंसकहरूले जेरीको जीवनको नयाँ मोडका रूपमा हेरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु