• बादल वर्षा बिजुली : नेपालमा निरन्तर ट्रेण्डिङमा, भारतमा भाइरल

    म्यूजिक खबर
    प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

    काठमाडौं । एउटा पुरानो भनाई छ ‘पुरानो सबै कुरा फेरि नयाँ बन्छ’ । यो भनाई यो समयमा समेत साँचो सावित भएको छ । त्यो पनि सांगीतिक क्षेत्रमा । १८ वर्ष पहिलेनै सार्वजनिक भएको गीत ‘बादल वर्षा बिजुली’ले यतिबेला चर्चा र लोकप्रियता कमाउन सफल भएको छ ।
    विशेषतः सबै उमेर समूहका मानिसबीच लोकप्रिय सामाजिक सञ्जाल ‘टिकटक’ मा यो गीत रोजाईमा परेपछि यो गीत भाइरलनै भयो ।

    १८ वर्षअघि प्रदर्शन भएको फिल्म ‘कर्तव्य’ मा समावेश ‘बादल वर्षा बिजुली’ बोलको गीतमा कलाकारदेखि सर्वसाधरणले टिकटक बनाए। यो गीत यतिबेला भाइरल भएपछि भन्न सकिन्छ यो गीतको भाग्य सायद १८ वर्षपछिलाई कोरिएको थियो ।

    टिकटकमा हिट भएसँगै गीतका सर्जकले नयाँ भिडिओ सार्वजनिक गरेका छन्। यो गीतले यतिबेला भारतमा समेत चर्चा बटुलेको छ । फेसबुक र इन्स्टाग्रामको रिल्स होस् या टिकटक सबैतिर नेपाली गीत ‘बादल वर्षा बिजुली’ भाइरल बनेको छ । यो गीतमा भारतीय युवतीहरुले नाचेको भिडियो रिल्समा देख्न सकिन्छ ।

    यो गीतको अडिओको प्रतिलिपी अधिकार फिल्मसँगै साईराम पिक्चर्सले लिएको थियो। गीतको नयाँ भिडिओ भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
    यो समाचार तयार पारिरहँदा गीतले मिलियन भ्यूज क्रस गरिसकेको छ । ६४८ कमेन्ट प्राप्त गीतमा पछिल्लो समय भारतीय श्रोताको कमेन्ट पनि आइरहेको छ । एउटा उत्कृष्ट नेपाली गीत र भिडियो भनेर तारिफ गरेका छन् । अहिले भिडियो म्यूजिक तर्फबाट ट्रेण्डिङको १६ औं स्थानमा रहेको छ । रिलिज भएको पाँचौं दिनबाट ट्रेण्डिङको यात्रा सुरुवात गरेको यस गीतले आज एघारौं दिन हुँदासम्म निरन्तर ट्रेण्डिङमैं छ ।
    गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन्। सुब्रत आचार्यले निर्देशन गरेको म्युजिक भिडिओमा विजु पार्की र कविता नेपालीको नृत्य देख्न सकिन्छ।

    करूणा थापाको शब्द रहेको गीतमा सचिन सिंहको संगीत छ। गीतको पुनः संगीत संयोजन गरिएको छ। पुरानो गीतमा फणीन्द्र राईले संगीत संयोजन गरेका थिए भने नयाँलाई उदयराज पौडेलले गरेका छन्।
    उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई विजेश पौडेलले सम्पादन गरेका हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु