बद्री र शान्तिको ‘चोली फेर्ने माया’ सार्वजनिक, समिक्षक र अतिथिहरुबाट प्रशंसा

म्यूजिक खबर
प्रकाशित: २० माघ २०८०, शनिबार

काठमाडौं । लोकगायक बद्री पंगेनी र गायिका शान्ति भण्डारीको स्वरबद्ध रहेको गीत ‘चोली फेर्ने माया’ भिडियो सहित सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनमा एक विशेष समारोहबीच उक्त म्यूजिक भिडियोलाई सार्वजनिक गरिएको हो ।

उक्त गीतमा गायक पंगेनी र गायिका शान्ति भण्डारीको आवाजसँगै शब्द र संगीत शिव हमालको रहेको छ भने सुदिप सागरले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा भने नायक तथा मोडल पुष्प खड्कासँगै गायक पंगेनी र गायिका भण्डारी आफूहरुले पनि अभिनय गरेका छन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियो मौसम हिमालीको निर्देशन छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको अध्यक्षता र सडक साधकको रुपमा परिचित प्रज्वल कुमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष हरिवल्लभ नेपाल, गीतकार एकनारायण भण्डारी, निर्देशक बाबुराजा केसी ‘उज्वल’, संगीत व्यवसायी सुवास रेग्मीले विशेष आतिथ्यता गरेका थिए । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव हरि डाँगी, म्यूजिक भिडियो कलाकार संघका कोषाध्यक्ष देबेन्द्र क्षत्रीले अतिथिको रुपमा आसन ग्रहण गरेका थिए । सँगै गीतको टिमलाई पनि आशन ग्रहण गराइएको थियो ।

गीतका स्रष्टा एवं सर्जक शिव हमालले धेरै मेहेनत गरेर गीत ल्याएको जिकिर गरे । उनले भने ‘गीत संगीतमा संलग्न हुँदै गर्दा आफूले पहिलो ‘क्रस’ मानेकी गायिका शान्ती भण्डारीसँग सहकार्य गर्न पाउनु आफैंमा भाग्यको कुरा हो ।’ उनले अझ अगाडि भने –गीतसंगीतमै जीवन समर्पण गरेका व्यक्तित्वहरुको माझमा आफूले लेखेको र संगीत भरेको गीतलाई विमोचन गर्न पाउनु झनै खुशीको कुरा हो ।

यस्तै, गायक बद्री पंगेनीले आफूले सांगीतिक निरन्तरताको एउटा उपजका रुपमा ‘चोली फेर्ने माया’लाई ल्याएको बताए । गीतलाई लहडैलहडमा राम्रो छ भनेर शेयर गर्न भन्दा पनि हेरेर सहि प्रतिक्रिया सहित शेयर गरिदिन आग्रह गरे । यस्तै फ्यान र पत्रकारहरुको आजकाल ‘तपाईं कता हराउनु भयो’ भन्ने प्रश्नको सामना गर्न पनि सञ्चारकर्मीको सहयोगमा यो गीत सार्वजनिक गरिएको बताए । उनले अझै भने –उसो त म कहिले हराएको होइन र छैन, तपाईंहरुले बीच–बीचमा आएका मेरा सिर्जनालाई देख्न÷सुन्न भ्याउनु नभएको मात्र हो । यो गीतलाई भने मेरा सबै फ्यान र शुभचिन्तक माझ पू¥याई ‘कता हराउनु भयो’ भन्ने प्रश्नबाट जोगाइदिन सञ्चारकर्मीहरुलाई अनुरोध गरे ।

त्यसैगरि, म्यूजिक भिडियोका निर्देशक मौसम हिमाली र मोडल पुष्प खड्काले पनि मन्तव्य राखेका थिए । उनीहरुले उत्कृष्ट टिमसँग मिलेर काम गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमका विशेष अतिथी एवं समिक्षक सुवास रेग्मीले भने गीतको ‘विमोचन कार्यक्रम’ नभई कुनै क्यामेरा सम्मेलन जस्तो भान भएको व्यंग्य गरेका थिए । उनले आफू पुरानो मान्छे समाचार सुन्ने, हेर्ने र पढ्ने आदतले हुर्किएको तर आजकाल ती सबै युट्युबले ठाउँ लिएको भन्दै घुमाउरो पाराले व्यंग्य गरेका थिए । उनले गीतको अडियो भिडियो दुबै उत्कृष्ट भएको भन्दै ‘चोली फेर्ने माया’ टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।

यस्तै अर्का समिक्षक एकनारायण भण्डारीले पनि गीतको शब्द अनुसार संगीत भएको र शब्द र संगीतलाई गायक गायिकाको स्वरले न्याय गरेको बताए । त्यस्तै गीतको अडियो जति सुनिरहुँ छ, भिडियो पनि उस्तै हेरिरहुँ लागेको उनले बताए ।

त्यस्तै मन्तव्यकै क्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष हरिबल्लभ नेपालले -बद्री पंगेनी आफैंमा स्थापित नाम हो, यो नाममा यो गीतले अझ शिखरमा पू¥यायोस् भन्दै सिंगो गीतको टिमलाई बधाई तथा सफलताको शुभकामना दिए । उनले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको विगत र वर्तमानलाई पनि जोडेका थिए । मन्तव्यकै क्रममा विशेष अतिथि बाबुराजा केसी ‘उज्वल’ पनि सांगीतिक क्षेत्रमा एउटा राम्रो सिर्जना थपिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि सडक साधकको रुपमा परिचित प्रज्वल कुमालले बद्री पंगेनीका हरेक गीत समाजसँग जोडिएका हुने र अहिलेको गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास राखे ।

कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले नेपाली लोक गीतको क्षेत्रमा गायक पंगेनीको योगदान अतुलनिय रहेको र अहिलेको सिर्जनाले पनि दर्शक तथा स्रोताको मन जित्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका बरिष्ठ उपाध्यक्ष सुदर्शन आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले सञ्चालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु