सकारात्मक प्रतिक्रिया पाउँदापाउँदै पनि ‘बैना हजुर’ले किन कमाएन उल्लेखनिय भ्यूज ?

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार

काठमाडौं । पछिल्लो समयको गीतसंगीतलाई हेर्दा मन बुझाउने ठाउँहरु खोज्नुपर्ने हुन्छ । गीत संगीतमा पहिला ‘पर्चेज’को चर्चा हुन्थ्यो । तर अहिले ‘ट्रेन्डिङ’, भ्यूज र करोड क्बलको चर्चा हुन थालेको छ । पछिल्लो डिजिटल बजारमा आइपुग्दा स्रष्टा, सर्जक, निर्माताहरु पनि धेरै बुझ्ने र प्रतिस्पर्धा गर्ने भइसकेका छन् ।

एउटा नयाँ प्रतिभा भित्रिन नपाउँदै सिंगो संगीत उद्योग उसकै थाप्लोले बोक्नु पर्ने झैं गरिन्छ । आफ्ना प्रोजेक्टलाई अरु कसैले न्याय गर्दैन भने झैं सबैले उसैलाई तातातान गरिन्छ । अनि कमाउँछन् भ्यूज, चर्चा र तय गर्छन् ट्रेण्डिङको यात्रा । बुझेकैहरुबाट यस्ता गल्ती दोहोरिदै आएका छन् । कनीकनी गाएको जस्तो सुनिने÷ जबरजस्ती नाचेको देखिने र अनेकौं तिकडम अपनाएका गीतले ३ दिनमा मिलिनयन भ्यूज पार गरेका छन् । तर राम्रो साधकले गाएको, मीठो संगीत भएका गीतको भ्यूजमा खडेरी लागेको चर्चा आजभोली चोकचोकमा हुने गरेको छ । यसको ज्वलन्त उदाहरण हो – १५ दिन अघि बजारमा आएको गीत ‘बैना हजुर’ । गीतलाई बिन्ध्यवासिनी म्युजिकले ‘ड्रिम प्रोजेक्ट’का रुपमा प्रस्तुत गरेको हो । तर आज पन्ध्र दिन पुगिसक्दा गीतले बल्ल जम्मा १ लाख भ्यूजको यात्रा तय गरेको छ ।

फागुन २ गते अपलोड गरिएको यो गीतले पाउनुपर्ने जति भ्यूज नकमाएको विषयमा चियागफ चलिरहेको छ । नचलोस् पनि कसरी ? गीत सुन्दा – शब्द सुन्यो उस्तै मीठो छ । गायकी सुन्दा आनन्द लाग्ने छ । स्वरसँग संगीत र संगीत संयोजनको तालमेल पनि बेजोडकै छ । भिडियो तर्फ पनि कलाकारले आ–आफ्नो विधामा न्यायपूर्वक काम गरेकै छन् ।

गीतमा लोकप्रिय गायक शिरीष देवकोटाले र गायिका सुनिता बुढा क्षेत्रीको कर्णप्रिय स्वर सुन्न सकिन्छ । शब्द र लय पनि गायक श्रीस देवकोटाकै रहेको छ । गीतको एरेन्ज श्यामश्वत रसाइलीले गरेका छन् ।
भिडियोमा दिक्पाल कार्की र अनु शाह फिचर्ड छन् । मौसम हिमालीको निर्देशन तथा बुद्ध थापाको छायांकन रहेको म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । युटुवमा सोचेअनुरुप भ्यूज नआएता पनि ९९ प्रतिशत कमेन्टमा भने गीतको तारिफ नै गरिएका छन् । यसले पनि सिद्ध गर्छ कि गीत उत्कृष्ट बनेको छ । तर, यति उत्कृष्ट म्युजिक भिडियो किन चर्चाको शिखरमा पुगेन ? किन राम्रो भ्यूज आएन, किन ट्रेण्डिङमा प्रवेश गरेन ? यहि गीतलाई उदाहरण दिएर सोच्नु र वहश पर्ने देखिन्छ ।

हुनत, कुनै पनि गीत युटुबको भ्यूज र ट्रेन्डिङ नै उत्कृष्टताको मापन त होइन । र, त्यसले बम्पर कारोबार गर्ने पनि होइन । युटुबको ट्रेन्डिङमा लामो समय बसेका गीतहरु र राम्र भ्यूज पाएका गीत पनि कहिले आए कहिले गए पत्तो हुँदैन । तर, अहिले नेपाली सांगीतिक क्षेत्रका लागि युटुबको ट्रेन्डिङ र भ्यूज सफलताको एउटा कडी मानिंदै आएको छ ।

राम्रो गीतले राम्रो भ्यूज पाउँन नसक्दा मलाई त टाउको दुखाइको बिषय बन्यो भने । गीतको टिम र अझ गीतलाई प्रस्तुत गर्ने बिन्धबासिनीको टिमलाई कस्तो महशुष भएको होला ?
अब्बल कलाकारहरुसँगको सहकार्य भएको, सकारात्मक प्रतिक्रिया पाउन सफल भएको र सामाजिक सञ्जालमा पनि खुबै शेयर भइरहेता पनि गीतले उल्लेखनिय भ्यूज बटुल्न किन सकेन ? यसको जवाफ कसले दिन सक्ला – निर्माणपक्ष, गीतका सम्बन्धीत कलाकार वा कलाकारको हक अधिकारका लागि लडिरहेका सांगीतिक अभियन्ता ??
– सबिता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु