गायक दीप श्रेष्ठ र संगीतकार शक्ति वल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०८०, आईतवार
Bhaktaraj Acharya Music Foundation

काठमाडौं । भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ गायक दीप श्रेष्ठ र संगीतकार शक्ति वल्लभलाई प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ बाट यस वर्ष श्रेष्ठ र वल्लभलाई सम्मानित गरिएको हो । यसको पुरस्कार राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।
‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी सिंहलाई प्रदान गरिएको छ । ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएका तथा औषधि उपचार गर्नबाट बञ्चित भएका संगीतकर्मीलाई दिन सुरु गरिएको हो । यसको पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ ।
सम्मान ग्रहणपछि बोल्दै संगीतकार शक्ति वल्लभले भजन शिरोमणि भक्तराज आचार्य संगीतको विश्वविद्यालय भएको बताएका छन् । संगीतका साधक भक्तराज आचार्य आफूलाई मनपर्ने गायक भएको भन्दै उनी नेपाली सांगीतिक क्षेत्रको विश्वविद्यालय भएको बताए ।
उनले भक्तराज आचार्यलाई उनका छोराहरू सत्यराज आचार्य र स्वरुपराज आचार्यले संगीतको विश्वविद्यालय बनाएको बताए । “सुरुमा भक्तराज आचार्य संगीतको स्कुल हुनुहुन्थ्यो । यो स्कुललाई अहिले सत्य र स्वरुपले संगीतको विश्वविद्यालय बनाएका छन्,” शक्ति वल्लभले भने, “यसलाई सत्य र स्वरुपले अझै बृहद बनाउँदै लैजाने मेरो विश्वास छ ।”
त्यस्तै गायक दीप श्रेष्ठले नेपाली सांगीतिक क्षेत्रमा भक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताए । रेडियो नेपाललाई उनले ठूलो योगदान दिएको दीपले बताए । रेडियो नेपाललाई गीत र संगीतको माध्यमबाट भरिपूर्ण बनाउने काममा आचार्यको महत्वपूर्ण योगदान रहेको बताए । ‘उहाँसँग जहिले पनि संगीत सिर्जना स्टक रहन्थ्यो, जसले रेडियो नेपाललाई खाली हुन दिएन’ गायक श्रेष्ठले भने ।
कार्यक्रमको स्वागत मन्तव्य सिटी एक्सप्रेसको तर्फबाट चन्द्र टण्डनले दिएका थिए भने कार्यक्रम संचालन नवीन दाहालले गरेका थिए । त्यस्तै कार्यक्रममा संगीतकार शक्ति वल्लभ र गायक दीप श्रेष्ठलाई ट्रिब्यूट गर्दै उनीहरुकै गीतबाट गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य र सुरज कुमार थापाले गीतहरु गएका दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु