‘सानो मन’को गीतमा बलीउडका कोरियोग्राफर साजन सिंहको निर्देशन

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७५, बिहीबार
काठमाण्डौ। यतिबेला छायांकनमा रहेको नेपाली चलचित्र ‘सानो मन’को एक गीतको भिडियोलाई बलीउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् ।  रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको  स्वरमा रहेको ‘रानु कम्मर’ बोलको पार्टी गीतमा चलचित्रका मूख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन् ।
 बलीउडका कोरियोग्राफर साजन बलीउड सुपरस्टार सलमान खानका ‘पर्सनल डान्स ट्रेनर’ समेत हुन् । बलीउडका प्रख्यात कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका साजनले अहिले भने आफैले कोरियोग्राफी गर्दै आएका छन् । साजनले बलीउडका चर्चित चलचित्रहरु ‘एबिसिडी’ र ‘एबिसिडी २’मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए । उनले डान्स इण्डिया डान्सको दुई सिजनमा सहभागिता जनाएका थिए । साजनका सहयोगी आशिष बशिष्ठ पनि छायांकनको बेला नेपाल आएका थिए । आशिष ‘डान्स इण्डिया डान्स सिजन ५’मा उत्कृष्ट चारसम्म पुग्न सफल भएका थिए ।
”रानु कम्मर’को भिडियो आर्थीक हिसाबले जति महंगो हुन पुगेको छ त्यो भन्दा बढि क्वालिटीमा समेत देख्न पाईने छ’ चलचित्रका निर्देशक सुयोग गुरुङ्गले बताए । यो गीतको छायांकन राजधानीको एक रिसोर्टमा भएको हो ।
म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने ‘सानो मन’ छायांकनको अन्तिम चरणमा रहेको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । चलचित्र ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।
समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बनिरहेको छ । आलोक शुक्लाले छायांकन गरिरहेका छन् । चलचित्रमा मनिष राईको कस्ट्युम रहेको छ भने प्रोडक्सन डिजाईनर यम प्रसाद ओली हुन् । रित बोहरा चलचित्रका मूख्य सहायक निर्देशक हुन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु