• र्‍यान्डम रिडर्समा बोराको चर्चा

    म्यूजिक खबर
    प्रकाशित: २७ श्रावण २०८१, आईतवार

    पोखरा, साउन २६ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ को परिचर्चा गरेको छ ।
    सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा लेखक राजिन पनेरूले कृतिको परिचर्चा गरेका थिए । ‘नाट्यसमालोचना’ का रूपमा अवधारणापत्र प्रस्तुत गर्दै पनेरूले आमाप्रति उच्च सम्मान व्यक्त गर्ने र आमालाई हेला गर्ने सबैले पढ्नैपर्ने उपन्यासका रूपमा बोराको चर्चा गरे । “यो ममत्वको कथा हो, मातृत्वले भरिएको आमाको आरोह–अवरोहको कथा हो” पनेरूले भने, “यो धर्तीरूपी आमाले दिने महान् क्षमा र करुणाको कथा हो ।” बोरालाई उनले आदर्शोन्मुख सामाजिक यथार्थवादी धाराको उत्तरवर्ती चरणको महŒवपूर्ण कृतिका रूपमा चिनाए । पुस्तकमा समावेश गरिएका सूक्तिमय वाक्यहरूले कृतिलाई मर्मस्पर्शी र वैचारिक दृष्टिले समेत बलियो बनाएका पनेरूको भनाइ थियो । पद्मकन्या क्याम्पसका उपाप्राध्यापकसमेत रहेका समालोचक पनेरूले कथा संरचना, पुस्तकीय सूक्ति, बोरा संवेदना, तुलना, अतिशयोक्ति, तथ्य गडबडी, नियति, लाचार प्रवृत्ति र मानवता पात्र राखेर कृतिको परिचर्चा गरेका थिए ।
    पत्रकार तथा उपन्यासकार अखण्ड भण्डारीले आफूले रिपोर्टिङका क्रममा भेटिएको यथार्थ घटनालाई आधार मानेर उपन्यास लेखेको बताए । पाठकहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले उपन्यासमा आएका कतिपय पात्रहरूको चरित्रमा नाटकीय परिवर्तन देखिएको स्विकारे । परिस्थितिले असल मानिसलाई खराब र खराबलाई असल बनाउन सक्ने यथार्थविमुख हुन नसकिने उनको धारणा थियो । उनले उपन्यासप्रति पाठकले दिएको मायाले आफू उत्साहित भएको अनुभव सुनाए । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक रहेका भण्डारीको यसअघि मलाया एक्सप्रेस (उपन्यास) र समाचारको भाषा कृति प्रकाशित छन् ।
    कार्यक्रममा सोम सापकोटा, बाबुराम सुवेदी, गनेस पौडेल, ईशा शाह, कृष्णमुरारी पौडेल, भरतमणि भट्टराईलगायतले टिप्पणी गरेका थिए । सोसाइटीका सचिव नेपालप्रकाश अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
    सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ । बोराको परिचर्चा सोसाइटीको १०८ औँ शृङ्खला हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु