
काठमाडौं । लोकप्रिय नेपाली म्यूजिक भिडियो निर्देशक प्रकाश भट्टको निर्देशनमा कुमाउको म्यूजिक भिडियो ‘चाहको होटल–२’ सार्वजनिक भएको छ । मशकवीन स्टुडियोको निर्माणमा बनेका आधा दर्जन गीतको म्यूजिक भिडियो निर्माणका लागि भारतको दिल्ली हुँदै उत्तराखण्ड पुगेका निर्देशक भट्टले ‘चाहको होटल–२’ को म्यूजिक भिडियो छायाँकन गरी सार्वजनिक गरेका हुन् । यतिबेला निर्देशक भट्टको नेतृत्वमा नेपालका टेक्निकल टिम भारतमा नै रहेर अन्य भिडियोहरुको काम गरिरहेका छन् ।
‘चाहको होटल–२’ मा श्वेता महरा र अजय सोलङ्कीको अभिनय रहेको छ । मनोज आर्य र ममता आर्यको स्वर रहेको ‘चाहको होटल–२’ मा असीम मंगोलीको संगीत रहेको छ । गिरीश जिनाको शब्द सिर्जना रहेको ‘चाहको होटल–२’को संगीत प्रोड्युसर भने निशाद चन्द्र हुन् ।
‘चाहको होटल–२’ को म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने एसिस्टेन्ट डाइरेक्टर सतिश आर्य र रितिक क्होली रहेका छन् । क्रियटिभ हेडका रुपमा अजय बेरी रहेका छन् । डाइरेक्टर अफ फोटोग्राफीमा करण चैंसिर रहेका छन् भने सियोन श्रेष्ठ र अंकित कुमारको कोरियोग्राफी रहेको छ ।
मशकविनकै निर्माणमा यसभन्दा अघि पनि ‘चाहको होटल’ म्यूजिक भिडियो निर्माण भइसकेको छ भने कुमाउकै गीतहरु नेपालमा पनि प्रकाश भट्टकै निर्देशनमा भिडियो निर्माण भइसकेको छ । यतिखेर भारतको उत्तराखण्डको रमणीय लोकेशनमा भिडियो निर्माणका काम गरिरहेका निर्देशक भट्टले २५ वर्षसम्म नेपालमा गरेको योगदानलाई छिमेकी मुलुकमा पनि देखाउन सफल भएका छन् ।