
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘चमेलीको पोइ’ को ट्रेलर आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्मको करिब पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ।
हाँस्दाहाँस्दै आँसु झार्नुपर्ने अवस्था सिर्जना हुने संकेत दिने ट्रेलरले पारिवारिक सम्बन्धलाई कथाको मूल आधार बनाएको देखिन्छ। फिल्म असोज १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।
निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनात्मक फिल्म भएको बताए। दर्शकलाई साढे दुई घण्टासम्म पूर्ण मनोरञ्जन दिने उद्देश्यले फिल्म निर्माण गरिएको उल्लेख गर्दै उनले फिल्मले भावनात्मक रूपमा समेत दर्शकको मन छुने विश्वास व्यक्त गरे।
करिब १८ वर्षको अन्तरालपछि यही फिल्ममार्फत ठूलो पर्दामा पुनरागमन गरेका चर्चित हास्य अभिनेता नारायण त्रिपाठीले ‘चमेलीको पोइ’बाट आफू निकै आशावादी रहेको बताए। अमेरिकामा आयोजित विशेष शोबाट दर्शकको माया र साथ पाएपछि आफू अझ उत्साहित भएको उनको भनाइ छ।
‘अमेरिकामा रहेपछि म नेपाली चलचित्रमा पुनरागमन गर्न चाहन्थें। बीचमा आफैं फिल्म निर्माण गर्ने प्रयास पनि गरेको थिएँ, तर परिस्थितिले साथ दिएन,’ उनले भने, ‘अहिले यो फिल्ममार्फत पुनः दर्शकमाझ आउँदैछु। यो मेरो अहोभाग्य हो। म पहिलाजस्तै फिल्म अभिनयमा निरन्तर हुन चाहन्छु।’
दुई दशकअघिसम्म ‘प्रेमचरो’ उपनामले फिल्म तथा सानो पर्दामा चर्चित त्रिपाठी अमेरिका गएपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए।
अभिनेता मुकुनले ‘चमेलीको पोइ’ले बेजोड हँसाउनुका साथै केही स्थानमा गम्भीरसमेत बनाउने बताए। आफूले यसअघि यति धेरै कमेडी समेटिएको फिल्ममा काम नगरेको उल्लेख गर्दै उनले भरपुर मनोरञ्जनका लागि फिल्म नछुटाउन दर्शकलाई आग्रह गरे।
अर्का अभिनेता विल्सन विक्रम राईले फिल्म मनोरञ्जनले भरिपूर्ण रहेको बताए। उनले हास्य अभिनेता नारायण त्रिपाठीसँग बाल्यकालमै ‘साथी’ फिल्ममा स्क्रिन सेयर गरेको स्मरणसमेत गरे।
यसै फिल्ममार्फत ठूलो पर्दाको यात्रा सुरु गरेका **उमेश राई (फुलन्देकी आमा)**ले पनि आफू फिल्मप्रति निकै आशावादी रहेको बताए।
अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’पछि दोस्रोपटक सहकार्य गरेको उल्लेख गर्दै ‘चमेलीको पोइ’मा आफूले खोजे–चाहेजस्तै कथा, परिवेश, पात्र र चरित्रमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन्। मुकुन र नारायण त्रिपाठीजस्ता दिग्गज कलाकारसँग अभिनय गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै उनले फिल्म हरेक कोणबाट मनोरञ्जक बनेको दाबी गरिन्।
निर्माता रामनारायण उपाध्यायले उत्कृष्ट फिल्म निर्माणका लागि आफूहरूले कुनै कसर बाँकी नराखेको बताए। दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले फिल्म निर्माण गरिएको र यसमा सामाजिक सद्भाव तथा पारिवारिक प्रेमको कथासमेत समेटिएको उनको भनाइ छ।
शेरबहादुर तामाङले छायांकन गरेको फिल्मको लेखनमा निर्देशक बोहरालाई शिवम अधिकारीले सहयोग गरेका छन्। धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, मुकुन, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई (फुलन्देकी आमा), अंशु महर्जन, बाबिन राई, तारा शर्मा, खड्गबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी, श्रेया नारायणलगायतको अभिनय छ।
सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य छन्। धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर तथा नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सह–निर्माता रहेका छन्।
फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई आरआर फिल्मस्ले देशव्यापी वितरण गर्दैछ।