• कलाकार चेत बहादुर सिंह ‘राजा’को निधन

    म्यूजिक खबर
    प्रकाशित: १६ फाल्गुन २०८१, शुक्रबार

    काठमाडौँ । लोकप्रिय कलाकार तथा नेपाल चलचित्र कलाकार संघको पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ । उनको शुक्रबार दिउँसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको कलाकार तथा कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।

    चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काले सामाजिक सञ्जालमा दिवंगत कलाकार सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘यस्तो अकल्पनीय, अपत्यारिलो खबर सूचना गर्नु पर्दा आफूले मन थाम्न नसकेको’ उल्लेख गरेका छन् ।‘मर्माहत भयौँ, भावपूर्ण श्रद्धाञ्जली ‘चेत राजा’, पूर्व अध्यक्ष खड्काले भनेका छन्– ‘कलाकार संघका पूर्व केन्द्रिय महासचिव चेत बहादुर सिंह ‘राजा’ भर्खरै हामीबाट कहिल्यै नफर्किने गरि उपचारको क्रममा टिचिङ अस्पतालबाट विदा हुनु भएको दुःखद खवर आयो ।’

    चलचित्र निर्मातासमेत रहेको कलाकार सिंह पछिल्लो केही समयदेखि अस्वस्थ थिए । उनी पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित थिए । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका कलाकार सिंहको उपचारकै क्रममा निधन भएको हो ।

    कलाकार ढकालद्वारा दिइएको जानकारी अनुसार शुक्रबार साँझ नै पशुपति आर्यघाटमा कलाकार सिंहको अन्त्येष्टि गरिने तयारी थालिएको छ । म्यूजिक खबर परिवार कलाकार चेतबहादुर सिंह ‘राजा’प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु