आकाशलाई चेतन कार्की स्मृति पुरस्कार तथा बबिता र गीतालाई निशा स्मृति पुरस्कार दिइने

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार

काठमाडौं- नेपाली फिल्म क्षेत्र एवं नेपाली गीत-संगीत क्षेत्रका विशिष्ट साधक स्व. चेतन कार्कीको स्मृतिमा स्थापना गरिएको चेतन कार्की स्मृति पुरस्कार र अभिनेत्री मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएको निशा स्मृति पुरस्कार २०८१ वैशाख १३ गते श्रष्टाहरुलाई अर्पण गरिने भएको छ ।

परिवर्तन नेपालको कार्य सम्पादन समितिको बैठकले विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्म उद्योगको संरक्षण, प्रवर्द्धन, श्रीवृद्धि तथा पेशाकर्मीको उत्थानका लागि संस्थागत एवं व्यक्तिगत तवरले नेपाली फिल्म निर्माण, निर्देशन र अभिनयको माध्यमबाट पुर्याएको योगदानको लागि निर्माता, निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई २०८० सालको चेतन कार्की स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ ।

चलचित्रकर्मी मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी शान्तिप्रियको सम्मिलित छनौट समितिको सिफारिसमा अधिकारीलाई पुरस्कार अर्पण गर्ने निर्णय भएको छ ।

१५ हजारको थैलीसहित सम्मान प्रदान गरिने चेतन कार्की स्मृति पुरस्कार गत साल अभिनेता निर्देशक देशभक्त खनाललाई अर्पण गरिएको थियो ।

यसैगरी निशा संरक्षण कोषका अध्यक्ष समाजसेवी दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले विगत १५ वर्षदेखि नेपाली चलचित्र, मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गर्दै आएकीे अभिनेत्री अनु शाहलाई उनले नेपाली फिल्म, म्यूजिक भिडियोप्रतिको साधना समर्पणको उच्च मुल्याङ्कन गर्दै २० हजार नगद थैलीसहित को निशा स्मृति पुरस्कार, विगत १५ वर्षभन्दा बढी समय देखि अभिनय, मोडलिङ र गायन क्षेत्रम सक्रिय रहनु भएका श्री बबिता ढकाललाई २० हजार नगद थैली सहित निशा स्मृति प्रतिभा पुरस्कार र विगत २ दशक भन्दा बढी समय देखि चलचित्र पत्रकारिताको माध्यमबाट नेपाली कला, संस्कृति, फिल्म क्षेत्र एवं पेशाकर्मीको उत्थानमा योगदान पुर्याउँदै आएकी संचारकर्मी गीता अधिकारीलाई नगद १० हजार थैली सहित निशा स्मृति पत्रकारिता पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ ।

उक्त पुरस्कार समाजसेवी दुर्गानाथ दाहाल, चलचित्रकर्मी मोहन निरौला, अभिनेत्री पवित्रा आचार्य सम्मिलित छनौट समितिको सिफारिसमा निर्णय गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु