
काठमाडौं । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको प्रतिष्ठित ‘छिन्नलता गीत पुरस्कार’ यस वर्ष गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठसहित सांगीतिक क्षेत्रका पाँच नक्षलाई प्रदान गरिएको छ ।
छिन्नलता गीत पुरस्कार गुठीद्वारा शनिबार आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले पुरस्कार प्रदान गरेका हुन्। यस अवसरमा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ गायक मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको हो। उक्त सम्मानको राशि रु १ लाख रहेको छ।
त्यसैगरी, गीत रचनातर्फ गीतकार डा. नवराज लम्साल, सङ्गीत सिर्जनातर्फ सङ्गीतकार किरण कँडेल र गायनतर्फ गायिका विमला राईलाई जनही रु १ लाख राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरिएको छ। यस्तै, गायिका सारिका घिमिरेलाई ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ, जसको राशि रु ५० हजार रहेको छ।
पुरस्कार ग्रहणपछि गीतकार डा. लम्सालले गीत सभ्यताको आधार र गीतकार त्यस सभ्यताको बीज भएको उल्लेख गर्दै आफ्ना सिर्जनालाई सङ्गीत र स्वरमार्फत जीवन्त बनाइदिने सङ्गीतकार तथा गायक–गायिकाप्रति आभार व्यक्त गरे।
गुठीका सचिव तथा साहित्यकार दिनेश अधिकारीले नेपाली गीत–सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका गीतकार, सङ्गीतकार तथा गायक–गायिकालाई २०३९ सालदेखि गुठीले निरन्तर सम्मान गर्दै आएको जानकारी दिए।
गुठीका अनुसार हालसम्म ४० जना गीतकार, ३९ जना सङ्गीतकार, ४१ जना गायक–गायिका तथा ४१ जना युवा प्रतिभा यस पुरस्कारबाट सम्मानित भइसकेका छन्। गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्तीको अवसर पारेर पुरस्कार वितरण गरिएको हो।
समारोहमा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंहले कविता वाचन गरेका थिए भने पुरस्कृत कलाकार विमला राई र सारिका घिमिरेले सांगीतिक प्रस्तुति दिएका थिए।
उक्त पुरस्कारबाट यसअघि नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, तारादेवी, अम्बर गुरुङ, कोइलीदेवी माथेमा, गोपाल योञ्जन, दीप श्रेष्ठ, भक्तराज आचार्य, डा. कृष्णहरि बराल, दिनेश अधिकारी, वसन्त चौधरीलगायतका विशिष्ट स्रष्टा सम्मानित भइसकेका छन्।