गायिका चिजा तामाङको नेतृत्वमा गोरखा सांस्कृतिक समाजको नयाँ कार्यसमिति चयन

म्यूजिक खबर
प्रकाशित: ४ कार्तिक २०८२, सोमबार ०१:१९

काठमाडौं । गोरखा सांस्कृतिक समाजको पाँचौं अधिवेशनबाट गायिका चिजा तामाङ नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समाजले असोज ३१ गते सम्पन्न भएको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट महिला नेतृत्व पाउन सफल भएको हो ।
गायिका तामाङ अध्यक्षतामा रहेको २५ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हरिराम परियार, प्रथम उपाध्यक्ष मिरा गोर्खाली, द्वितीय उपाध्यक्ष सुमन परियार, महिला उपाध्यक्ष बेलीमाया पुलामी, उपाध्यक्ष दिप गुरुङ र रायन बस्याल रहेका छन् । त्यस्तै महासचिवमा टेक बहादुर गुरुङ निर्वाचित भएका छन् भने उपमहासचिवमा सचिन भट्टराई चयन भएका छन् । त्यस्तै सचिवमा सबिता पोखरेल र महिला सचिवमा रेश्मा तामाङ चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा मधु रसाइली र सहकोषाध्यक्षमा सरिता भारतीय चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रेजिना परियार, देवी आले, भीमा गुरुङ, खेम तिवारी, सुस्मिता गुरुङ, बसन्त श्रेष्ठ, चिज कुमार गुरुङ, गोविन्द भट्ट र कृष्ण लामिछाने रहेका छन् । समाजको २५ सदस्यीय कार्यसमितिमध्ये २३ जना निर्वाचित भएका हुन् भने दुई सदस्य कार्यसमितिले पछि मनोनित गर्नेछन् । राति अबेरसम्म भएको निर्वाचन प्रक्रियामा वरिष्ठ उपाध्यक्षको पदमा गायक हरिराम परियार र लबकुमार भट्टको मात्र मतदान भएको थियो भने सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित कार्यसमितिमा नारीशक्तिको बर्चश्व रहेको छ । कार्यसमितिको अवधि दुई वर्षको रहनेछ । निर्वाचन कमिटिमा समाजका कानूनी सल्लाहकार कपिलचन्द्र पोखरेल प्रमुख निर्वाचन अधिकृतका रुपमा रहेका थिए भने राजु अधिकारी, युवराज पोखरेल र दिपक अर्याल निर्वाचन अधिकृतका रुपमा रहेका थिए ।
२०७२ साल चैत १८ गते स्थापना भएको यस गोरखा सांस्कृतिक समाजमा दिपसागर थापा, बीरबल ढकाल, सुमन पण्डित र सुनिल लामिछानेको नेतृत्वपछि महिला नेतृत्वमा गायिका चिजा तामाङ निर्वाचित भएकी हुन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु