
४ साउन, काठमाडौं । संगीतकार दिपक शर्माले पीडा यसरी पोखे – ‘आफ्नो जिन्दगीको धेरै सपना भएर मुग्लान छिरें दुःख गरें तर घर फर्किंदा प्यारी घरमा नभएपछि कस्तो हुन्छ होला सोच्न पनि सकिनँ ।’
यो उनले गाएको गीतको कथा थियो तर वास्तवमा उनको यथार्थ घटना थिएन । यो समाजको यथार्थ घटनाभित्र उनले संगीत सिर्जना गरेर आफ्नै शब्दमा गीत गाएका हुन् ।
नेपाली संगीत क्षेत्रमा एकपछि अर्को हिट गीत ल्याएर चर्चामा रहेका गीतकार तथा संगीतकार दीपक शर्माले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। शर्माले हालै सार्वजनिक गरेको गीत ‘छैनन् पियारी’को लिरिकल भिडियोले एउटा समाजको यथार्थतालाई बोलेको छ ।
उनले विशेषगरी विदेशमा धन कमाउन गएका युवाहरु घर फर्किदा आफ्नो श्रीमानले श्रीमती गुमाउनु पर्दाको पीडालाई नजिकबाट देखाएका छन्। आफ्नो देश छोडेर धन कमाउने सुन्दर सपना देख्दै प्रवासमा संघर्ष र त्यो सघर्षपछि खुशी साट्न घर आइपुग्दा परिवारलाई गुमाउनु पर्दाको पीडालाई शर्माले गीतमा उतारेका हुन्।
शर्माकै शब्द र स्वरमा सजिएको गीतको एरेन्जमा उदयराज पौडेलले मिहेनत गरेका छन्। गीतको सम्पादन अशोक मल्लले गरेका हुन्।