• कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक गीत ‘कोरोनाको डर छ’

    म्यूजिक खबर
    प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

    काठमाडौं । विश्वमा नै कोरोना भाइरस (कोभिड–१९)को महामारीले धेरै जनधनको क्षति भइसकेको छ । जसको प्रत्यक्ष असर विश्वका सबैमा परिरहेको छ । कोभिड–१९ कै कारण नेपालमा पनि गत चैतदेखि लकडाउन सुरु भएर पछिल्लो समयमा अझै कोरोनाको संक्रमण दिनदिनै बढ्ने क्रममा छ । जनधनको क्षति हुनुका साथै मुलुकमा समान्य रुपमा मानिसहरु दैनिक कामकाजमा फर्किन सक्ने वातावरण अझै बन्न सकेको छैन । रोगले भन्दा भोकले मेर्न अवस्था सिर्जना भइरहेको बेलामा सबै जनजनमा गीतमार्फत् जनचेतना फैलाउने उद्देश्यले कोरोना भोलिन्टियर सर्भिस (सिभिएस) र गोरखा–काठमाडौं जनसांस्कृतिक मञ्चको संयुक्त प्रयासमा जनचेतनामूलक गीत ‘कोरोनाको डर छ’, सार्वजनिक भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले गठन गरेको कोभिड–१९ भोलेन्टियर सर्भिस र गोरखा–काठमाडौं जनसांस्कृतिक मञ्चको संयुक्त सहकार्यमा उक्त गीत सार्वजनिक गरिएको हो ।

    सुमन पण्डितको शब्द सिर्जना एवं दीपसागर थापाको संगीत सिर्जना रहेको यस गीत निर्माणको परिकल्पनाकार भने किरण पन्त हुन् । गीतको संगीत संयोजन एवं रेकर्डिङ तथा मिक्सिङको कार्य भने विपिन आचार्यले गरेका छन् । गीतमा दिपसागर थापा, सागर गुरुङ, सरु थापा, रेजिना परियार, सुमन परियार, शिशिर गुरुङ, सुजन परियार, मोहन गोर्खाली, डीबी गुरुङ, सुनिला गुरुङ, कमल थापा, खेमराज तिवारी, कविराज ढकाल, भिमा गुरुङ, सरिता कुमाल, निशा गुरुङ र रञ्जित परियारको स्वर रहेको छ ।

    ‘कोरोनाको डर छ’ म्यूजिक भिडियोमा रञ्जिता गुरुङ, मरिचमान श्रेष्ठ, राजु मास्टर, अनिता बस्नेत, सारदा गिरी, उद्धव गुरुङ, टेक गुरुङ, सविना आचार्य, क्षितिज सुवेदी, पुष्कर ढुंगेल, शम्भु थापा, कमला रेग्मी, कृष्ण शिवाकोटी, सविना आचार्य जस्ता चर्चित कलाकारको साथमा सिभीएसको समूहको अभिनय रहेको छ । गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायाँकन, विष्णु शर्माको सम्पादन रहेको छ ।
    कोभिड–१९ भोलेन्टियर सर्भिस (सिभीएस) ले कोरोना रोकथामका लागि विभिन्न कामहरु गर्दै आएको छ । प्रवक्ता श्रेष्ठले दसैँ, तिहार तथा छठको सन्दर्भ पारेर थप सचेतना फैलाउन निर्देशन दिएका थिए ।

    त्यसैलाई मध्यनजर राखेर सचेतनामूलक गीत बनाइएको परिकल्पनाकार किरण पन्तले बताए । ‘गीतको माध्यमबाट जनचेतना दिँदा त्यसको ‘रेन्ज’ धेरै हुन्छ’, उनले भने, ‘धेरै, मानिसले गीत सुन्छन् । गुनगुनाउँछन् । दूरदराजका मानिसले पनि सहजै बुझ्न सक्छन् । सम्झिन सक्छन् ।’
    ‘कोभिड–१९ बाट रक्षा आजको आवश्यकता– सबैको सेवा, सबैलाई सेवा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गठन भएको सीभीएसले हालसम्म पिसिआर टेस्टको पहुँचमा नपुगेका व्यक्तिहरुलाई पिसिआर टेस्टको व्यवस्था मिलाउने, आइसोलेसनको प्रबन्ध गर्ने, नेपाल आउन चाहने नेपालीलाई स्वदेश फिर्तिको व्यवस्था गर्ने, जनतालाई रोग र भोकबाट हुने समस्या समाधान गर्ने लगायत थुप्रै काम गरिरहेको छ । त्यस्तै विभिन्न माध्यमबाट सचेतनामूलक अभियानहरु पनि सञ्चालन गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु