• सिक्किमका सर्जक जीवन शर्मालाई काठमाडौंमा सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार

    काठमाडौं । सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन् । उनलाई शुक्रबार एक विशेष सामारोहबीच मिलाप विशिष्ट सम्मानले सम्मानित गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको समारोहमा गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, बिशिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखनाथ पोख्रेल, बरिष्ठ कलाकार उत्तम केसीलगायतले स्रष्टा शर्मालाई खादा, दोसल्ला, माला र सम्मान पत्रद्वारा सम्मान अर्पण गरेका थिए ।

    निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले सहजीकरण गरेको कार्यक्रममा स्रष्टा शर्माले आफू नेपाली भाषा साहित्य कला संस्कृतिको एक साधक रहेको बताउँदै नेपालमा आफूले पाएको यो सम्मानका लागि विशेष आभारी रहेको बताए । उनले साहित्य कुनै सीमा भित्र नबाधिने र यसको क्षेत्र व्यापक र विस्तार भएको बताए । यस सम्मानले आफूमा अझ जिम्मेबारी थपिएको बताउँदै आउँदा दिनमा पनि यस क्षेत्रमा आफू अविरल लागिरहने शर्माले प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा वरिष्ठ गीतकार देवकोटाले गीत संगीतमा शर्माको योगदानको प्रशंसा गर्दै आउँदा दिनमा उहाँका अझ धेरै सिर्जनाले नेपाली गीत संगीतको क्षेत्र सिंचित हुनेमा आफू आशावादी रहेको बताए । त्यस्तै साहित्यकार दाहालले मिलापका कार्यको प्रशंसा गर्दै स्रष्टा शर्माले नेपाली गीत संगीत क्षेत्रका पु¥याएको योगदानको चर्चा गरे । उनले नेपाल बाहिर रहेका नेपाली भाषी भाषा साहित्य कला संस्कृतिका व्यक्तित्वहरूले मिलापले जोडने काम गरेको बताए ।
    त्यस्तै, कलाकार केसीले सिक्किमले नेपाली भाषाका चलचित्रलाई प्राथमिकतामा रोखर गरेका कार्यको प्रशंसा गरे । उनले हाम्रो पहिचान भनेको हाम्रा संस्कार र संस्कृति रहेको भन्दै हाम्रा प्रस्तुतिमा यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने जिकर गरे ।

    सम्पादक भुसालले सिक्किमा रहेर विगत तीन दशकदेखि निरन्तर गीत संगीतको क्षेत्रमा लाग्नुभएका स्रष्टा शर्मालाई नेपालमा सम्मान गर्न पाउँदा आफूहरू पुलकित भएको बताए । शर्माले यस क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दैै आउँदा दिनमा उहाँका अझ धेरै सशक्त सिर्जना स्रोता÷दर्शक र पाठकमाझ आउन भन्दै बधाई तथा शुभकामना दिए । मिलापले गर्दै आएका कार्यका बारेमा बताउँदै उहाँले भाषा साहित्य कला संस्कृतिका क्षेत्रका स्रष्टाहरूले पुर्‍याएको योगदानको उच्च कदर गर्दै स्रष्टा शर्मालाई सम्मान गरिएको जिकिर गरे । यस्तै मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डशेनकी अध्यक्ष गीता अधिकारी र अन्य अतिथिहरूले स्रष्टा शर्मालाई बधाई तथा शुभकामना दिएका थिए ।
    तस्बिरःअनिल पोख्रेल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु