बमबहादुर कार्कीको नेतृत्वमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’, दोहोरी गीत प्रतिष्ठानले निकाल्यो विज्ञप्ति

म्यूजिक खबर
प्रकाशित: ३ असार २०८०, आईतवार
Cultural study and research centre

काठमाडौं । अग्रज गायक बमबहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति रहने गरी नयाँ संस्था ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’को जन्म भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, खड्ग बुढा, शिव आले र केशरी घर्ती छन् । यो तदर्थ समितिको बैठकले आगामी भदौभित्र अधिवेशन बोलाउने र नयाँ कार्यसमिति गठन गर्ने प्रक्रिया अगाडी बढाउने उपाध्यक्ष विष्णु खत्रीले जानकारी दिए ।

यस परिषद्ले लोकदोहोरीका सबै विधालाई समेटेर वृहत रुपमा अघि बढ्ने तयारीमा रहेको साथै ‘विदेश र काठमाडौं तथा ७७ जिल्लामै शाखा स्थापना गर्ने लक्ष्य लिएको उपाध्यक्ष खत्रीले बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका स्थापनाकालका व्यक्तिहरु यस परिषद्मा देखिनुले प्रतिष्ठानमा नेतृत्व दाबी गर्दा नपाएको कारण संस्था जन्मिएको भन्ने प्रचारबाजी भने प्रतिष्ठानको ८ औं महाधिवेशनदेखि हालसम्म पनि चर्चामा रहेको छ । यसै विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले कतै फुट नभएको दाबी गर्दै प्रेस विज्ञप्ति पनि जारी गरिसकेको छ । अध्यक्ष रिता थापा र कार्यवाहक महासचिव शिरीष देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोहोरी प्रतिष्ठान कतै फुट नभएको र फुटको अफवाह फैलाएको भनिएको छ ।

एकातिर संस्थाका केही व्यक्तिले अर्को संस्था खोल्नु र प्रतिष्ठानभित्र एउटा हल्ला हुनुले गर्दा केही मिडियाले यस्तो गरेको हुन सक्ने दाबी गर्दै परिषद्का उपाध्यक्ष खत्रीले भने– ‘हामीले कसैको विरुद्धमा संस्था खोलेको र प्रतिष्ठान फुटाएका होइनौं बरु सम्पूर्ण संगीतकर्मीहरुलाई जुटाउने एउटा परिषद् खोलेका हौं । यो परिषद लोकदोहोरीको मात्र नभएर सम्पूर्ण कला क्षेत्रमा लाग्ने सबै विधाको भएको हुँदा सबै एकजुट हुन आग्रह गर्दछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु