‘दर्शन सलाम’ : ट्रेण्डिङको शिर्ष स्थानमा, टिकटकमा हिट

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७९, बिहीबार

काठमाडौँ। अहिले कुनै पनि प्रकारको भिडियो युटुबको ट्रेन्डिङमा पर्यो भने त्यसले खास अर्थ राख्छ । किनकी, युटुबले नेपालमा पनि ट्रेन्डिङको सुरुवात गरेपछि अहिले भिडियो सामाग्री कती हिट भैरहेको छ भनेर थाहा पाउन युट्युब ट्रेन्डिङलाई पनि आधार मानेको पाइन्छ । अझ ट्रेण्डिङको पहिलो स्थानमा परेपछि त दायाँबायाँ सोच्नै परेन । जबरजस्त सफलता मान्न सकिन्छ ।
यहि क्रममा चलचित्र ‘छक्कापञ्जा–४’ को नयाँ गीत ‘दर्शन सलाम’ बोलको गीत पनि सफल गीतहरुको पंक्तीमा पर्न सफल भएको छ । सार्वजनिक भएसँगै यतिबेला यो गीत नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । यो गीतलाई दर्शकले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् । यो गीतको समाचार तयार पार्दासम्म भिडियोलाई १२ लाख ६५ हजार बढी दर्शकले हेरिसकेका छन् । ‘दर्शन सलाम’ गीतले २ दिन नबित्दै गीतले ट्रेण्डिङको १ नम्बर स्थान सुरक्षित गरेको हो ।

अस्थिर राजनीति र आर्थिक मन्दीले निराश जनजिवन भइरहेका बेलामा यो गीतले केही हदसम्म श्रोतालाई रोमाञ्चिन बनाएको छ । यस गीतले पछिल्लो समय सामाजिक सञ्जालमा कब्जा नै गरेको छ । विशेषत टिकटकमा सबैभन्दा बढीले यस गीतलाई प्रयोग गरेका छन् ।

‘दर्शन सलाम’ गीतमा लोक शैलीको ‘दर्शन सलाम’ बोलको सार्वजनिक गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ भने राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माले संगीत भरेका छन् । गीतका शब्दहरु जिब्रोमा झुन्डिने खालका छन् । संगीत पक्ष पनि सशक्त छ ।

गीतमा स्वस्तिमा खड्का, दिपकराज गिरी, दिपाश्री निरौला, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा लगायतलाई फिचर्ड गरिएको छ ।

यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि हेमराजकै हो । बिगतका तीन वटै चलचित्रलाई निर्देशन गरेकी गरेकी दीपाश्री यो चलचित्रमा भने नायिकाको रुपमा छिन् । उनीसँगै यो चलचित्रमा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, बुद्धि तामाङ, केदार घिमिरे, बेदना राई, सुष्मा निरौलालगायतका कलाकारहरुको अभिनय छ ।

दीपकराज गिरीको पटकथा सम्बाद रहेको यो चलचित्रलाई नरेन्द्र मैनालीले छायाँकन गरेका हुन् । जसमा दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
आमा सरस्वति मुभिजको ब्यानरमा यो चलचित्रलाई दीपक, दिपासँगै केदारप्रसाद घिमिरे, निर्मल शर्मा, दिपेन्द्र खनियाँ र केशव न्यौपानेले निर्माण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु