दावा ग्याल्मोको श्रव्यदृश्य एल्बम ‘तिमीसित हिँड़े’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७९, सोमबार

दार्जिलिङ । प्रसिद्ध गायिका दावा ग्याल्मो देवानको नयाँ श्रव्य दृश्य एल्बम ‘तिमीसित हिंडे’ सार्वजनिक भएको छ । गत शनिबार दार्जिलिङको हिमालयन कलामन्दिरको सभागृहमा आयोजित कार्यक्रमका बीच उक्त एल्बम सार्वजनिक गरिएको थियो ।

दार्जीलिङका ख्यातिप्राप्त कलाकार, साहित्यकार मनप्रसाद सुब्बा, लोकप्रिय गीतकार पुरण गिरी, वरिष्ठ गायक लाक्पा शेर्पा, संगीतकार वसन्त क्षेत्री, गीतकार, साहित्यकार एवं निर्देशक प्रकाश सायमी लगायतको उपस्थितिमा गायिका दाव ग्याल्मो देवानको श्रव्य दृश्य ‘तिमीसित हिंडे’लाई सार्वजनिक गरिएको थियो । कार्यक्रमलाई नाट्य कलाकार श्रीमती कमला लेप्चा, र किशनले संचालन गरेका थिए ।

‘तिमीसित हिंडे’मा वरिष्ठ गीतकार प्रकाश सायमीको शब्द सिर्जना रहेको छ भने वरिष्ठ संगीतकार वसन्त क्षेत्रीको संगीत सिर्जना रहेको छ । दावा ग्याल्मो देवानको स्वर रहेको यस गीतको संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ ।

यस गीतको म्यूजिक भिडियोलाई भावेश सी ठकुरीले छायाँकन तथा सम्पादन गरेका छन् भने किरण ठकुरीले भिडियोको निर्देशन गरेका छन् । भिडियोमा किशन सार्की, श्रीनिता सुब्बा, रोहित कुमार देवान र दावा ग्याल्मोको अभिनय रहेको यस भिडियोको निर्माता रोहित कुमार देवान हुन् ।

कार्यक्रममा वरिष्ठ गीतकार, साहित्यकार एवं निर्देशक प्रकाश सायमीले नेपाली गीतसंगीतको विगत र वर्तमान बारे प्रष्ट पार्दै गायिका दावा ग्याल्मोको गायनको प्रशंसा गरेका थिए । त्यस्तै गायिका दावा ग्याल्मो देवानले उपस्थित सबैलाई धन्यवाद दिँदै यस गीतलाई सबैले मनपराइदिने विश्वास लिएको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु