‘डेउडा आइडल’ हुने, जजमा नन्दकृष्ण, टिका र तिलक ! होस्ट-अनिता र राकेश

म्यूजिक खबर
प्रकाशित: १४ आश्विन २०८०, आईतवार

काडमाडौं । केही वर्षयता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दै गएको छ । त्यसमध्ये पनि गायन रियालिटी शो बढी छन् । यसैक्रममा ‘डेउडा आइडल-२०८०’ नामक अर्को गायन रियालिटी शो हुने भएको छ । नेपालमै पहिलोपटक डेउडा विधालाई लिएर यो शो हुने भएको हो ।
आयोजक डेउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डेउडा आइडलबारे जानकारी गराएको हो।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभूषाको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजन गर्न लागिएको आयोजकले जनाएको छ। डेउडा आइडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा सञ्चालन हुने छ। प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडका संयोजक महेशकुमार औजीले जानकारी दिए।

डेउडा आइडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको छ। कार्यक्रमको प्रत्यक्ष प्रशारण टीभी टुडे टेलिभिनले गर्ने भएको छ। पत्रकार सम्मेलनमा टीभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले डेउडा आइडल सुदूर र कर्णालीका प्रतिभाहरूका लागि उत्कृष्ट मञ्च भएको बताए। साथै पन्तले ब्रोडकास्ट पार्टनरको हैसियतले कार्यक्रम सम्पन्न गर्नमा टीभी टुडेले पनि सक्दो सहयोग प्रतिबद्धता जनाए।

यस्तै वरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशीले देउडा आइडललाई सफल पार्न सम्पूर्ण डेउडा प्रेमी जनताले सहयोग गर्ने विश्वास व्यक्त गरे। जोशीले अबको दश वर्षमा डेउडा गीत सारा नेपालीले गाउने दाबी गरे। कार्यक्रमका संयोजक महेशकुमार औजीले डेउडा संस्कृतिलाई जिवन्त बनाउनका लागि डेउडा आइडल आयोजन गर्न लागिएको बताए।

लामो समयको प्रयासपछि डेउडा आइडल गर्ने अवस्थामा पुगेको औजीको भनाइ थियो। यस्तै गायक तथा संगीत साधक तिलकसिंह पेलाले डेउडा आइडल मानसखण्डको संस्कृतिलाई संरक्षण गर्नका लागि कोसेढुंगा सावित हुने बताए । डेउडा आइडलको पुरस्कार राशि अर्को पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।

आइडलको निर्णायक मण्डलमा नन्दकृष्ण जोशी, तिलकसिंह पेला र टीका पुन रहेका छन्। दिनेश खड्काले निर्देशन गर्ने डेउडा आइडलको उद्घोषण अनिता चलाउने र राकेश दुयालले गर्ने छन् । शो मंसिरदेखि टेलिभिजनमा प्रशारण गर्ने तयारी गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु