काठमाडौं । गीतकार देवेन्द्र केसी ‘देवु’ को दुई कृति ‘देबु’ र दृढ संकल्प सार्वजनिक भएको छ । गीतकार केसीको तेस्रो गीतसंग्रह ‘देबु’को अडियो भिडियो सार्वजनिक गरिएको हो भने चौथो मुक्तकसंग्रह ‘दृढ संकल्प’ सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालको आयोजनामा पूर्वमन्त्री एवं प्रतिष्ठित गीतकार, कवि एसपी कोइरालाको प्रमुख आतिथ्यतामा उक्त कृतिहरु सार्वजनिक भएका हुन् । कार्यक्रममा गीतकार संघ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटा, अनेसास नेपालका अध्यक्ष राजेन्द्र केसी, प्रतिष्ठित संगीतकार शक्ति बल्लभ, प्रा.डा. रेणुका सोलु, प्रतिष्ठत गीतकार बम बहादुर थापा जिताली, गजलकार घनेन्द्र ओझा लगायतको आतिथ्यतामा दुई कृतिहरु सार्वजनिक भएका थिए ।
गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राख्दै गीतकार देवेन्द्र केसी अब्बल सिर्जनाका धनी भएको बताएका थिए । गण्डकीको सेरोफेरो आफैं संगीत र साहित्यको उर्बरभूमि भएको बताउँदै अतिथिहरुले देवेन्द्र केसीलाई भूगोल र प्रकृतिको प्रभाव परेको बताएका थिए । गीतकार केसीले निवृत्त जीवन साहित्यमा केन्द्रीत गरेकोमा खुशी व्यक्त गर्दै अतिथिहरुले आगामी दिन अझै सशक्त सिर्जना आउने विश्वास लिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठित कवि गीतकार एसपी कोइरालाले गीतकार देवेन्द्र केसीका गीत र मुक्तक दुबैमा राष्ट्रियता, प्रकृतिसँग बढि नजिक रहेर सिर्जना गरिएको हुँदा सदाबहार बन्ने विश्वास व्यक्त गरेका थिए । एउटा राम्रो प्रशासकका रुपमा जसरी उहाँको छवि दर्बिलो रहेको छ त्यसैगरी साहित्यमा पनि दर्बिलो उपस्थिति रहेको प्रमुख अतिथि कोइरालाले बताए । त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले दुई कृतिहरु सार्वजनिक गर्न आयोजकको भूमिका दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दै गीतकार देवेन्द्र केसी अब्बल गीतकार रुपमा पाएकोमा गर्व महसुस भएको बताए ।