ख्यातीप्राप्त गायिका देबिकाको निर्देशनमा इन्ट्री

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तीन दशकदेखि निरन्तर गायनमै रहेकी गायिका हुन् –देविका बन्दना । उनी सांगीतिक क्षेत्रकी शीर्ष गायिका हुन् । उनका स्वरले सजिएका थुप्रै गीतहरु हिट भएका छन् । कालजयी छन् । नेपाली सांगीतिक क्षेत्रमा थुप्रै हिट गीत पस्किसकेकी उनै अग्रज गायिका देबिका बन्दना यतिबेला निर्देशक पनि बनेकी छन् ।

गायनमा कमाएको प्रतिष्ठा र ख्याती दाउमा राख्दै उनले पहिलो पटक ‘सुनैको जन्तर’ बोलको म्यूजिक भिडियोमा निर्देशन गरिन् । उक्त म्यूजिक भिडियो देबिका बन्दना युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । उनको निर्देशन यात्राको शुभारम्भ पनि सानदार र तारिफ योग्य बनेको छ ।

केहि समय अघि उनले क्यान्सर जस्तो प्राणघातक रोगलाई पराजित गरेको संस्मरण सहितको ‘जित्नेको हाँसो’ नामक पुस्तक सार्वजनिक गरेकी थिइन् । यसअघि नै लोकप्रिय र चर्चित त यसै थिइन् उनी, यो पुस्तकले झनै उनको चर्चा चुलियो । धेरैले थप आदरभाव प्रकट गरे । साहसी नारी भने ।

यतिबेला ‘सुनैको जन्तर’ भिडियोमा देखाएको निर्देशन क्षमताले उनी पुनः चर्चामा आएकी छिन् । गायनमा जस्तै निर्देशनमा पनि आफूलाई अब्बल सावित गरेकी छन् ।
गीतमा नरेश भट्टराईको शब्द अनि नरहरी प्रेमीको संगीत रहेको छ । आमोद तामाङद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियोमा दीपक श्रेष्ठको कोरियोग्राफी छ भने दीपांशु श्रेष्ठको सम्पादन छ । प्रदीप कँडेलले छायांकान गरेको भिडियोमा दीपांशु श्रेष्ठ तथा गीता ढुंगानाको अभिनय रहेको छ ।

क्यान्सरलाई जितेपछि उनले सार्वजनिक गरेको यो पहिलो म्यूजिक भिडियो हो । फेरि अर्को म्यूजिक भिडियोमा पनि निर्देशन गर्ने तयारी भइरहेको जानकारी दिइन् । गायिका बन्दनाले हामीलाई बताइन् – ‘निर्देशनमा अब्बल भएँ भन्ने पनि लागेको छैन । तैपनि, स्रोता र शुभेच्छुकको हौसलाले मलाई हौस्याएको छ । यो भन्दा पनि उत्कृष्ट भिडियो निर्देशन गर्ने आत्मबल पलाएको छ । गायनमार्फत स्रोतालाई खुशी बनाएकी थिएँ । पक्कै पनि निर्देशनबाट पनि निराश बनाउने छैन ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु