![](https://musickhabar.com/wp-content/uploads/100-millions-song-300x150.jpg)
भक्तपुर । क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ–२०८० सम्पन्न भएको छ । दिक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लव अफ भक्तपुर भैरवको संयुक्त आयोजना गरेको कार्यक्रममा क्यान्सरलाई जित्न सफल गायिका देविका बन्दनाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा गायिका बन्दनाले ‘एउटा परदेशी आई सोध्यो मेरो नामबाट’ आफ्नो प्रस्तुति दिएकी थिइन् । त्यसपछि यस्तै रहेछ यहाँको चलनबाट दर्शक स्रोतालाई मन्त्रमुग्ध बनाएकी थिइन्। गायिका बन्दनाले क्रमशः ‘यो माया के हो’, ‘तिमिलाई हेर्ने यी आँखामा’, ‘तिम्रो मायाको सागरमा’, ‘सपनीमा आई सतायौ मलाई’, ‘भरे आउँछु सपनीमा’, ‘आँखी झ्यालैमा’, ‘अच्छा लेकिन लण्डनको जाडोले’, ‘नहिँड कान्छी’, ‘सपनी मै हो की’, ‘ए संगीता’ र मिक्स ट्रयाकमा गरी १३ वटा आधुनिक तथा चलचित्रका गीत प्रस्तुत गर्नुसाथै उनले जिगु बैंस धाल बोलको नेवारी गीत पनि प्रस्तुत गरेकी थिइन्।
उनलाई भक्तपुरका स्थानीय कलाकारहरु रवि हाडा, सत्य नारायण प्रजापति, राजेश महर्जन, कपिल कसपालले साथ दिएका थिए। कार्यक्रममा रश्मी खत्रीको समूहको नृत्य, सन्ध्या व्यान्जु र अंकित किसीले गितसँगै नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा डा. उत्सवमान श्रेष्ठ र डा. कपिन्द्र शेखर अमात्यले स्तन क्यान्सर, डा। अनु बज्राचार्यले सर्भिकल क्यान्सर, डा. विजेश राज घिमिरेले पोषण र जीवनशैली, डा. सुवर्णमान तुलाधरले फोक्सोको क्यान्सर, डा. श्रीकृष्ण कासिछ्वाले पेडियट्रिक क्यान्सरका बारेमा सचेतनामूलक प्रवचन दिएका थिए । साथै लायन उत्तम झाले लायन र क्यान्सरबारेमा जानकारी दिएका थिए।
सो अवसरमा हालै काठमाण्डौँमा सम्पन्न ५५औ एसियन शारीरिक सुगठन प्रतियगितामा स्वीमिङसुट फिजिक्समा स्वर्ण पदक जित्न सफल सनम मुलगुठीलाई सम्मान गरिएको थियो ।