विभिन्न सांस्कृतिक कार्यक्रमसहित गायिका धनमाया तामाङको स्मृति दिवस सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०८२, शनिबार २३:३५

काठमाडौं । ठाडो भाकाकी प्रसिद्ध गायिका धनमाया तामाङको २१औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिएको छ । लमजुङको काफलस्वाँरा पुरकाङमा जन्मिएकी गायिका तामाङको सुन्दरबजार वडा नं. २ परेवाडाँडामा वडा कार्यालयले उनको शालिकमा माल्यापर्ण गरी आज विहानै स्मृति सभा आयोजना गरेको थियो । कार्यक्रममा उनका छोरी, नातिनी लगायतका पारिवारिक तथा गाउँलेहरुको उपस्थितिमा उक्त स्मृति दिवस मनाइएको थियो ।

त्यस्तै उनका छोडा डा.आशबहादुर तामाङले आफ्नो काठमाडौंको रानीबनस्थित निवासमा रहेको शालिकमा दीप प्रज्वलन गरी स्मृति दिवस मनाएका छन् । उनले विहानै स्वयम्भूमा पुगेर पुनः दीप प्रज्वलन गरी आमाप्रति श्रद्धासमुन व्यक्त गरेका थिए । गायिका तामाङप्रति छोरा बुहारी, नाति र नातिनी मिलेर स्मरण गर्दै दीप प्रज्वलन गरेका थिए । आमासँग ठाडो भाकामा दोहोरीसमेत गाएका डा.आशबहादुर तामाङले ममतामयी आमा मात्र नभएर लोकभाकाकी विशिष्ट प्रतिभासमेत रहेको बताउँदै आमाका सदाबहार सिर्जनाहरु अझैसम्म गुन्जिरहेको बताए ।

त्यसैगरी गायिका तामाङ गीतसंगीतको योगदानलाई सम्झँदै इटहरीमा रहेको संगीत साधना प्रतिष्ठानले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । गायिका धनमाया तामाङको २१औँ पुण्यस्मृति सभाको अवसरमा गायिका तामाङका गीतहरु गाएर स्मरण गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजु केसीले ठाडोभाकाकी अमर स्रष्टा गायिका धनमाया तामाङ नेपाली लोकसंगीतमा विशिष्ट उचाइ कायम गरेको व्यक्तित्व भएको बताउँदै उनको भौतिक शरीर नरहे पनि सदाबहार सिर्जना हामीमाझ गुन्जिरहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु