दिप झैं चम्केका दिपक

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७४, शुक्रबार

जेठ १२, काठमाडौँ । संगीत क्षेत्र चुनौती, संघर्ष र साधनाकोे क्षेत्र हो । पछिल्लो समयमा सांगीतिक धरातलमा दीपझैं प्रज्वलीत हुँदै गएका संगीतकार दिपक शर्मा यस क्षेत्रमा प्रवेश गरेको १२ वर्ष वितिसकेको छ । यो अवधिमा उनले धेरै संघर्षका पहाडहरु चढिसकेका छन् । उनी चुनौती, संघर्ष र साधनाले खारिएका छन् । सपना भन्ने कुरा पनि अचम्मकै हुँदो रहेछ । विद्यालयमा दिपक भन्दा राम्रा गाउनेहरु थुप्रै थिए । गीत लेखनमा चाहिं दिपक अगाडि । गायनमा राम्रो सम्भावना भएका साथीहरुलाई यो क्षेत्रको कुनै मोह रहेन । तर उनीहरुको तुलनामा धेरै कमजोर दिपकले यो क्षेत्रको विकल्पमा अन्य केही देख्दैनन् ।

dipak sharma

म्याग्दीको कुँहुँमा माध्यमिक तहको शिक्षा पूरा गरेपछि आफ्नो सपनालाई पूरा गर्न २०५९ सालमा राजधानी छिर्दा उनको सपना नामी गायक बन्ने थियो । सात कक्षादेखि आफैंले लेखेका दुई सय गीतहरुको संकलन भएको डायरी र १२ सय रुपैयाँ बोकेर घरबाट निस्किएका थिए उनी । म्याग्दीदेखि काठमाडौंसम्मको दूरीमा यात्रा गरिरहँदा उनले सजिलै नाम दाम कमाउने सपना देखिरहे । संघर्ष, चुनौति र प्रतिस्पर्धाको शहर काठमाण्डौमा जब उनले पहिलो पाइला टेके तब उनलाई आफ्नो सपना केवल सपना मात्र पो बन्ने हो की भन्ने शंका र डर लाग्यो । किनभने यो शहरमा आइपुग्दा उनीसँग रु. ४५० मात्र बचेको थियो । ‘राजधानीमा त गीत पनि बिक्री हुन्छन् रे भन्ने सुनेको थिएँ । मेरा पनि दुई सय गीत छन् । प्रत्येक गीतको १००० का दरले बिक्री गरें भने पनि २० हजार आउनेछ । अनि काठमाण्डौ बसाई त्यति कठिन हुने छैन’, उनले सोचेका थिए । तर सोचेजस्तो कहाँ रहेछ र ? उनले शुरुवाती दिन सम्झिए ।

 

यहि क्षेत्रको सपना बुन्दै सुन्धाराको गेष्टहाउसमा काम गरे । त्यहाँ पनि कलेज जान थालेपछि कामबाट निकालियो । परिस्थिति जस्तोसुकै आएता पनि उनले आफ्नो रहर र सपनालाई अर्को बाटोमा भने मोडेनन् । सांगीतिक संघर्षको उच्च विन्दुको सामना गरिरहे ।
आफूलाई अहिलेसम्म संगीतकै विद्यार्थी भएको बताउँछन् । उनले संगीतकार राम सिटौला, नरहरि प्रेमीसँग संगीतको ज्ञान लिएका हुन् । राजकुमार मालाकारलाई गितार, पियानोको गुरु थाप्दै छन् । त्यस्तै किबोर्डको चार वर्षे कोर्ष गर्ने योजना पनि छ उनीसँग ।

 

dipak-sharma

हार्मोनियम, गिटार बोकेर आश देखाउने प्रोड्युसरहरुको पछि लाग्दा निराश बनेको तितो अनुभव पनि छ उनीसँग । प्रोड्युसरले संगीत सुनाउँदा तिमी संगीतकार बन्नु भन्दा हिरो तिर ट्राई गर भन्ने वचनले उनलाई स्थापित संगीतकार बन्ने जोश झन् बढ्यो । त्यसपछि नै उनका गीतहरु पनि हिट हुँदै गए ।
उनले सर्वप्रथम संगीत गरेको चलचित्र ‘तेजाब’ हो । जतिबेला उनी २० वर्षको अल्लारे थिए । शर्माले लगभग दुई दर्जन चलचित्रमा संगीत दिइसकेका छन् । चलचित्र ‘सम्झी राख है’को ‘आँधीखोला उर्र्लीएर’ बोलको गीत टर्निङ प्वाइन्ट बन्यो । उक्त गीतले उनलाई डि सिने अवार्डमा उत्कृष्ट संगीतकारको अवार्ड नै दिलायो । उनका चलचित्र छक्का पञ्जाको देखन चम्पा, किस्मत–२ को तिम्रो पिक्चर हिट, हवल्दार सुन्तलीको डोला डोला लगायतका गीतले यतिबेला बजार तताईरहेको छ । चलचित्र अप्रिल फुलबाट ‘तेरो मेरो पिरती भयो कस्तो–कस्तो’ र दबाबको ‘मेरो पावरफुल बैशको झड्काले’ पनि उनका सफल गीत मानिन्छन् । कुनै समय महिनामा मुस्किलले एउटा गीत समेत नपाउने उनलाई यी गीतले व्यस्त बनाउँदै लगेको छ ।

dipak-sharma copy
दिपक भन्छन्–‘पिक्चर हिट गीत वडा नं. ६ का लागि दिपक दाईसँग कुरा भएको थियो । कारणवश त्यो किस्मत–२ राखियो । पिक्चर हिट वास्तवमै हिट पनि भयो । चलचित्र छक्का पञ्जाको देखन चम्पाको गीतले भने उनलाई यतिबेला थप उचाईमा पु¥याएको छ । उक्त गीत अर्कै चलचित्रका लागि भनेर बनाइएको गीत थियो । सो चलचित्रका निर्माता÷निर्देशकलाई गीत सुनाएपछि कहाँ यस्तो नि गीत हुन्छ भनेर थर्काउनुभयो, गीत रिजेक्ट भयो । त्यसको ३ महिनापछि दिपक दाइलाई गीत सुनाएँ । उहाँले छक्का पञ्जाका लागि ओके गर्नुभयो । गीत अत्यन्त सफल भयो । सो गीतको सफलताले कामको चाप थपिएको छ । थुप्रै गीतहरु लाइनमा छन् ।’

 
उनको निरन्तरता र संघर्षका कारण यो समयसम्ममा ७ सयभन्दा बढी गीतहरुमा संगीत भरिसकेका छन् । उनी संगीत क्षेत्रका हरेक विधामा पोख्त छन् । उनले लेखेका शब्द पनि उत्तिकै चर्चित छन् । ‘छुट्टिएर तिमीसँग’, ‘जिन्दगीको सवाल हुन्छ’, ‘मलाई आफ्नो बनाएर’, ‘सबैले मलाई घृणा’, ‘रुँदै हुन्छ’ु लगायतका सुगम संगीतका गीतहरु श्रोताको मनमा बस्न सफल भएका छन् । नयाँदेखि अहिले बजारमा नाम चलेका गायकहरुले शर्माको संगीतमा गीत गाइसकेका छन् । सेन्टिमेण्टल भन्दा रोमान्टिक गीतहरु नै बढी छन् तापनि उनलाई सुगम संगीततर्फ भने सेन्टिमेण्टल गीतले चर्चित बनाएको छ । उनी गायन र एरेञ्जमा पनि उत्तिकै निपूर्ण छन् । पछिल्लो समयमा आफ्नै स्वर, शब्द, एरेञ्ज अनि संगीतमा रहेको लोक पप शैलीको ‘हे बरै’ बोलको गीतमा अभिनय समेत आफैं गरेका छन् ।

 
रणनीतिभित्रको राजनीतिले म्यूजिक क्षेत्र पनि अछुतो नरहेको बताउँदै स्रष्टा र प्रोड्युसरका हितका लागि खोलिएका संघ–संस्थाले यो क्षेत्रमा कुनै प्रभाव पार्न नसकेको उनले दुःखेसो पोखे । अबका दिनमा स्रष्टा र प्रोड्युसरले यो क्षेत्रप्रतिको समर्पणले आफूलाई गौरवशाली महशुष गर्नसक्ने वातावरण बनाउन ती संघ–संस्थाहरुले योगदान दिनुपर्ने दिपकले बताए ।

 
१२ वर्षको सांगीतिक संघर्ष गर्दा जति कठिनाई भोगे त्यो भन्दा बढी उनले पारिवारिक संघर्ष गर्नुप¥यो । संगीतकर्ममा उनको परिवारको सहमति थिएन । परिवारको चाहना छोरो शिक्षक बनोस् यदि त्यो बन्न नसके बरु विदेश जाओस् भन्ने थियो । सांगीतिक र पारिवारीक संघर्ष गर्दै संगीतमा समर्पण भएका दिपकको परिवार उनीप्रति पोजेटिभ भएको ३ वर्ष मात्र पुग्दैछ । जब संगीतको क्षेत्रमा स्थापित बन्दै गएँ अनि परिवार पनि बुझ्दै गयो, दिपकले भने । अबको यात्रा सहज बन्दै जानेमा उनी ढुक्क छन् ।

प्रस्तुतिः सबिता पोखरेल

(म्यूजिक खबर पाक्षिकबाट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु