अभिनेत्री दियाको यात्रा: ‘वीरविक्रम’देखि ‘अन्तिम संस्कार’सम्म

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

काठमाडौं । अभिनेत्री दिया पुन नेपाली फिल्ममा कमै देखिन्छिन् । तर उनी जब देखिन्छिन्, केही फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुन्छिन् । फिल्म ‘वीरविक्रम’बाट नेपाली रजतपटमा पाइला चालेकी दियाले त्यसयता ‘मिष्टर झोले’, ‘मन्त्र’ र ‘दयारानी’मा अभिनय गरिन् । ‘दयारानी’बाहेक तीन फिल्म प्रदर्शन भइसकेका छन् ।

दिया आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अन्तिम संस्कार’मा डिएसपी रक्षाको भूमिकामा देखिँदैछिन् । जो कुनै एक घटनाको अनुसन्धानमा खटाइएकी हुन्छिन् । यो फिल्मका निर्देशक प्रदीप शाही हुन् ।

प्रदीपले यसअघि फिल्म ‘गोर्खाः विनिथ विथ ब्रेभरी’ निर्देशन गरिसकेका छन् । दिया प्रदीपको ‘गोर्खाः विनिथ विथ ब्रेभरी’बाट प्रभावित थिइन् । ‘मलाई प्रदीपजीको गोर्खाः विनिथ विथ ब्रेभरीको कन्सेप्ट मन परेको थियो । चारवटा फिल्ममा एकै किसिको चरित्र निभाई रहँदा केही फरक चरित्रमा काम गर्ने मन थियो । त्यही कारण पनि म फिल्ममा कमै देखिएकी थिएँ’, दिया भन्छिन्, ‘प्रदीपजीसँग भेट भएपछि यो कथाको क्यारेक्टर भन्नुभयो । मलाई अलिक फरक देखिन्छु भन्ने लाग्यो । अनि म जोडिएँ ।’

दियाका अनुसार कोभिड महामारीको समयमा निर्माण गरिएको फिल्मको पूर्व तयारीका लागि दुई महिना ‘भर्चुअल वर्कसप’ गरिएको थियो । ‘सुरुको महामारीका समयमा म बाहिर थिएँ । हामी एउटै देशमा बसे पनि फरक ठाउँमा थियौं’, दियाले भनिन्, ‘प्रदिपजीले जुम मिटिङमा नै सबै कुरा बताउनुभएको थियो । उहाँले त्यहाँ संवाद बोल्नेदेखि अभिनय गर्नेसम्मको सबै आइडिया दिनुहुन्थ्यो ।’

दियाका लागि प्रहरी चरित्र नयाँ थियो । त्यसका लागि उनले केही पूर्व तयारी गरिन् । किनभने उनलाई प्रहरी सम्बन्धी ज्ञान पनि थिएन । ‘नेपाली फिल्ममा महिला प्रहरीहरु कमै देखिन्छन् । यो फिल्मका लागि मैले प्रहरी अधिकृतसँग घुलमिल हुन त पाइनँ । तर मैले यस्तै खालका फिल्मबाट आइडिया लिएँ’, दिया खुलिन्, ‘आइडिया लिएँ भन्दैमा त्यसको कपी चाहिँ गरेको छैन । ती फिल्ममा पुलिस अफिसरलाई कसरी देखाइएको छ भन्ने हेरें । बाटोमा गइरहँदा महिला ट्राफिकलाई देख्दा एकछिन उहाँहरुको व्यहवारहरु हेर्थे । उहाँहरुको व्यक्तित्व कस्तो हुँदो रहेछ हेर्थे ।’

फिल्म मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा छायांकन गरिएको हो । मुस्ताङको चिसो मौसममा छायांकन गर्दा केही असहज भए पनि टिमको समन्वयले त्यो असहज सहज भएको बताइन् । दिया ‘अन्तिम संस्कार’को अर्थ खुलाउन चाहदिनन् । ‘फिल्मको नामले नै अन्तिम संस्कारको बारेमा हो भनेर कतिजनाले सोध्नुहुन्छ । यो विषयमा मैले बोल्न मिल्दैन’, उनी भन्छिन्, ‘फिल्मको ट्रेलर हेर्दा केही फरक देख्न सक्नुहुन्छ । प्रदीपजीको सोच नेपाली मात्र होइन, विदेशी दर्शकलाई पनि हाम्रोमा यस्तो शैलीको फिल्म बन्छ है भन्ने देखाउने हो । हामी यो फिल्मलाई गर्वसाथ दर्शकमाझ प्रस्तुत गर्न खोजिरहेका छौं ।’
अभिनेता विजय लामासँग सहकार्य गर्न पाउँदा दिया खुशी छिन् । ‘उहाँ सहयोगी स्वभावको हुनुहुन्छ । सबैलाई अभिनयको प्रोत्साहन दिनुहुन्छ । उहाँमा म वरिष्ठ हो भन्ने भावना छैन’, दिया भन्छिन् ।

चलचित्र ‘ अन्तिम संस्कार’साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

चलचित्रमा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई,पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु