‘मिसेस नेपाल युनिभर्स २०२६’ को उपाधि डली गुरुङलाई, अक्टोबरमा विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्ने

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०८३, मंगलवार १८:३५

काठमाडौं । नेपाली फेसन जगतकी ऐतिहासिक मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बाले ‘पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६’ को मुख्य उपाधि चुमेकी छिन् । ललितपुरको झम्सिखेलमा आयोजित एक विशेष ‘क्राउन सेरेमनी’ मा उनलाई यो प्रतिष्ठित ताज पहिराइएको हो।

तेस्रो चरणको कोलोन क्यान्सरलाई सफलतापूर्वक परास्त गरेकी डली यो उपाधि जित्ने नेपालकै पहिलो क्यान्सर विजेता मोडल बनेकी छन्। ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य र लन्डन फेसन हाउसकी अध्यक्ष एवं प्रतियोगिताकी निर्देशक मनीषा डंगोल श्रेष्ठले डलीलाई संयुक्त रूपमा क्राउन पहिराएका थिए।

ऐतिहासिक पुनरागमन र पारिवारिक साथ

डली गुरुङ विक्रम संवत २०४० र ५० को दशककी नेपालकै सर्वाधिक चर्चित विज्ञापन तथा फेसन मोडल हुन्। नेपालमा निर्माण भएको पहिलो भिडियो विज्ञापनमा समेत अभिनय गरेकी डलीले क्यान्सरलाई जितेर कला क्षेत्रमा ऐतिहासिक पुनरागमन गरेकी हुन्। तीन सन्तानकी आमा उनले आफ्नो यो सफलताको श्रेय परिवारलाई दिएकी छन्। उनी चर्चित सांगीतिक ब्यान्ड ‘१९७४ एडी’ का गिटारिस्ट निराकर याक्थुम्बाकी पत्नी हुन्।

विश्वमञ्चमा नेपालको प्रतिनिधित्व
यो उपाधिसँगै डलीले आगामी अक्टोबर महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्ने निश्चित भएको छ। प्रतियोगिताकी निर्देशक मनीषा डंगोल श्रेष्ठका अनुसार, डलीको यो संघर्ष, साहस र सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो र सकारात्मक सन्देश प्रवाह गर्नेछ। लन्डन फेसन हाउसले सन् २०१८ देखि नेपालमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु