प्रश्नहरूको घेरामा प्रगतिशीलता ! को प्रतिशील, को अप्रगतिशील ?

म्यूजिक खबर
प्रकाशित: १ कार्तिक २०७५, बिहीबार

डा.नवराज लम्साल

हप्तामा दुइटा एल्बम विमोचनमा उपस्थित भएँ । एउटा गीतकार पुरुषोत्तम सानुको ‘संघर्ष सगरमाथाको’ र अर्को गायक तथा सङ्गीतकार ज्योतिप्रकाशको ‘जून र ज्योति’को । सानुको गीतमा सङ्गीत राजु सिंहको र स्वर राजेशपायल राईको छ र ज्योतिप्रकाशको एल्बममा चन्द्र भट्टचनको एकल रचना । यसमा पाँच गीत रहेका छन् ।

दुवै कार्यक्रम पर्यटन बोर्डको हलमा भएको थियो । सानुको एक मात्र गीतको एल्बम हो भने त्यही समारोहमा १५ औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका जाङ्बु शेर्पाको सगरमाथा आरोहणको एक डकुमेन्ट्री पनि देखाइएको थियो । त्यही संघर्षपूर्ण सगरमाथा आरोहणका दृश्यहरू गीतको भेडियोमा पनि देख्न पाइन्छ । प्रसिद्ध चित्रकार ज्योतिप्रकाश गायक तथा सङ्गीतकार भएर आएका छन् र उनका पनि दुई गीतमा भिडियो बनेका छन् ।

सानुको गीत विमोचनमा प्रसिद्ध साहित्यकार÷संस्कृतिकर्मी मोदनाथ प्रश्रित उपस्थित थिए भने ज्योतिप्रकाशको जून र ज्योति विमोचनका लागि प्रसिद्ध गायक÷सङ्गीतकार प्रेमध्वज प्रधान । प्रधान र प्रश्रित नेपाली साहित्य, संस्कृति र सङ्गीतका फरक ध्रुव हुन् । माक्र्सवादी चिन्तनको आँखाले कला हेर्दै र त्यही कलाले माक्र्सवादी चिन्तनको प्रवद्र्धन गर्नुपर्छ भन्ने प्रश्रितको खास सोच छ भने प्रधान राजनीतिक कित्ताको मतलब नगरी नेपाली सङ्गीत धारमा लागेर जीवनको ८२ औँ वसन्तमा हिँडिरहनुभएको व्यक्ति हुन् ।

आफूलाई प्रगतिशील भन्नेहरूको एउटा कित्ता र प्रगतिशीलहरूले अतिरिक्त ठानेको अर्को कित्ता । नेपाली सङ्गीतको यो दुई कित्ता छ ।ँ रामेश, रायन, श्याम तमोट, रामकृष्ण दुवाल, जीवन शर्मा, मञ्जुल, माइला लामा, मणि थापाआदिले राजनैतिक मोर्चामा समेत गाउँदै आएका गीतहरू र त्यही धारमा दलीय आग्रहसहित गीतहरूको निरन्तरता दिँदै आएका अन्य ठूलो सङ्ख्याका कलाकारहरू पनि छन् । उनीहरू दलीय कार्यक्रमहरूमा पनि जान्छन्, दलीय आग्रहका गीत पनि गाउँछन् र जनताको दुःखसुख गाएको, श्रमको गीत गाएको, श्रमिकको गीत गाएको र मुक्ति र जागरणको गीत गाएको भन्छन् । यी गीतका विषय÷कथ्यका बारेमा चर्चाका धेरै ठाउँ छन् । शिल्प र अनुभूतिका धेरै कुरा छन् । अर्को कित्ता भनिएका गोपाल योञ्जन, नारायण गोपाल, भक्तराज आचार्य, नातिकाजी, शिवङ्करआदिआदि पनि छन् र तिनको योगदानको अर्को हिमाल छ ।

नेपाली गीतमा कहिले ‘राष्ट्रिय गीत’ र कहिले ‘स्वदेशगान’ भनेर चिनिने देशभक्तिका गीत र प्रगतिशील भनिने कित्ताले भन्ने गरेको जागरण गीत । विभाजनको सबैभन्दा ठूलो अलमल यहीँ छ । एकातर्फ गाउँगाउँबाट उठ, सिमली छायामा, गरीबको चमेली, झरनाको चिसो पानीमा, अरुण तरेर नाना तम्मर तरेर, रक्तक्रान्तिको ज्वालामुखीमाजस्ता गीत वा राल्फा, सामना, वेदना, रक्तिम परिवारआदि संस्था÷समूह मार्फत रेकर्ड भएका र गाइएका गीतहरू र अर्को तर्फ नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, पश्चिम कोही पूर्व घर, देशले रगत मागे, बनेको छ पहराले, भनिदेऊ नेपाली, यो मेरो टोपी, नेपालमा जन्मँदै नेपाली हुने हो, पहाडमा जाडो बढे, देशको माटो हातमा राखी, देशको लागि नबग्ने रगत होइन पानी हो, गाउँछ गीत नेपाली, हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला, जहाँ छन् बुद्धका आँखा, सेतामगुराली, विकासको सन्देश बोकी, जाग लम्क चम्क हे नौजवान हो आदि आदि ।

माथि उल्लेख गरिएका दुई कित्तामध्ये पहिलो कित्ताले आफैँलाई प्रगतिशील भनेकाले मैले केही भन्ने परेन । मलाई लाग्छ सिर्जनाको मूल्यमा प्रत्येक कवि÷कलाकार प्रगतिशील नै हुन्छ । कसैले राजनैतिक आग्रह र व्यक्तिपूजाको स्वार्थमा आफूलाई लिलाम गरेको दिन ऊ स्रष्टा बाँकी रहन्न, प्रचारक हुन्छ । उसले सिर्जना होइन पर्चा लेख्छ । त्यस्ता केही अपवादलाई छोड्दा सबै स्रष्टा प्रगतिशील हुन् र हुन्छन् । एउटा प्रश्न मनमा छ – नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, पश्चिम कोही पूर्व घर, देशले रगत मागे, बनेको छ पहराले, भनिदेऊ नेपाली, यो मेरो टोपी, नेपालमा जन्मँदै नेपाली हुने हो, पहाडमा जाडो बढे, देशको माटो हातमा राखी, देशको लागि नबग्ने रगत होइन पानी हो, गाउँछ गीत नेपाली, हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला, जहाँ छन् बुद्धका आँखा, सेतामगुराली, विकासको सन्देश बोकी, जाग लम्क चम्क हे नौजवान होआदिआदि गीतलाई किन प्रगतिशील भनिन्न ? किन जागरण गीत भनिन्न ? किन जनताको गीत भनिन्न ? के यी गीतमा देशभक्ति छैन ? जागरण छैन ? जागरणको चेतना छैन ? जनताको गीत, प्रगतिशील गीत र जागरणको गीत भन्नका लागि सम्बन्धित कलाकारले अमुक दलको सदस्यता लिनुपर्छ हो ? यो पाटोमा किन बहस हुन्न ? ढिलो भइसकेको छ ।ँ गीतसँग कला चाहिने कि नचाहिने ? सीधा, सपाट भन्नु र नारा लगाउनुमा गीतको सौन्दर्य रहन्छ रहन्न ? कि गीत हुन गीतिकला चाहिन्न ? संवेदना, गीति संरचना, शिल्प, मिठास, कल्पनाशीलता र श्रुतिमधुरता चाहिने कि नचाहिने ? माटो र मुटुको संवेदना, जनताप्रतिको दायित्व र देशप्रेम चाहिने कि नचाहिने ? यदि चाहिने हो भने यी सौन्दर्य अनुभूत गर्ने सबै कलाकार किन जागरणका कलाकार हुँदैनन् ? किन प्रगतिशील हुँदैनन् ? किन फरक छ कित्ता ?

कलाकारहरूलाई फरक कित्तामा बाँड्नुअघि सोच्नुपर्छ – उनीहरूको राजनैतिक युद्धसँगको सहकार्य र राजनैतिक चेतना एउटा कुरा हो र कलामूल्यमा त्यसको अभिव्यक्ति अर्को कुरा हो । देश, माटो र मानवीय संवेदनालाई साक्षी राखेर गाइएका गीतहरूमाथिको मूल्यबोध र अवमूल्यनको सीमा के हो ? गोपाल योञ्जनले कहीँ कतै कुनै दलका गीत लेखेनन्, सङ्गीत गरेनन् र गाएनन् पनि तर उनका राष्ट्रिय भावका गीतहरूलाई नजरअन्दाज गरेर उनलाई अप्रगतिशील कित्तामा राख्नु कुन नैतिक र कला मूल्य हो ? उनका गीतहरूले दिने झट्का र देशभक्तिको उदात्तसोच प्रगतिशील भनिने गीतहरूभन्दा कुन कारणले कम छ ? छैन र छँदैछैन । सोच्ने कि नसोच्ने ? युद्धमा नजानु तिनको अपराध हो ?

नेपाली गीतका पण्डितहरू हो, अब तिम्रा इतिहास लेखन र प्रशस्तिका शब्दहरूमाथि नै प्रश्न गर्ने बेला आयो कि आएन ? राजनैतिक इतिहास फेरेझैँ तिमीले लेखेका इतिहास पनि फेरिन्छ एकदिन । नयाँ पुस्ता तयार छ त्यसका लागि ।ँ कलाकार स्वयंले पनि सोच्नुपर्छ अब । आफूले कस्तो गीत गाएको छु र कस्तो गाइनुपर्छ भन्ने चेतना कलाकारमा हुनु जरुरी छ । अत्यन्त जरुरी छ । कलाकारहरू हो – कसैको परिभाषमा दोस्रो दर्जा भएर कति दिन अप्रगतिशील भएर बाँच्छौ ? सोच । दवाव देऊ इतिहास सच्याउन ।

यहीँनेर भुल्न नहुने कुरा के हो भने कति कलाकारले रानैतिक आन्दोलनमा आफूलाई उभ्याए । आन्दोलनमा सरिक भए । आन्दोलनकै गीत गाए । पार्टीका सदस्य भए । पार्टीकै बिल्लामा प्राज्ञ भए । पहुँच हुनुहरू सभासद र मन्त्री भए । राजनैतिक नियुक्ति खाए, खुवाए । यसरी राजनीतिमा संलग्न हुनेहरू व्यक्ति त कलाकार मात्र होइनन्, धेरै छन् र हुनेछन् । त्यो राजनैतिक सक्रियताको लागि सलाम छ तर त्यो राजनैतिक सक्रियताको हिस्सा जोडेर गीतमाथि उहाँहरूले ब्याज खोज्नु कति जायज ? र अरू केही होइनन्, हामी हौँ, हामी मात्र हौँ भन्नुको अहङ्कार कलाकारलाई सुहाउँछ ?

गीति शैलीका प्रचार त हरेक चुनावमा हरेक दलले पनि बनाउँछन् र धेरैले गाउँछन् तर ती सबै प्रचार सामग्रीले गीतको दर्जा पाउने कि नपाउने ? संविधान सभाका दुई चुनाव र संविधान जारी भएपछि भएको तीन तहको चुनावमा गीतिप्रचार नबनाउने उमेदवार कमै थिए तर के ती सबै गीत हुन् त ? गीतकै कोटिमा पर्छन् ? लयप्रधान हुँदैमा र सरगममा बग्दैमा सबै हरफ गीत हुँदैनन् । पार्टीको घोषणा बोक्ने भरियाशब्दहरूको खात कसरी गीत हुन्छ ? पार्टीको नारा र उमेदवारको प्रचार कसरी गीत हुन्छ ? एनजिओको आग्रह र दलको प्रचारभन्दा गीतमाथि छ र हुनुपर्छ । यो सत्य बिर्सेको दिन गीतकार पनि गीतकार रहन्न । इतिहासकारहरू हो, सोच ।

नेपालको सशस्त्र आन्दोलनमा युद्धको लप्का टेकेर युद्धकै गीत गाए कतिले । विद्रोहलाई सघाए र आफू मर्न÷मार्न तयार भए । त्यही युद्धकालमा जनगणतन्त्र रेडियो चलाए र ती गीति रचना त्यहीँबाट प्रचार गरे÷गराए । तिनका उपल्ला नेता थिए पुष्पकमल दाहाल प्रचण्ड । उनी सार्वजनिक भएपछि उनले एक समारोहमा भने – मलाई अभिनय करिष्मा मानन्धरको मन पर्छ र गीत नारायण गोपालको । उनीसँगै युद्धमा होमिएका कलाकारहरूले सोच्नु प¥यो – उनैको आग्रहमा उनीसँगै युद्धमा हेलिएका कलाकारको गीतले भन्दा नारायण गोपालको गीतले प्रचण्डको छाती छुँदोरहेछ । उनीहरूले के बुझ्छन्, थाहा छैन तर मैले बुझ्ने कुरा हो – प्रचण्डले आफूसँग रहेका धेरै कलाकारलाई युद्ध सहयोगी बनाएका रहेछन्, कलाकार सोचेका रहेनछन् । युद्धको सहयोगी बनाएका रहेछन्, माध्यम बनाएका रहेछन् । गीत त अर्कै रहेछ वा गीत हुन र मन छुन अर्कै गीति तत्व चाहिने रहेछ । उनलाई राती सुन्दा आनन्द दिने गीतिरचना अर्कैरहेछ ।

गीतितत्व र यसको महत्ताका विषयमा धेरै चर्चा भएका छन् र गर्दै पनि रहुँला तर गीति दुनियाँमा अमुक दलको सदस्यता लिएकाहरू प्रगतिशील र अरू अप्रतिशील हुनसक्दैन । हुनु हुँदैन । कुनै पनि कुराको मापन कुनै पनि दलको आँखा र सदस्यताले होइन, सिर्जनाले गरौँ र स्रष्टालाई कित्तामा नबाडौँ । भनिने गरिएको कित्तामा बाँडिएकाहरूले पनि धेरै सुन्दर र देशभक्तिपूर्ण गीतहरू गाएका छन् । ती र त्यस्ता कलाकारलाई पनि दलीय आँखाले हेरेर कलामूल्यलाई दलको घेरामै नबाधौँ । यो पनि भूल हुनेछ । तिनको उपल्लो सिर्जनाको खोी गरौँ र सप्रेम सम्मान गरौँ ।

अन्त्यमा भनूँ – गीतलाई गीतको कोटिमा राखौँ र अब गीतको पुरानो परिभाषा फेरेर सचेत बनौँ । कलाको नयाँ इतिहास बनाउने यो नयाँ चरणमा सामुहिकताबोध गरौँ । पार्टीको प्रचार होइन, गीतसङ्गीतको मूल्य बढाऔँ । नेपाली कला÷साहित्य÷संस्कृतिको विविधता देशकै विविधताजस्तै छ । विषय, शिल्प र शैलीको विविधता र मधुरतालाई नयाँ कोणबाट परिभाषा गरौँ र नयाँ युगलाई नयाँ सोच र शैलीले सम्मान गरौँ, स्वागत गरौँ ।

२०७५ असोज ४

mrsukhadukha@gmail.com

 

साभारः सातौं म्यूजिक खबर म्यूजिक अवार्ड स्मारिका

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु