• बोध श्रीले ल्याइन् डीआर सुजन, अन्जु र आयुषाको स्वरमा ‘टोपी उनैको’ !

    म्यूजिक खबर
    प्रकाशित: ३ फाल्गुन २०८०, बिहीबार

    काठमाडौं । नयाँ गीत ‘टोपी उनैको’ भिडियोसहित सार्वजनिक भएको छ । गीतमा गायक डिआर सुजन, भर्खरै सांगीतिक क्षेत्रमा चर्चामा आएकी गायिका अञ्जु विश्वकर्मा र बालगायिका आयुषा गौतमको स्वर रहेको छ । बोध नलेज इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा रहेको गीतमा विमला हुमागाई (बोध श्री) को शब्द रहेको छ भने गायक गायक डिआर सुजनकै संगीत रहेको छ । राजधानीमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा फागुन १ गते आयोजित कार्यक्रममा विमोचन गरी युट्युबमार्फत सार्वाजनिक गरिएको हो ।

    गीति भिडियो विमोचन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष चन्द्र शर्माले गरेका हुन् । गीति भिडियो विमोचन गर्दै प्रमुख अतिथि शर्माले कलाकारहरुले अझै फरकपनका लय, शब्द र मौलिकता पस्कन सके सांगीतिक क्षेत्रमा सुनमा सुगन्ध थपिने बताए ।

    लामो समयपछि फेरि गीति भिडियो विमोचन गर्ने नीति फर्किएको भन्दै शर्माले लोक सञ्चारकर्मी नेपालको प्रशंसा गरे । लोक सञ्चारकर्मी नेपाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल एकै भएको र दोहोरी क्षेत्रमै दुवैको बराबर योगदान रहने उनले बताए । सो समारोहमा उक्त गीति भिडियोसँग जोडिएका कलाकार र अन्य अतिथिहरुको पनि सहभागिता रहेको थियो ।

    विमोचन समारोहमा सोही गीतका गायक तथा संगीतकार डीआर सुजनले पछिल्लो समयमा गीत संगीतमा देखिएको खडेरी मेट्ने जमर्कोसहित दोहोरी क्षेत्रमा आएका नयाँ पुस्तालाई समेत मध्यनजर गरेर आफूले गीतमा आवाज दिनुका साथै संगीत गरेको बताए ।

    त्यस्तै सोही गीतको भिडियोमा जोडिएका गीतकार तथा संगीतकार नरहरि प्रेमीले अहिलेको अवस्थालाई बुझेर ल्याइएको यस गीतले सिंगो नयाँ र पूराना पुस्तामा समेत जागरण बढ्ने र बालबालिकाले दोहोरी गाउँदा दोहोरी नसुन्ने पिढिले पनि दोहोरी गाउन सक्ने जिकिर गरे । साथै, उनले आफूले पहिले पनि गीतको यसैगरी समालोचना गर्दा आफूलाई चित्त नबुझेको गीतको विरोध नै गरेको प्रतिक्रिया दिए ।

    सोही गीतकी गीतकार बोध श्रीले आफ्नो मेहनत गीतमा खर्चेको भन्दै नयाँ पुस्ता र पुराना पुस्तासँगै हुन यो गीत बजारमा ल्याएको सुनाइन् । सो समारोहमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले उक्त गीतभित्र समावेश गरिएका शब्द र भिडियोलगाय सबै उत्कृष्ट भएको जनाउँदै गीतले सांगीतिक क्षेत्रमा छलाङ मार्नेमा आफू विश्वस्त रहेको भन्दै पूर्ण सफलतको शुभकामना व्यक्त गरे ।

    सार्वजनिक उक्त गीतको भिडियोमा गायक आफैँ डिआर सुजनले गरेका हुन् भने राजेश घिमिरेको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन रहेको छ । त्यसैगरी अभिनय तथा नृत्यमा नारायणी खत्री, बिदान मैनाली, युक्ती सुवेदी, हास्य कलाकार विनोद परियार (झुले), अर्जुन कुवँर (पित्री बुढो), अतिथि कलाकार नरहरि प्रेमी, कमल जिसी, पारस भट्टराई लगायत रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु