साहित्यकार डी.आर.को आख्यान ‘तिलस्मी’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । साहित्यकार डिआरको नयाँ कृति तिलस्मी फागुन १८ शनिबारबाट सार्वजनिक भयो । गीतकारको छवी बनाएका डीआरको यो आख्यान पहिलो कृति भए पनि यसभन्दा पहिला पनि नियात्रासंग्रह ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’समेत बजारमा ल्याएका छन् ।

प्रा.डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा समालोचक महेश पौडेल, डा. विष्णु राई, विन्दु शर्माले तिलस्मीलाई सार्वजनिक गरेका थिए ।

कार्यक्रममा समालोचक पौडेलले लेखकीय इमान्दारिता कठघरामा परेको बताए । बजारमा के बिक्छ भनेर खोज्दै हिड्ने मात्र होइन, सर्वहाराको कथा एलिटले कल्पना गरेर लेख्न थालेपछि साहित्यमा समस्या उत्पन्न भएको पौडेलले बताए । ‘हिजोआज बजारमा बिक्ने पे्रम र यौनको कथामा कुनै नयाँपन पाइँदैन, तर पाठकको रुचिको विषय रहन्छ । ‘डिआरको ‘तिलस्मी’ यी तथ्यभन्दा पृथक रहेको पौडेलको टिप्पणी थियो ।

लेखकको नाम नै रहस्यमय रहेकाले कृति झन् रहस्यले भरिएको डा. विष्णु राईको भनाइ थियो । पूर्वी समाजको कथावस्तु समेटिएकाले पुस्तक पढ्दा छुट्टै आनन्द आउने डा. राईले बताए ।

उपन्यासले जनचाहनालाई सम्बोधन गरेको निष्कर्ष समालोचक विन्दु शर्माको थियो । अभिभावकले नयाँ पुस्तालाई यो पुस्तक पढाउन सके सार्थक हुने शर्माले बताइन् । सामाजिक परिवेश नयाँ भएकाले पुस्तक पठनीय भएको तर्क शर्माको थियो ।

प्रमुख अतिथि डा. केसीले नेपाली समाजको बनोट र इतिहासबारे प्रष्ट पारेका थिए । उनले भने, साहित्य समाजको दर्पण हो, यसलाई इमान्दारिताका साथ लेखकले प्रस्तुत गर्नुपर्छ । यो पुस्तकमा लेखक डिआर इमान्दार रुपमा प्रस्तुत हुन खोजेको मैले पाएँ ।’

पुस्तकका लागि आफूले धेरै मेहनत गरेको लेखक डिआरले कार्यक्रममा बताए । समाजमा सकरात्मक सन्देश र नयाँ पुस्तालाई प्रेरणा मिल्ने लेखक डिआरको भनाइ थियो ।

पूर्वी नेपाली समाजलाई पुस्तकमा उतार्ने प्रयास गरिएको छ, त्यसको मूल्यांकन पाठकले गर्ने लेखक डिआरको भनाइ थियो । तिलस्मीमा राजनैतिक र सामाजिक प्रयासबाट मेटाउन नसकिएको धनी गरीबबीचको पर्खाल एउटा बालकको सकारात्मक हठले तोड्न सफल हुने उनले बताए ।

तिलस्मीलाई सिखा बुक्सले बजारमा ल्याएको हो । यस मूल्य ३९५। रुपैयाँ रहेको छ । उपन्यास ३३४ पेजको रहेको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु