तिब्बती शरणार्थीको आख्यान मालिका केशरीको ‘दुङाल’

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०७८, आईतवार
dungal-bimochan-Malika keshari

काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को राजधानीमा सार्वजनिक भएको छ । इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा.रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले उक्त संग्रह संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाउन मालिका केशरीको उपन्यास सबल बनेको बताए । उनले भने– ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ ।’

यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनले औंल्याए ।

पूर्व स्वास्थ्य सचिव डा.शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् । शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ, उनले भनिन् ।

इतिहासकार डा.ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए । साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ, डा.ढुंगेलले बताए ।

उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै आधुनिकता र परम्पराको समन्वयको खााचो औंल्याएको बताए । कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसागको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताए । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ, केशरीले कार्यक्रममा भने ।

मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन् । दुङाललाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो । मालिका केशरीको यो तेस्रो उपन्यास हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु