दुर्गाका डेढ दशक : रमाइलोमै जीवन बितेको छ

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०६८, सोमबार

सुमन बैरागी

गायिका दुर्गा गुरुङ लोकदोहोरीको क्षेत्रमा चर्चित नाम हो । गाउँको भाकालाई टपक्क टिपी गीतमा ढाल्न सक्ने गायिका दुर्गाले लोकदोहोरी गायनमा सयौं गीतहरु गाइसकेकी छिन् । ०५१ सालबाट लोकदोहोरी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै गायनमा प्रवेश गरेकी दुर्गाले धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै अघि बढेकी हुन् । मिठो स्वरकी धनी गायिका दुर्गा लोकदोहोरी क्षेत्रमा शब्द चयन, सुर र तालमा ध्यान केन्द्रीत गर्ने गायिका हुन् भन्दा फरक पर्दैन ।

durga_1
लोकदोहोरीभित्र मौलिकपन हुनुपर्छ नत्र लोकदोहोरीको अर्थ रहँदैन, गायिका दुर्गा भन्ने गर्छिन् – ‘प्रत्यक्ष रुपमा प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन, यो भनेको तत्कालै शब्द चयन गरेर उत्तर दिनुपर्ने अवस्था हुन्छ ।’ वास्तवमै लोकदोहोरी प्रतिस्पर्धा गर्ने कुनै पनि गायक गायिका भनेको आँसु कवि जस्तै हुन्छन् । कसैले गीतबाट सोधेको प्रश्नको जवाफ गीतबाट नै दिनु भनेको चानचुने कुरा होइन । त्यसमा पनि शब्द र लयको तारतम्य मिल्नु जरुरी हुन्छ । यी कुरामा गायिका दुर्गा गुरुङ निकै ध्यान दिने गर्छिन् ।

स्याङ्जा डाँडा घुम्तीमा पहिरो छ माया गहिरो छ
२०५१ सालमा रेडियो नेपालको लोक गीत प्रतियोगितामा भाग लिएको उक्त गीत दर्जनौं कलाकारहरुको बीचमा उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो । नेपालभरका कलाकारहरु लोकगीत प्रतियोगितामा भाग लिन रेडियो नेपाल आउने गर्थे, त्यसैबखत गायिका दुर्गाले गाएको स्याङ्जा डाँडाले दशौं स्थान ओगट्न सफल भएपछि रेडियो नेपालमा कार्यरत रहेका प्रेमराजा महत, पाण्डव सुनुवार लगायतका निर्णायक मण्डलले स्वर परीक्षामा भाग लिन लगाए दुर्गालाई । दुर्गाले २०५३ सालको स्वर परीक्षामा भाग लिएर पास भएपछि रेडियोमै धेरै गीतहरु रेकर्ड गराइन् । रेडियोमा तत्कालिन समयमा प्रत्यक्ष बाजागाजासहित गीत गाउनुपर्ने अवस्था थियो । पछिल्लो समयजस्तो डिजिटल प्रविधि भित्रिसकेको थिएन । त्यसैले एकदमै संयमित भएर गीत रेकर्ड नगरे पुनः सुरुदेखि नै रेकर्ड गर्नुपर्ने अवस्था हुन्थ्यो । तैपनि गायिका दुर्गाले भने एकपटकमै कतै नबिगारी गीत रेकर्ड गराउन सफल हुन्थिन् जसको तारिफ रेडियोमा कार्यरत रहेका व्यक्तिदेखि अग्रज गायक गायिकाले गर्ने गर्थे ।

२०५१ सालको प्रजातन्त्र दिवसको अवसर पारेर बुटवल नगरपालिकाको आयोजनामा गरेको लोकदोहोरी प्रतियोगितामा स्याङ्जाबाट भाग लिन पुगेकी दुर्गाले आफूलाई प्रतियोगिताबाट उपलब्धी हासिल होलाजस्तो सोचेकै थिइनन् रे । त्यतिबेला दोहोरी गाउँदा ढाकाको चोली, साडी र फुली बुलाँकीमा सजिँदा अप्ठ्यारो महसुस भएको याद अझै उनीसँग छ । गीत गाउँदा लाज र डरले ओठ काम्दा बुलाँकी हल्लिएको दिन उनीसँग ताजै छ । त्यतिबेला गायक तीर्थ गन्धर्वले उनको ओठ कामेको देखेर किन डराएकी भन्दै सोधेको प्रश्नले उनलाई अझै डर बढेको थियो । तैपनि उनले दोहोरी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै प्रथम स्थान हासिल गरेपछि उनको सांगीतिक भविश्यको गोरेटो सुरु भएको थियो ।

laxmi neupane-durga gurung
गायिका दुर्गाले गाएको पहिलो गीत भने गुरुङ भाषाको रामरानी ङ्याल्स्यो हो भने लोकदोहोरीमा पर्ख सँगै जाउँ थियो । ०५२ सालमा गाएको यो गीतले उनको सांगीतिक यात्रलाई यतिको उचाइ देला भन्ने उनले सोचेकी पनि थिइनन् । रहरै रहरमा यो क्षेत्र छिरेकी गायिका दुर्गाले एकपछि अर्को पुरस्कार चुम्दै गएपछि जिम्मेवारी थपिँदै गयो जसका कारण उनले लोकदोहोरीको क्षेत्र छोड्नै सकिनन् । त्यसपछि उनका देउराली भन्ज्याङ, भयो भेट कोहलपुरैमा, धान झुल्यो खेतैमा, लेउ माया जाले रुमाल, स्याङ्जा डाँडावन, डम्फू मादल लगायत दर्जनौं गीत एकपछि अर्को गर्दै चर्चामा रहे । अहिलेसम्म उनले गाएको गीत करिब दुई हजारभन्दा माथि कटिसकेका छन् । उनको समयका गायिका विमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, शिला आले, शर्मिला गुरुङ लगायतका गायिकाहरु अहिले गाउन छाडिसकेका छन् तर उनको गायन यात्रा भने अझै पनि उस्तै चलिरहेको छ । गायनलाई आफू बाँचुन्जेल नछाड्ने प्रण गरेकी गायिका दुर्गालाई पहिला पहिला भने निकै असहज बनेको थियो यो क्षेत्र । तर दुःखका धेरै आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुग्दा उनको लोकदोहोरीको स्थान भने उच्च स्थानमा पुगेको छ । उनको गायकीलाई पछ्याउनेहरु धेरै भइसकेका छन् लोकदोहोरीमा । उनले गाएको गीतको मौलिकपन भित्र वास्तवमै लोकको कुरा हुन्थे, वेदन, पीरमर्कालाई गीतमार्फत् उतारिएको हुन्थ्यो । एउटा गाउँको परिवेश होस् वा मायाप्रेमकै कुरालाई लोकपनमा ढाल्दै उनले धेरै गीतमा स्वर दिइन् । आफैंले लेख्ने, गाउन, लय भर्ने काम पनि धेरै गरिसकेकी छिन् दुर्गाले ।

durga gurung-haridevi
गीत नै गाएर बाँचिन्छ भन्नेमा उनी ढुक्क छिन् । गायनमा रमाउनुको मज्जाभित्र पारिवारिक जीवनलाई पनि सहज तरिकाबाट जीउन सजिलो भएको उनी बताउँछिन् । जुन काम गरिन्छ त्यो काममा निरन्तरता दिँदा सफलता पनि हातमा पर्छ भन्नेमा विश्वास गर्ने गायिका दुर्गाको जीवनको आधारभूत आवश्यकता पनि गायनबाटै पूरा हुँदै आएको छ । गायनकै क्रममा उनले जापान, युके, हङकङ, कोरिया, यूरोप जस्ता विकसित राष्ट्रदेखि खाडी मुलुकका नेपालीहरु माझ पनि पुगिसकेकी छन् । आफ्नो स्वरको माध्यमबाट विदेशमा रहेका नेपालीहरुको माझमा मनोरञ्जन प्रदान गर्दै आएकी गायिका दुर्गाले यूएईमा रहेको दोहोरी संचालन गरिन् । त्यसपछि नेपालमा पनि उनले दोहोरीसाँझहरुमा गाउने काम गरिरहिन् । जे छ मज्जा लोकदोहोरी मै छ गायिका दुर्गा भन्छिन् – ‘रमाइलो पनि छ कमाइ पनि छ । अब योभन्दा अर्को पेशा गर्ने मन छैन ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु